८ वैशाख २०८१ शनिबार
समाज

विपत्तिबाट सिक्न नसकेको पाठ

फाइल फाेटाे

काठमाडौं – आज माघ २ गते अर्थात् भूकम्पीय सुरक्षा दिवस । १९९० सालमा नेपालमा विनाशकारी भूकम्प गएको दिन पारेर २०५५ सालदेखि सरकारले भूकम्पीय सुरक्षा दिवस मनाउँदै आएको छ। 

सरकारी तथा गैरसरकारी संस्थाले विगत २० वर्षदेखि भूकम्पीय जोखिम र यसबाट कसरी सुरक्षित हुने भन्ने विषयमा बर्सेनि कार्यक्रम गर्दै आएका छन् । तर त्यस्ता कार्यक्रम प्रभावकारी बन्न सकेको देखिँदैन । दुई वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्पले पुर्याएको क्षतिले भूकम्पीय जोखिम न्यून गर्नका लागि भएका यस्ता कार्यक्रमको उपलब्धिमाथि प्रश्न उठेको छ।  

विदेशमा नेपालकै जत्रा वा त्यसभन्दा ठूला भूकम्प जाँदा पनि एक सयभन्दा बढी मानिसको मृत्यु नहुने राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् । ‘नेपालकै जस्ता संरचना भएका मुलुकमा नेपालकै जस्तो भूकम्प जाँदा त्यहाँ मृत्यु हुने मानिसको संख्या एक सयसमेत नाघ्दैन,’ अधिकारीले भने । नेपालमा ठूलो क्षति हुनुको कारण जोखिम न्यूनीकरणका लागि सचेतनाको कमी भएको अधिकारी स्वीकार गर्छन् । ‘हामीभन्दा विदेशी बढी सचेत छन् । विदेशमा भूकम्पले कम क्षति हुनुको कारण सचेतना हो,’ अधिकारीले भने।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ( एनसेट) का वरिष्ठ कार्यक्रम व्यवस्थापक नारायण मरासिनी सरकारी नीति तथा योजना प्रभावकारी नहुँदा भूकम्पीय जोखिम न्यूनीकरणमा उल्लेख्य उपलब्धि हासिल हुन नसकेको बताउँछन् । उनका अनुसार १९९० को महाभूकम्पलगत्तै सरकारले नीति र योजना बनाएर भूकम्पीय सुरक्षामा ध्यान दिएको भए पछिल्ला दिनमा धेरै क्षति हुँदैनथ्यो । 

सरकारले २०५१ मा भवन संहिता बनाएर त्यसको कार्यान्वयन २०६१ पछि गरेको थियो । भवन संहिताको कार्यान्वयन अझै प्रभावकारी रुपमा हुन नसकेको मरासिनी बताउँछन्। 

भूकम्पीय सुरक्षाका विषयमा धेरै पहिलादेखि  बहस सुरु भए पनि सरकारसँग लामो समयसम्म पनि नीति र मापदण्ड नहुँदा जोखिम न्यूनीकरण प्रभावकारी हुन नसकेको  एनसेटको दाबी छ । भूकम्पका बेला मानवीय क्षति बढी हुनुमा घर तथा संरचना भत्कनु प्रमुख कारण हो । नेपालमा परम्परागत प्रविधि लोप हुँदा र नयाँ प्रविधिबारे ज्ञान नहुँदा केही समयसम्म समस्या भएको र त्यस अवधिमा निर्माण भएका संरचना थप जोखिमपूर्ण भएको मरासिनीको भनाइ छ। 

‘घर निर्माणको हाम्रो पुरानो प्रविधि मजबुत थियो, त्यसलाई बिर्सिएर सिमेन्ट र छडको प्रयोगलाई प्राथमिकतामा राख्यौं तर नयाँ प्रविधिको प्रयोग गर्न जानेनौं । यसले थप जोखिम बढायो,’ उनले भने । सामान्यतया भूकम्पमा ९५ प्रतिशत मानवीय क्षति संरचनाका कारण हुन्छ । नेपालको सन्दर्भमा ९९ प्रतिशत क्षति घर तथा संरचनाका कारण हुने एनसेटको दाबी छ। 

सरकारले नयाँ संरचना निर्माणका लागि नीति बनाए पनि पुराना र जोखिमयुक्त संरचनाबारे कुनै व्यवस्था गरेको छैन । यसले गर्दा पनि भूकम्पीय जोखिम उच्च छ । २०६८ को तथ्यांकअनुसार नेपालमा ५४ लाख निजी घर भूकम्पीय जोखिममा रहेका छन् । पुराना घरको सुरक्षाबारे गम्भीर नभएसम्म भूकम्पीय जोखिम रहिरहने मरासिनीको भनाइ छ । पुराना घरलाई रेट्रोफिटिङमार्फत मजबुत बनाउन सकिने भए पनि त्यसका लागि सरकार गम्भीर भएको देखिँदैन । भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरिएका पुराना स्कुल ०७२ को भूकम्पमा सुरक्षित रहेको एनसेटको दाबी छ। 

उपत्यकाको माटो मजबुत  
एनसेटका वरिष्ठ कार्यक्रम व्यवस्थापक मरासिनी उपत्यकाको माटो भूकम्प प्रतिकूल रहेको बताउँछन् । १९९०, २०४५ र २०७२ सालको भूकम्पमा उपत्यकामा कम क्षति पुगेको उनको भनाइ छ । उपत्यकाको माटोलाई जापानको ल्याबमा परीक्षण गर्दा भूकम्पबाट कम क्षति पुग्ने गुण भेटिएको थियो । उपत्यकाको माटोमा १० देखि २० प्रतिशतसम्म माइकाको मात्रा रहेको छ । यसले जमिन कम्पनलाई कम गर्न मद्दत गर्ने र कम क्षति हुने विज्ञहरु बताउँछन्। 

हालसम्म गएका ठूला भूकम्प र क्षति  
नेपालमा सन् १२५५ मा गएको भूकम्पले काठमाडौं उपत्यकाका धेरै घर तथा मन्दिर नष्ट गरेको थियो भने एक तिहाइ भन्दा धेरै जनसंख्याको मृत्यु भएको थियो । भूकम्पको कम्पन एमएम स्केलमा एक्स रहेको थियो । (चित्रकार एन्ड पाण्डे, १९८६) 
एमएम स्केलमा एक्स तहको कम्पन  भूकम्पको उच्चतम कम्पन मानिन्छ । सन् १४०८ मा गएको भूकम्पले पाटनको मछिन्द्रनाथ मन्दिर ध्वस्त बनाएको थियो। 

सन् १८३३ मा गएको ७.८ म्याग्निच्युडको भूकम्पले काठमाडौं उपत्यकामा ठूलो नोक्सानी पु¥याएको थियो । उक्त भूकम्पबाट मानवीय क्षति भने पाँच सय भन्दा तल रहेको थियो । (आर बिल्हम, १९९५)  सन् १९३४ मा गएको विनाशकारी भूकम्पबाट नेपाल र भारतमा गरी १६०० मानिसको मृत्यु भएको थियो । (मोलनार एन्ड पाण्डे, १९९४)
१९९० माघ २ मा भएको ८ म्याग्निच्युडको भूकम्पमा परी आठ हजार ५१९ जनाको ज्यान गएको थियो भने दुई लाख ७७ हजार ४० संरचना ध्वस्त भएका थिए । भूकम्पले एक लाख २६ हजार ३५५ संरचनामा गम्भीर क्षति पुर्याएको थियो। 

२०४५ भदौ ५ मा उदयपुरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ७२१ जनाको मृत्यु भएको थियो । भूकम्पमा परी ६५६६ जना घाइते भएका थिए । २१ हजार ७४४ घर पूर्ण ध्वस्त भएका थिए भने ४१ हजार ६२ घरमा आंशिक क्षति पुगेको थियो । २०६८ असोज १ गते नेपालको ताप्लेजुङ र भारतको सिक्किम सिमानामा केन्द्रबिन्दु बनाएर ६.९ रेक्टरको भूकम्प गएको थियो । यसबाट राजधानी काठमाडौंलगायत नेपालका करिब २६ जिल्ला प्रभावित भएका थिए । भूकम्पमा परी नेपालमा ७ जनाको ज्यान गएको थियो भने ७,७४६ घर पूर्ण र १२,१०८ घर आंशिक क्षति भएका थिए । यसमा ७,८८२ घर परिवार विस्थापित भएका थिए। 

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण आठ हजार ७९० जनाको ज्यान गएको थियो । २२ हजार तीन सय घाइते भएको पुनर्निर्माण प्राधिकरणको तथ्यांकमा उल्लेख छ । भूकम्पबाट ३१ जिल्लाका झन्डै ८० लाख जनसंख्या प्रभावित भएका छन् । भूकम्पबाट ९७८ सरकारी संरचना पूर्ण क्षति पुगेको र तीन हजार २१ संरचना आंशिक क्षति पुगेको थियो । त्यस्तै भूकम्पबाट पाँच लाख २२३ सार्वजनिक संरचना पूर्ण क्षति पुगेको र दुई लाख ६९ हजार १५६ सार्वजनिक संरचनामा आशिंक क्षति पुगेको थियो। 

वैशाख १२ पछि पाँच गुणा बढी भूकम्प 
भूकम्पमापन केन्द्रका अनुसार ०७२ वैशाख १२ पछि पहिलेको तुलनामा नेपालमा पाँच गुणा बढी भूकम्प गइरहेका छन् । ‘पहिलेको तुलनामा पाँच गुणा बढी भूकम्प गइरहेका छन्,’ केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने । उनका अनुसार पहिलेको तुलनामा यो संख्या धेरै हो । ‘वैशाख १२ भन्दा पहिले अहिलेको भन्दा कम भूकम्प महसुस हुन्थ्यो,’ अधिकारीले भने । ०७२ वैशाखयता ४० हजार पटकभन्दा बढी भूकम्प गएको अधिकारीले जानकारी दिए। 

भूकम्पीय क्षति न्यूनीकरण कसरी गर्ने ?  
एनसेटका वरिष्ठ कार्यक्रम व्यवस्थापक मरासिनी क्षति न्यूनीकरणका लागि सरकारले नै अग्रसरता लिनुपर्ने बताउँछन् । राज्यको पुनर्संरचना भइसकेकाले स्थानीय निकायको क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव उनको छ। त्यस्तै जनताले राज्यको मात्र भर गर्नुको सट्टा सुरक्षामा आफैंले अग्रसरता लिनुपर्ने उनी बताउँछन्। 

भूकम्प मापन केन्द्रका प्रमुख अधिकारी  जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँछन् । हाल भूकम्पीय जोखिम न्यूनीकरणका लागि भइरहेका प्रयास सकारात्मक भएको उनको भनाइ छ । पछिल्लो समय नयाँ संरचना बनाउँदा छलफल गर्ने प्रवृत्ति जनचेतनाकै कारण सम्भव भएको उनी बताउँछन् । 

प्रकाशित: २ माघ २०७४ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App