४ वैशाख २०८१ मंगलबार
खेल

सिटीको अपराजित यात्रामा पूर्णविराम

लिभरपुल– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्र्डिओलाले लिभरपुलसँग आइतबार इङ्लिस प्रिमियर लिगमा भोगेको ४–३ को नाटकीय हारलाई स्वाभाविक लयमाथिको चुनौतीका रूपमा लिन खेलाडीलाई आग्रह गरेका छन्।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा नतिजा सुम्पिएसँगै जारी सिजन प्रिमियर लिगमा सिटीले कायम गरेको २२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघि १९ चरणका खेलसम्म लगातार १८ खेल जित्दै सिटीले इङ्लिस फुटबल इतिहासमा लगातार सर्वाधिक खेल जित्ने दुर्लभ कीर्तिमान रचेको थियो । गत अप्रिल ५ मा चेल्सीलाई नतिजा सुम्पिएपछि सिटीले प्रिमियर लिगमा गुमाएको यो पहिलो खेल हो । साथै सिटीले घरेलु प्रतियोगितामा अप्रिल २३ पछि भोगेको यो पहिलो हार हो । सिटीले एफए कपको सेमिफाइलनमा आर्सनललाई नतिजा सुम्पिएको थियो।

यस जितसँगै लिभरपुलले सिटीको घरेलु मैदान इत्तिहाद रंगशालामा भोगेको ५–० को फराकिलो हारको बदलासमेत लिएको छ।

खेलको नवौ मिनेटमा मिडफिल्डर एलेक्स अक्सलाडे चेम्बरलिनले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । चेम्बरलिनले रोबर्ट फिर्मिनोको पासलाई पोस्टको दिशा दिएका थिए।

मध्यान्तर हुन ५ मिनेट बाकी छँदा लोरी सेनले केइले वाल्करको पासमा गरेको गोलमा सिटी खेलमा फर्किएको थियो।

५९औं फिर्मिनोले गरेको गोलमा लिभपुलले पुनः अग्रता लिएको थियो । फिर्मिनोले चेम्बरलिनको पासलाई गोलमा परिणत गरेका थिए । त्यसको दुई मिनेटपछि नै मोहम्मद सालाहको पासमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता बढाएका थिए।

६८औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुलको अग्रता ४–१ मा पु¥याएका थिए ।

अन्तिम ६ मिनेटमा बर्नाडो सिल्भा र इके ग्युनडोगानले दुई गोल गर्दा सिटीले खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

८४औं मिनेटमा सिल्भाले गोल गर्दै अन्तर कम गरेका थिए । ग्युनडोगानको प्रहार विपक्षी गोलकिपरले रोक्दा रिबाउन्डमा प्राप्त बललाई सिल्भाले जाली चुमाएका थिए।

इन्जुरी समयको पहिलो मिनेटमा सर्जियो अग्विरोको पासमा गोल गर्दै ग्युनडोगानले सिटीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल भएन।

ग्वार्डिओलाले प्रिमियर लिगको यात्रा अझै लामो भएकाले अपराजित गात्रालाई जोगाउन कठिन हुने बताए ।
‘पछिल्लो एक महिनायताका सबै पत्रकार सम्मेलनमा तपाईंहरूले सिटीलाई जारी सिजन प्रिमियर लिगको विजेता घोषणा गर्दै आउनुभएको छ,’ ग्वार्डिओलाले भने, ‘मैले सधंै यो कुरा नकार्दै आएको थिएँ । उपाधि छिनोफानो हुन अझै बाँकी छ । कहिलेकाहीं एक महिनाअघिबाट तिमी विजेता भयौ भनेर घोषणा गर्नु घातक साबित हुन सक्छ ।’
‘प्रिमियर लिगका हरेक टोली उत्कृष्ट छन् र उनीहरुविरुद्धको सबै खेल कठिन हुने गदर्छ,’ ग्वार्डिओलाले थपे, ‘अझ शीर्ष टोलीविरुद्धको खेल झनै कठिन हुने गर्छ । त्यसैले अपराजित यात्रालाई निरन्तरता दिनु सधैं चुनौतीपूर्ण हुन्छ । फुटबलमा केही भन्न सकिन्न । तपाईंले सिजनको अन्त्यसम्म लडाइँ जारी राख्न आवश्यक छ ।’
ग्वार्डिओलाले टोलीले दोस्रो हाफमा लय गुमाएको बताए।

‘फिर्मिन्होले गोल गर्नु अघिसम्म हामी दोस्रो हाफमा पनि राम्रो खेलिरहेका थियांै  । तर त्यसपछि टोलीले पूरै दबाबका साथ खेल्यो,’ ग्वार्डिओलाले भने।

यस हारपछि पनि सिटी शीर्ष स्थानमा यथावत् छ । २३ खेलको समाप्तिमा सिटीले ६२ अंक जोडेको छ । जुन एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १२ अंक बढी हो । त्यस्तै ४७ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको युनाइटेडसँग अंक बराबर भए पनि लिभरपुल गोलअन्तरमा पछि छ।

यस जितसँगै लिभरपुलले मिडफिल्डर फिलिप कौैटिन्होबिना पनि उत्कृष्ट प्रदर्शन गर्न सक्षम भएको प्रमाणित गरेको छ । कौटिन्हो गत साता बार्सिलोनामा आबद्ध भएका थिए।

‘कौटिन्होले क्लब छोडेको साता नबित्दै सिटीजस्तो उत्कृष्ट टोलीविरुद्ध ४ गोल गर्नु सामान्य होइन,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘हामीले आफूलाई प्रमाणित गर्नु थियो र हामी त्यसमा सफल भयौं ।’

‘यो खेल ऐतिहासिक बन्न सक्छ, किनभने यो हार सिटीले जारी सिजन भोग्ने एक मात्र हार बन्न सक्छ,’ क्लोपले भने, ‘सिटी उत्कृष्ट टोली हो तर हामी आज सबै पक्षमा उनीहरूभन्दा अब्बल देखियौं । हामीले सुरुआतबाटै आक्रामक खेल खेल्यौं, किनभने सिटीविरुद्ध यो रणनीति अपनाउनुको विकल्प थिएन।’

‘कौटिन्होले क्लब छोडेको साता नबित्दै सिटीजस्तो उत्कृष्ट टोलीविरुद्ध ४ गोल गर्नु सामान्य होइन । हामीले आफूलाई प्रमाणित गर्नु थियो र हामी त्यसमा सफल भयौं ।’

प्रकाशित: २ माघ २०७४ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App