८ वैशाख २०८१ शनिबार
कला

आमाको सम्झनामा पुरस्कार

तस्बिर ; रमेश- नागरिक

दोलखा– आफ्नी आमाको सम्झनामा जिल्लाका एक पत्रकारले ७ वर्षदेखि साहित्य संरक्षणको अभियान चलाइरहेका छन् । दोलखाका पत्रकार चिरञ्जिवी मास्केले आफ्नी दिवंगत आमाको नामबाट संस्था खोलेर साहित्य स्रष्टा र साहित्य संरक्षणमा योगदान पुर्याउने दुई जनालाई वर्षेनी सम्मान गर्दै आएका छन् ।

मास्केले आमाको नाममा खोलेको विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिले वर्षेनी जिल्लाका उत्कृष्ट स्रष्टा र रेडियोमा साहित्यिक कार्यक्रम चलाउने रेडियोकर्मीलाई सम्मान गर्दै आएको छ । सोमबार सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा समितिले साहित्यकार भोजराज न्यौपानेलाई यस वर्षको विष्णुलक्ष्मी साहित्य सम्मान र स्थानीय हाम्रो रेडियोकी प्रस्तोता लक्ष्मी बस्नेतलाई तुलसीमाया रेडियो साहित्य पुरस्कारबाट पुरस्कृत गरेको छ ।

उनिहरूलाई पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सम्मान गरे । राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिकामा साहित्य लेख्दै आएका न्यौपानेका थुप्रै कृति प्रकाशित छन् भने बस्नेत रेडियोमा साहित्यिक कार्यक्रमसहित समाचार प्रस्तोताका रूपमा कार्यरत छिन् ।

पत्रकार मास्केले सो दुई पुरस्कार आपूmलाई जन्म दिने र कर्म दिने आफ्ना दिवंगत दुई आमाको नाममा खडा गरेका हुन् । उनी ५ महिनाको हुँदा उनलाई जन्म दिने आमा तुलसीमाया मास्केको स्वर्गारोहण भएको थियो । सानै उमेरमा आमा गुमाएपछि मास्केलाई उनकी सानी आमा (तुलसीमायाकी बहिनी) विष्णुलक्ष्मी श्रेष्ठले पालनपोषण गरेकी थिइन् । उनलाई पालनपोषण गर्नैकै लागि अविवाहित रहेकी विष्णुलक्ष्मीको ७ वर्षअघि स्वर्गारोहण भएको वर्षदेखि मास्केले आमाको नामबाट साहित्यिक पुरस्कार स्थापना गरेका हुन् ।

‘म साहित्यकार भन्दा पनि साहित्यानुरागी हुँ,’ मास्केले भने, ‘आमाको स्वर्गारोहणपछि उहाँको सम्झनामा केही काम गरौं भन्ने लागेर साहित्यकै संरक्षण र जगेर्णा गर्न पुरस्कार स्थापना गरेको हुँ ।’ यो साहित्य सम्मान दोलखाकै पहिलो भएको स्रष्टा एवं पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीले बताए । मास्केले स्थापना गरेको पुरस्कार प्रत्येक वर्ष माघे संक्रान्तीकै दिन वितरण हुन्छ । संक्रान्तीको दिन उनको जन्मदिन पनि पर्छ ।

साहित्य सम्मानको राशी ३ हजार ३ सय ३३ र रेडियो पुरस्कारको राशी २ हजार २ सय २२ छ । ‘साहित्यको विकास संस्थागत होस् भन्ने लागेर सानो प्रयास गरेको हुँ,’ व्यक्तिगत खर्चमै पुरस्कार दिँदै आएका मास्केले सुनाए ।

यस वर्षको पुरस्कार र सम्मान वितरण समारोहमा सोमबार आयोजित कार्यक्रमका प्रमुख अतिथि एमाले नेता एवं पूर्व मन्त्री पोखरेलले जेष्ठ नागरिक र आफ्ना अभिभावकलाई दिवंगत अघि र पछि सम्मान गर्ने र सम्झने मास्केको कामको खुलेर प्रशंसा गरे ।


 

प्रकाशित: २ माघ २०७४ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App