८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार षड्यन्त्र गर्दैछ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नै अर्को वर्ष माघसम्म तीनै तहका चुनाव हुन नदिने षड्यन्त्रमा लागेको बताएका छन्। उनले निर्वाचन नगरेर देशमा संवैधानिक र राजनीतिक संकट उत्पन्न गर्न खोजिएको बताएका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारको गतिविधिले तीनै तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको आभास मिलेको बताए। 'हाम्रो सरकारले मंसिरमा स्थानीय निकाय निर्वाचन, चैत–वैशाखमा प्रदेश र मंसिरमा प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यतालिका अघि सारेको छ,' अध्यक्ष ओलीले भने, 'मंसिरमा स्थानीय निकाय चुनाव नहुने भइसक्यो। कुनै पनि चुनाव गराउने नियत छैन। यो भनेको मुलुकलाई संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न गराउने षड्यन्त्र हो, यसको आभास हामीले पाइसकेका छौं।'

सरकारले मंसिरमा स्थानीय निकायका निर्वाचन गराउन नसक्ने बताइसकेको र स्थानीय तहको गठन गर्नसमेत अवरोध गरिरहेको बताए। उनले एमालेले यसको प्रतिरोध गर्ने दाबी गरे। 'एमाले कसैले चढेको लिस्नु लगाएर यहाँ आएको होइन, हाम्रो ध्यान जनताप्रति छ,' उनले भने, 'देशलाई दुरगामी असर पार्ने कुनै काम भए एमालेले प्रतिरोध गर्ने छ।'

उनले देशभित्र जातीय द्वैष फैलाउने काम सुरु भएको बताए। उनले पुष्पकमल दाहालको सरकारले मधेस आन्दोलनक्रममा मृत्यु भएका व्यक्तिलाई दिने भनेको क्षतिपूर्ति र घाइतेको उपचार खर्चको निर्णयलाई तमासा भएको बताए। 'मेरो नेतृत्वमा सरकार बन्नुभन्दा अघि नै ४५–४६ जनाको मृत्यु भइसकेको थियो, उनीहरूलाई दस लाख दिने भने निर्णय गरेर रकम भुक्तानी भइसकेको थियो,' उनले भने, 'अहिले आएर सरकारले दस लाख दिने भनेर तमासाको निर्णय गर्छ। योभन्दा झूठ र बेइमानी के हुनसक्छ? जुन निर्णय उहिले भइसकेर उहिले नै वितरण भइसक्यो, घाइतेको उपचार गराउने भनेर सरकारले उहिले नै निर्णय गरेर विदेशमा समेत पठाएर घाइतेको उपचार गराएको छ। उपचारमा लागेको खर्चको बिल लिएको छ।'

ओलीले घाइतेको उपचार खर्च पार्टीले दिने विषयलाई पनि व्यंग्य गरे। 'उहाँको माग घाइतेलाई होइन, पार्टीलाई दिनुपर्छ भन्ने थियो। पार्टीको अपरेसन गराउनुपर्ने वा मलमपट्टी गर्नुपर्ने होइन होला, अहिले धेरै उत्ताउला कुरा हुन गरेका छन्,' उनले भने।

पूर्वप्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताको आधारमा संविधान संशोधनको विषयमा जान सकिने बताए। 'के सम्झौता चाहिएको हो। कस्तो पुनर्लेखन खोजेको हो? संविधान संशोधनीय दस्तावेज हो तर संशोधन हुनसक्छ भनेर कसैले यो संशोधन गरिदिनुपर्‍यो भन्ला तर त्यसको औचित्य हुन्छ, आवश्यकता हुन्छ ' उनले भने।

आफूविरुद्ध प्रचार अभियान थालिएको भन्दै पूर्व प्रधानमन्त्री ओलीले कुचो गरेको आरोप लगाउन थालेको बताए।

'धर्म, सिद्धान्त र नीति छाडेर केपी शर्मा ओलीविरुद्ध भोट हाल्न जान्छु, नर्कमै पर्नु परे पनि जान्छु, ओलीविरुद्ध भोट हाल्न पाइन्छ भने नौ महिनापछि भए पनि जान्छु भन्नेहरूले कुरा उठाएका  छन् तर यसको अर्थ हामीले कुनै प्रतिशोधको राजनीति गरेका छैनौं,' ओलीले भने।

सो कार्यक्रममा उनले माघ १९ पछि शेरबहादुर देउवालाई शाही आयोग खडा गरेको जस्तै गरी कुनै विषयमा फसाउन सक्ने संकेत गरे। 'एमाले नेतृत्वको सरकारविरुद्ध यस्तो मुद्दा लगाउन सम्भव छैन तर विगतमा राजनीतिक रुपमा कुनै काम गर्नका लागि भएको छ,' उनले भने, 'माघ १९ गतेपछि शाही आयोगको नाममा यस्तो काम भएको थियो।'

प्रकाशित: २७ श्रावण २०७३ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App