coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपामा महतो हाबी

काठमाडौं – विगतमा अलग रहदैँ आएका ६ वटा पार्टी एकीकरण भई गठन भएको नयाँ पार्टी राष्ट्रिय जनता पार्टीभित्र प्रतिनिधिसभा र प्रदेशसभाको संसदीय दल दुवैमा अध्यक्ष राजेन्द्र महतो हाबी हुने देखिएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ विजय हासिल गरेकामध्ये बहुमत सदस्य तत्कालीन सद्भावना पार्टीमा आवद्ध भएकाले अध्यक्षम मण्डलका नेता महतो हाबी हुने देखिएको हो। 

‘प्रतिनिधिसभाका ११ मध्ये ५ र प्रदेशसभाका १६ मध्ये ८ मा सद्भावना पृष्ठभूमिका उम्मेदवार विजयी भएका छन्’

‘राजपावाट प्रतिनिधिसभामा विजयीमध्ये सद्भावना पृष्ठभूमिका नेता बढी विजयी भएका छन्,’ राजपा महामन्त्री  जितेन्द्र सोनालले नागरिकसँग भने, ‘तमलोपा पृष्ठभूमिका २ जनाबाहेक अन्य विजयी पूर्व पार्टीका अध्यक्ष मात्रै हुन ।’ राजपा अध्यक्ष मण्डलमा रहेका सबै ६ जना अध्यक्षले प्रत्यक्षतर्फ विजयी हासिल गर्न सफल भएका छन्। राजपाले गत निर्वाचनमा ११ सिट प्रत्यक्षतर्फ जितेको छ।

महतोले नेतृत्व गरेको तत्कालीन सद्भावना पार्टी आवद्धले ११ सिटमध्ये ५ वटामा र प्रदेशसभातर्फका १६ मध्ये ८ वटा सिटमा विजयी भएका छन् । नेपाली कांग्रेसका ‘हेविवेट’ विमलेन्द्र निधिलाई हराउने महतो पार्टी एकीकरणअघि सद्भावना पार्टीका अध्यक्ष थिए । उनी हाल राजपा अध्यक्ष मण्डलमा छन्।

तत्कालीन सद्भावनाका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले पर्सा–४ बाट जित हासिल गरेका छन्, यसले कांग्रेसका लक्ष्मण रिजाल र माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेर पहिलो पटक प्रत्यक्षतर्फ विजयी भएका हुन्।

सर्लाही–१ बाट विजयीप्रमोद साह पनि तत्कालीन सद्भावना पार्टीका जिल्ला अध्यक्ष हुन्, उनले राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई पराजित गरेका थिए । एकीकरणअघि सद्भावना पार्टीका सचिव रेशम चौधरी कैलाली–१ बाट विजयी भएका छन् । हाल टीकापुर प्रकरणका कारण उनी ‘फरार’ छन् । सप्तरी–३ बाट डा. चन्द्राकान्त चौधरी पनि सद्भावना पृष्ठभूमिका नेता हुन्, सद्भावनामा उनी केन्द्रीय सदस्य थिए। 

यसैगरी, महन्थ ठाकुरले नेतृत्व गरेको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी पृष्ठभूमि बोकेका २ जना विजयी भएका छन् । महोत्तरी–३ बाट स्वयं अध्यक्ष ठाकुर र बारा–४ बाट एकवाल मिया विजयी भए । मिया तमलोपाका केन्द्रीय सदस्य हुन् ।
तर, राजपा एकीकरणअघिका तत्कालीन ४ वटा पार्टीका अध्यक्ष मात्रै विजयी हुन सफल भएका छन् । एकीकरणअघिको राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष महोत्तरी–२ बाट, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव सर्लाही–२ बाट, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा रौतहट–१ बाट र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सिरहा–४ बाट विजयी भएका छन् । एकीकरणपूर्वका यी ४ पार्टीमा आवद्ध रहेकामध्ये अध्यक्षबाहेक अन्य कुनै पनि उम्मेदवार प्रतिनिधिसभामा आउन सकेनन्। 

‘प्रतिनिधिसभामा मात्रै होइन, प्रदेशसभामा पनि सद्भावना पृष्ठभूमिका ८ जना विजयी भएका छन्,’ राजपा सचिव उपेन्द्र महतोले नागरिकसँग भने, ‘प्रतिनिधिसभामा झंै प्रदेशसभामा पनि सद्भावना पृष्ठभूमि भएकाहरूले संसदीय दलको नेता पाउन सक्नेछन् ।’ राजपा संसदीय दलको नेतामा सहमति नभई मतदानबाट टुंग्याउने अवस्था आएमा सद्भावना पृष्ठभूमिबाट आउनेले नै  जित्ने महतोको दाबी छ ।

प्रदेशसभाका लागि राजपालाई प्राप्त १६ सिटमध्ये सद्भावना पृष्ठभूमि बोकेका मात्रै ८ जना उम्मेदवारले प्रत्यक्षतर्फ जित हासिल गरेका छन् । प्रदेश–२ मा १५ र प्रदेश ५ मा एक गरी राजपाले १६ सिटमा जित हासिल गरेको छ।

यसअनुसार सप्तरीबाट तत्कालीन सद्भावनाका उपाध्यक्ष नवलकिशोर साह, महासचिव मनिष सुमन र केन्द्रीय सदस्य विश्वेवरप्रसाद यादवले विजयी हासिल गरेका छन् भने बाराबाट महासचिव सरोजकुमार यादव प्रदेशसभामा विजयी भएर पुगेका छन्। 

त्यसैगरी, सदभावना पृष्ठभूमि बोकेकामध्ये महोत्तरीबाट अर्की महासचिव सुरिताकुमारी साह र सचिव उपेन्द्र महतोले सर्लाहीबाट विजय भएका छन् । सर्लाहीबाट जित हासिल गर्ने अर्का गौरीनारायण यादव तत्कालीन सद्भावनाका जिल्लास्तरका नेता हुन् भने कैलालीबाट विजयी कृष्णबहादुर चौधरी पनि केन्द्रीय सदस्य थिए।

उता, ठाकुरले नेतृत्व गरेको तत्कालीन तमलोपा पृष्ठभूमि बोकेका ६ जनाले जितेका छन् । जित्नेमा तत्कालीन महामन्त्री जितेन्द्र सोनाल बारा, सहमहामन्त्री सुरेश मण्डल सिरहा, जिल्ला अध्यक्ष परमेश्वर साह धनुषा, केन्द्रीय सदस्य रमेशप्रसाद कुर्मी पर्सा, केन्द्रीय सदस्य बाबुलाल साह रौतहट, जिल्ला अध्यक्ष अविराम शर्मा महोत्तरी रहेका छन्। 

भण्डारीले नेतृत्व गरेको रामसपा पृष्ठभूमिका जैमुल राइन महोत्तरीबाट र यादवले नेतृत्व गरेको रानीकुमारी तिवारी शर्र्मा महोत्तरीबाट प्रदेशसभामा पुगेका छन्, उनी तमसपामा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिइन् । झाले नेतृत्व गरेको नेसपा र  यादवले नेतृत्व गरेको फोरम गणतान्त्रिकले आफुबाहेक अन्य कसैलाई पनि जिताउन सकेन।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ सद्भावना पृष्ठभूमिका उम्मेदवारले विजयी हासिल गरे पनि अध्यक्ष महतो भने सहमतिका आधारमा अघि बढने बताउँछन् । ‘प्रतिनिधिसभा र प्रदेशसभामा सद्भावना पृष्ठभूमिमा रहेकाले नै बढी जित हासिल गरेको तथ्यांकले देखाएको छ,’ अध्यक्ष महतोले भने, ‘संसदीय दलको नेतादेखि अन्य विषयमा जनमतलाई आधार बनाएर निर्णय गर्छौं, छलफल जारी छ ।’ सद्भावना पृष्ठभूमिकाले महतोलाई नै संसदीय दलको नेता बनाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन्।

प्रकाशित: २ माघ २०७४ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App