coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ठूला आयोजनाको काम सुस्त

तस्बिर - मोहमद हविव

बुटवल - बुटवल राष्ट्रिय गौरवका आयोजनासहित यहाँ सञ्चालित आधा दर्जन विकास आयोजनाको काम सुस्त छ । कतिपय आयोजनाको काम सम्पन्न हुने समयसीमा सकिएको र कतिपय आयोजनाको समयसीमा गुज्रनै लाग्दा पनि आयोजनाको काम सक्ने चटारो देखिँदैन । ठेकेदार कम्पनीको लापरबाही, निर्माण सामग्रीको अभाव र सरकारी ढिलासुस्तीले विकास आयोजनाले गति नलिएका हुन् । आयोजना अधिकारी र ठेकेदार कम्पनी आयोजना समयमा नसकिनुमा एकले अर्कोलाई दोष लगाएर पन्छिदैछन् ।

विमानस्थलको काम बल्ल ३३ प्रतिशत
सन् २०१८ को जुनमा सञ्चालनमा ल्याउने भनिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अहिलेसम्म ३३ प्रतिशतमात्रै भएको छ  । २०७१ माघ १ गते शिलान्यास गरिएको विमानस्थल २०१७ को डिसेम्बरमा सञ्चालनमा ल्याउने तयारीका साथ सम्झौता भएको थियो । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले सुस्त काम गर्दा सम्झौता गर्दाको समयसीमा सकिएको छ तर विमानस्थल कहिले पूरा हुन्छ भन्ने निश्चित हुन सकेको छैन । भूकम्प, नाकाबन्दी र निमार्णजन्य सामग्री अभाव देखाएर ढिलाइ गरेको चिनियाँ ठेकेदार कम्पनीले गत वर्ष म्याद थप गरी सन् २०१८ को जुनमा निर्माण सम्पन्न गर्न सहमति गर्योे । तर, दोस्रोपटक थप गरेको समय सीमाभित्र समेत विमानस्थलको काम सक्ने सम्भावना टर्दै गएको देखिन्छ ।

नेपाली अधिकारीका अनुसार तोकिएको समयमा आयोजना सम्पन्न गर्न चिनियाँ कम्पनीले मासिक ६ प्रतिशतका दरले कामको प्रगति गर्नुपर्ने हुन्छ । तर उसले गर्ने कामको भौतिक प्रगतिको गति जम्मा ०.५ प्रतिशत छ । सम्झौता तोड्ने चेतावनीपछि अहिले एक सय चिनियाँ दक्ष कामदार विमानस्थल विस्तारमा खटिएका छन् ।

‘पहिलेभन्दा कामले अलि गति लिएको छ, अझ बढाउनुपर्छ,’ भैरहवा विमानस्थल विस्तार आयोजनाका प्रमुख ओम शर्माले भने ।अहिलेसम्म घाघरा खोला फर्काउने काम पूरा भएपनि धावनमार्ग ग्राभेलिङ, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासकीय भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन लगायत संरचना निर्माण निकै सुस्त गतिमा चलेको छ ।

विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माका अनुसार समयमै काम सक्न दैनिक दुई सयभन्दा बढी कामदार, सोही अनुरुपको दक्ष प्राविधिक जनशक्ति र उपकरणको प्रयोग हुनुपर्छ ।  
चिनियाँ कम्पनी र उसले सब–ठेकेदारको रुपमा नियुक्त गरेर निर्माणको सम्पूर्ण जिम्मा दिइएको नेपाली ठेकेदार नर्थवेस्ट इन्फ्रा नेपालबीचको लेनदेन विवादले  चैतदेखि रोकिएको काम असोजमा खुलेको थियो । ठेकेदार कम्पनीले यहाँको चिनियाँ व्यवस्थापन फेरेर नयाँ व्यवस्थापनलाई सक्रिय बनाएको छ ।
नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन प्रालिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा विमानस्थल निर्माणको ठेक्का पाएको हो ।

बेलहिया–बुटवल सडकमा ठेकेदारको लापरबाही
आर्थिक वर्ष ०६८÷६९ मा सुरु भएको बेलहिया–बुटवल २७ किलोमिटर सडक विस्तार कार्य अघि बढाउन सुरुमा बिजुलीको तार र पोल हटाउन समस्या भयो । रुख काट्न ढिलाइ भयो । निर्माण सामग्री समयमा उपलब्ध हुन सकेन । यी समस्या समाधान हुँदै जाँदा ठेकेदार कम्पनीको लापरबाही  भएकाले कामले तीव्र गति लिन नसकेको हो ।

व्यापारिक मार्ग आयोजनाले दिएको जानकारी अनुसार कुल २७ किलोमिटर सडकमध्ये अहिलेसम्म ११.४ किलोमिटरको काम पूरा भएको छ । त्यसमध्ये बुटवलतर्फ सात र भैरहवातर्फ ५.४ किलोमिटरको काम पूरा भएको हो । अहिलेसम्म सडक निर्माणका लागि तीन अर्ब ३७ करोड खर्च भइसकेको छ, अब बाँकी काम गर्न दुई अर्ब ३१ करोड रुपैयाँ लाग्ने आयोजना प्रमुख जिवेन्द्र मिश्रले जानकारी दिए  । अहिलेसम्म ६० प्रतिशत काम सकिएको र ४० प्रतिशत बाँकी रहेको उनले बताए ।

ठेकेदार कम्पनीले बेलैमा काम नसक्दा आयोजनाको सिद्धार्थनगरको डण्डा पुल क्षेत्र र अञ्चलपुर–बर्मेलीटोल क्षेत्रको सडक तीन वर्षदेखि लथालिंग छ ।  कालिका तामाङ जेभीले तीन वर्षअघि यो सडक विस्तारको जिम्मा लिएको थियो । बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीका अनुसार डण्डा पुलसमेत डण्डा क्षेत्रमा सात सय मिटर र बर्मेलीटोलदेखि अञ्चलपुरसम्म १४ सय मिटर गरी २१ सय मिटर सडक विस्तारको ठेक्का ४५ करोड ६४ लाख रुपैयाँमा कालिका तामाङ जेभी कम्पनीले पाएको थियो ।

काम गर्नुको साटो आलटाल गरेर झुलाइरहेको ठेकेदार कम्पनीले अहिले केही काम अघि बढाएको छ । मन्त्री एवं राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले तामाङ कन्स्ट्रक्सनसँग मिलेर लिएको यो ठेक्काको काम बेलैमा नसक्दा सिंगो आयोजनाको काम प्रभावित पारेको आयोजनाका अधिकारीको भनाइ छ ।

व्यापारिक मार्ग आयोजनाले ठेकेदार कम्पनीसँग सन् २०१४ जुन १६ मा दुई वर्षका लागि सम्झौता गरेको थियो । सम्झौता अनुसार एक वर्षअघि नै ठेकेदार कम्पनीले काम सक्नुपर्ने थियो । ठेकेदार कम्पनीले बेलैमा काम सक्नुको साटो विभिन्न बहाना बनाएर समय थप्दै आएकोे छ । ठेक्का सम्झौता अनुसार तोकेको समयसीमा सकिएको एक वर्षमा तीनपटक म्याद थप गर्न सफल भए पनि उसले अझै काम सम्पन्न गर्न सकेको छैन । ठेकेदार कम्पनीले भने बिजुली पोल लगायत संरचना हटाउन ढिलाइ भएकाले समस्या निम्तिएको बताएको छ । ‘कमजोरी हाम्रो मात्रै होइन्, बुद्धचोकको शालिक सार्न अवरोध भइरहेको छ, बिजुली पोल सार्न धेरै आलटाल भयो, अहिले काम अघि बढेको छ,’ ठेकेदार कम्पनीका इन्जिनियर रामु ज्ञवालीले भने ।

यो आवको असारसम्म अरु काम सकिए पनि बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन किलोमिटर क्षेत्रमा बनेका घरटहरा हटाउने काम अझै अघि नबढेकाले आयोजना पूरा गर्न समस्या भएको आयोजनाका इञ्जिनियर अधिकारीले बताए ।

बुटवल खानेपानी आयोजना अलपत्र
बुटवलको खानेपानी समस्या समाधानका लागि दुई वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ सात वर्षअघि सुरु भएको झुम्सा खानेपानी आयोजना कहिले सकिन्छ भन्ने टुंगो छैन् । २० करोड रुपैयाँ लागतमा अघि बढाइएको यो खानेपानी आयोजनाका लागि अहिलेसम्म १६ करोड रुपैयाँ खर्च भइसकेको छ । झुम्सा खानेपानी आयोजना बेलैमा सम्पन्न हुन नसकेपछि सुक्खायाममा बुटवलमा खानेपानीको संकट चुलिएको छ ।

गत वर्षको बर्खामा आयोजनाको मुहानमा रहेको इन्टेकमा क्षति भएपछि नयाँ  इन्टेक बनाउन टेन्डर भएको छ । बाढीले ५० लाखको इन्टेक र १५ लाख रुपैयाँको पाइप लाइन गरी ६५ लाख रुपैयाँको नोक्सान पुर्याएको थियो ।

झुम्सा खानेपानी आयोजनाका लागि अहिलेसम्म १६ करोड रुपैयाँ खर्च भइसकेको शाखा प्रमुख भट्टले बताए । संस्थानले खानेपानी आयोजनालाई दुई चरणमा अघि बढाएको थियो  ।पहिलो चरणमा रामफेदी पानी संकलन ट्यांकीबाट झुम्सा पुलसम्म १० इन्चको नौ किलोमिटर र दोस्रो चरण अन्तर्गत झुम्सा पुलदेखि मुहानको इन्टेकसम्म साढे तीन किलोमिटर २० इन्चको पाइप बिछ्याइएको छ ।

अब झुम्सा पुलदेखि मुहानको इन्टेकसम्म साढे तीन किलोमिटर थप १० इन्चको पाइप विस्तार गरिने छ । त्यस्तै रामफेदीको पानी संकलन ट्याङकीबाट झुम्सापुलसम्म २० इन्चको पाइप थप गर्न बाँकी छ । झुम्सा खानेपानी आयोजना बेलैमा नसकिएपछि बुटवल खानेपानी सुदृढीकरण आयोजनाको बृहत् आयोजनाभित्र यो आयोजनालाई समावेश गरेर अघि बढाइएको छ । यो आयोजनाको बजेट एक अर्ब रुपैयाँ छ । ‘विभिन्न कारणले आयोजना बेलैमा निर्माण गर्न सकिएन, अब फटाफट काम हुन सके तीन वर्षभित्र यो आयोजना पूरा गर्छौं,’ खानेपानी संस्थान बुटवल शाखाका प्रमुख मोहन भट्टले भने ।

बुटवलमा अहिले दैनिक तीन करोड लिटर खानेपानीको माग छ । यो माग बर्सेनि १० लाख लिटरका दरले बढिरहेको खानेपानी संस्थान बुटवल शाखाको भनाइ छ । झुम्सा खानेपानी आयोजना पूरा गरी दैनिक तीन करोड २० लाख लिटर पानी ल्याउने तयारी छ । अहिले तिनाउ र भूमिगत पानीका स्रोतबाट दैनिक दुई करोड लिटर माग धानेको छ ।

एडिबी आयोजनामा अझै अन्योल
दलीय अन्तरविरोधको व्यवस्थापन र समुदायको चासोलाई बेलैमा समाधान गर्न नसक्दा एसियाली विकास बैंकको सहयोगमा मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गत विभिन्न तीन आयोजनाले गति लिन सकेका छैनन् ।

सन् २०१० देखि सन् २०१५ सम्म पूरा गर्ने गरी सम्झौता भएको भएपनि अहिलेसम्म तीनवटै आयोजना पूरा भएका छैनन् । तत्कालीन बुटवल नगरपालिकाले अटोभिलेज सुदृढीकरण आयोजना, खानेपानी आयोजना र फोहरमैला प्रशोधन केन्द्र बनाउन ८७ करोड रुपैयाँको सम्झौता गरेको थियो । सम्झौता भएकामध्ये निरन्तरको विवादले २७ करोड रुपैयाँको अटोभिलेज आयोजनाबाट एडिबीले हात झिकेको छ ।

निजी सरकारी साझेदारी मोडलमा अघि बढाइएको यो आयोजना बेलैमा अघि नबढेकाले हात झिके पनि एडिबीले सरकारलाई यो आयोजना आफ्नै बजेटमा अघि बढाउन सुझाव दिएको छ । २२ करोड रुपैयाँको खानेपानी आयोजना अनेक अवरोध झेल्दै अघि बढेको छ । ३७ करोड रुपैयाँको फोहरमैला प्रशोधन केन्द्रलाई अघि बढाउन जनप्रतिनिधि आएपछि प्रभावकारी पहलकदमी लिइएको छ ।

बुटवल उपमहानगरपालिकाका एक अधिकृतका अनुसार राजनीतिक दलहरुबीचको दलीय झगडा समुदायको अवरोधको रुपमा देखा परेकाले समस्या भएको हो । ‘सबैले यी आयोजनालाई स्वामित्व ग्रहण गरी अघि बढ्नुको साटो कुनै दलको आयोजनाको रुपमा प्रचार गरेर बेलैमा काम हुन दिइएन,’ ती अधिकृतले भने ।

अटोभिलेज र फोहरमैला प्रशोधन केन्द्र सम्पन्न गर्न सकेको भए नेपालकै नमूना आयोजना हुने विश्वास उपमहानगरपालिकाका अधिकारीले लिएका थिए । तर अटोभिलेजबाट दातृ निकायले हात झिकिसकेको छ भने फोहरमैला प्रशोधन केन्द्र बनाउन पहल भइरहे पनि अझै टुंगो लाग्न सकेको छैन ।

 

 

प्रकाशित: २ माघ २०७४ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App