८ वैशाख २०८१ शनिबार
समाज

देशभरका घलेहरु लमजुङमा जुटेर मनाए लिःल ल्होसार

लमजुङ – देशका विभिन्न जिल्लामा छरिएर रहेका जनजाति अन्तर्गतका घले जातिले यसवर्षको  लिःल अर्थात घले ल्होसार लमजुङमा भेला भएर सामुहिक रुपमा मनाएका छन्। लिल फङ(घले समाज) केन्द्रिय समिति, ल्होसार मुलआयोजक समितिको आयोजनामा यसवर्षको ल्होसार बेसीसहरमा मनाईएको हो।

च्यल्हो (चरावर्ग)लाई विदाई गरि खिल्हो (कुकुर वर्र्र्ग)को स्वागत गर्दै जातिय परम्परा अनुसारका झाँकी प्रर्दशन, साँस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, सामुहिक भोज जस्ता कार्यक्रम गरी घले जातिको ल्होसार मनाईयो।

देशका विभिन्न ३८ जिल्लाबाट सहभागी भएका घले जातिलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले फागुनको दोस्रो साता सरकार गठन हुने बताए। ‘फागुनमा नयाँ सरकार बन्छ, त्यो बाम सरकार बन्नेछ र एकीकृत पार्टीकै सरकार बन्छ,’ जिल्लाबासीलाई सम्बोधन गर्दै खनालले भने, ‘वाम शक्तिको एकीकरणको सम्बन्धमा शंका नगर्नुस्, संयुक्त पार्टीकै सरकारले यो मुलुकलाई अघि बढाउनेछ।’

सरकार गठनमा ढिलाई भएको तर त्यो प्राविधिक विषयमा बोल्नु आवश्यक नरहेको बताउँदै आगमी सरकारले मुख्यतः पाँचवटा कार्यभारलाई प्राथमिकताका साथ अघि बढाउने बताए। मुलुक परिवर्तनका लागि मुलुकका १ सय २५ जातजातिको महत्वपूर्ण भूमिका रहेको र त्यसमा घलेजातिको पनि उतिकै हिस्सा रहेको नेता खनालले बताए। अब बन्ने सरकारले घले जातिलाई आदिवासी सरहको मान्यता दिएर सुचिकृत गर्नुपर्ने बताउँदै सो सुचिमा दर्ता हुन पाउनु घले जातिको मौलिक अधिकार नै भएकोमा जोड दिए।
 
कार्यक्रममा प्रदेश सांसद धनञ्जय दवाडी, पूर्वसांसद जमिन्द्रमान घले, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्ट लगायत घले समाजका विभिन्न तहका पदाधिकारीको सहभागिता रहेको थियो। घलेजातिको इतिहास, धर्म, सँस्कृति, कला, भेषभुषा र परम्पराको उजागर गरेको भन्दै ल्होसारको अवसरमा जिल्लास्थित ९ जना सञ्चारकर्मीलाई सम्मान समेत गरियो। सञ्चारकर्मीहरु नवराज पहाडी, नविनराज कुईंकेल, आश गुरुङ, कृष्णबहादुर आले, दिपक अधिकारी, अनुज अधिकारी, निरज अधिकारी, श्यामशित्तल परियार र आश गुरुङ(सानो) लाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो।   

बेसीसहरको फुलबारी मञ्चमा औपचारिक कार्यक्रम हुनुअघि कार्यक्रम शेराबजारबाट विभिन्न भाँकी प्रर्दशन गर्दै, विभिन्न ठाउँका घाँटु, सोरठी, स्र्याका नाचका पहिरन, भेषभुषा, तथा जातिय भेषभुषामा साँस्कृतिक -यालीले बजार परिक्रमा गरिएको थियो। सरकारले यो जातिलाई १ सय २३ भाषा मध्ये ७८ औं स्थानमा र १ सय २५ जाति मध्ये ६८ औं स्थानमा सूचिकृत गरेको घले समाजका जिल्ला अध्यक्ष विरसिंह घलेले बताए। उनीहरुको आफ्नो बेग्लै भाषा, सँस्कृति र पहिचानसहित अल्पसंख्यक जातिमा सूचिकृत भएको यो जाति मुलुकभरका ७१ जिल्लामा भेटिएको र ३६ जिल्लामा लिल फङ अर्थात् घले समाजको संगठन रहेको केन्द्रिय महासचिव डाक्टर जितबहादुर घलेले बताए।

ल्होसार मनाउन विभिन्न ३८ जिल्लाबाट करिब साँढे २ हजार घले सदस्यहरु लमजुङ आएको बताईएको छ। मुलुक बाहिर करिब २५ देशमा घले जातिको संगठन रहेको जनाईएको छ। २०६८ को जनगणना अनुसार घले जातिको जनसंख्या २२ हजार रहेको तथ्यांक देखिएपनि आफुहरुको संख्या मुलुकभर करिब साँढे ४ लाख रहेको समेत महासचिव घले बताउँछन्। घले जाितमा डाँगे, क्याल्दो, साम्री र रिल्ली गरी चार जात रहेको जनाईएको छ । घले समाजका केन्द्रिय अध्यक्ष अधिवक्ता दिनेश घलेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महासचिव डाक्टर जितबहादुर घलेले सहजीकरण गरेका थिए।

प्रकाशित: १ माघ २०७४ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App