८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाविरुद्ध २० राष्ट्रको भेला आज, चीन अनुपस्थित

तस्बिर - रोयटर्स

भ्यानकोभर– उत्तर कोरियाको आणविक महत्वकांक्षालाई कूटनीतिक र आर्थिक दबाबका माध्यमबाट कसरी नियन्त्रण गर्न सकिन्छ भनेर मंगलबार २० देशका विदेशमन्त्रीहरुको भेला क्यानडामा हुँदैछ ।

२० देशका विदेशमन्त्रीको भेला हुने भए पनि प्योङयाङको नजिकको साझेदार एवं कोरियाली प्रायद्वीपमा रहेको समस्याको दीर्घकालीन समाधानको प्रमुख खेलाडी चीन भने यस भेलामा उपस्थित नहुने भएको छ ।
क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आह्वान गरेको भ्यानकोभर बैठक कोरियाली प्रायद्वीपमा जारी तनाव कम्तीमा अस्थायी रूपमा भए पनि कम हुने संकेतपछि हुन गइरहेको छ ।

दुई वर्षभन्दा लामो समयपछि उत्तर र दक्षिण कोरियाले गत साता वार्ता गरेका थिए र उक्त वार्तामा प्योङयाङले आगामी महिना दक्षिण कोरियाको पेओङचाङमा हुने शीतकालीन ओलम्पिक्समा आफ्ना एथ्लेटिक्स खेलाडी पठाउन सहमति गरेको थियो । दुई कोरियाबीच वार्ताको थालनी भएतापनि वासिङ्टन  र अन्तर्राष्ट्रिय समुदायले भने उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर भइरहेको प्रतिबन्धको दायरालाई थप फराकिलो बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

‘हाम्रो अधिकतम दबाबको अभियान उत्तर कोरियामा महसुस भएको बढ्दो प्रमाण रहेको छ । उनीहरुले प्रतिबन्ध महसुस गरिरहेका छन्,’ अमेरिकी गृह मन्त्रालयका नीति योजना विभागका निर्देशक ब्रयान हुकलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

भ्यानकोभर बैठकका बारेमा वासिङ्टनमा आयोजना भएको एक ब्रिफिङमा हुकले अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनसहितका सहभागीले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धविरुद्ध जोरी खोज्न उसले जहाज पठाउने सम्भाव्यतालाई रोक्न र सामुद्रिक व्यापारलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर छलफल गर्ने बताएका छन् । बैठकमा प्योङयाङलाई प्राप्त हुने सहयोग र स्रोतलाई कसरी अवरुद्ध गर्न सकिन्छ भनेर पनि छलफल हुने हुकलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

आम विनासकारी हतियारको किनबेचलाई रोकथाम गर्ने उद्देश्यसहित बनेको १७ राष्ट्र सम्मिलित ‘प्रोलिफेरेसन सेक्युरिटी इनिसियटिभ’ ले गत शुक्रबार उत्तर कोरियामाथि अधिकतम दबाब दिनुपर्ने बताएको थियो । तर उत्तर कोरियाली शासक किम जोङ–उनले अमेरिकी मागलाई सम्बोधन गर्ने कुनै चाहना देखाएका छैनन् ।भ्यानकोभर बैठकको अर्को चुनौती भनेको उत्तर कोरियामा महत्वपूर्ण प्रभाव रहेको चीनको अनुपस्थिति हो । बेइजिङ प्योङयाङको एकमात्र गठबन्धन र प्रमुख व्यापारिक साझेदार हो ।

भ्यानकोभर बैठकमा सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धका बेला दक्षिण कोरियाको पक्षमा फौज पठाएका राष्ट्र सम्मिलित हुने बताइएको छ । उक्त युद्धमा चीनले उत्तर कोरियाको पक्षमा लडेको थियो । बेइजिङले भ्यानकोभर बैठकको निन्दा गरेको रोयटर्सले जनाएको छ ।

‘कोरियाली प्रायद्वीपको आणविक मुद्दाका महत्वपूर्ण पक्षलाई समावेश नगरिएको यस्तो खालको बैठकले वास्तवमै समस्या समाधानको वास्तविक हल निकाल्दैन,’ चीनको विदेशमन्त्रालयका प्रवक्ता लु काङले नियमित विफ्रिङका क्रममा बताए । बैठकमा अमेरिकाको प्रथम लाइनका गठबन्धन राष्ट्रहरु जापान र दक्षिण कोरियालाई पनि आमन्त्रण गरिएको बताइएको छ ।

हुकले चीनसहित रुस जो यो बैठकमा उपस्थित भइरहेका छैनन् उनीहरुलाई बैठकको निष्कर्ष विस्तृत रूपमा जानकारी गराइने बताएका छन् । ‘बेइजिङको अनुपस्थित महसुस हुने छ,’ कूटनीतिज्ञहरुले बताएका छन् ।

 

 

प्रकाशित: २ माघ २०७४ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App