६ वैशाख २०८१ बिहीबार
समाज

माघे संक्रान्तिमा माइबेनी मेला

इलाम – धार्मिक दृष्टिले प्रसिद्ध इलामको माइबेनीमा हरेक माघे संक्रान्तिको अवसर पारेर लाग्ने तीनदिने मेला धुमधाम लागिरहेको छ। यो पटक पनि माई, पुवामाई र जोगमाईको संगमस्थल माइबेनीमा पुस ३० देखि भव्य मेला लागेको हो। मेला माघ २ मा सम्पन्न हुनेछ।

यो वर्ष माइजोगमाई गाउँपालिकाले मेला आयोजना गरेको छ। ऐतिहासिकस्थल माइबेनीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए।

मेला भर्न नेपालका मात्रै होइन, भारतको दार्जिलिङ, सिक्किम, मिरिक, सिलिगुडी, कालिम्पोङ र भुटानबाट समेत हजारौं दर्शनार्थी आएका छन्। प्रत्येक माघे संक्रान्तिका दिन जिल्लाका अरू मुख्य सहर नै सुनसान हुन्छन्। ती सहरका व्यापारी–ग्राहक सबै माइबेनी मेला झर्छन्।

माइबेनीमा मकर नुहाउँदा मनोकांक्षा पूरा हुने विश्वास छ। नजिकै रहेको शिवालयमा सद्बीज छर्दा धर्म कमाउने विश्वासमा हरेक वर्ष यहाँ दर्शनार्थीको घुइँचो लाग्छ। मकर संक्रान्तिको दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा कायमै छ। माइखोलामा परेवा उडाउने भाकल गर्नेहरूले पनि त्यसै दिन परेवा उडाउँछन्।

धर्मसिन्धुका अनुसार यस दिनको नदीस्नान उत्तम मानिन्छ। मकर संक्रान्तिमा सूर्योदय हुनुपूर्वको नदीस्नान अझ उत्तम मानिएको छ। यस दिनको नदीस्नानले कर्मसिद्धि हुने, आरोग्य ल्याउने र छालासम्बन्धी रोगको निवारण हुन्छ भन्ने विश्वास गरिन्छ। मकरस्नानको सम्बन्ध शारीरिक शुद्धिका साथै चित्तशोधनसित पनि रहेको धार्मिक विश्वास छ। यसैले मानिसहरू माघे संक्रान्तिको अघिल्लै दिन माइबेनी पुगिसकेका हुन्छन्।

बालबालिकादेखि वृद्धवृद्धासम्म माइबेनी मेला भर्न आउँछन्। सिजनअनुसार सुन्तला र उखुको व्यापार सबैभन्दा बढी हुन्छ। तीन सयभन्दा बढी दोकान राखिने मेला हरेक वर्ष स्थानीय संघसंस्थाहरूले आयोजना गर्दै आएका छन्। मेलामा राडीपाखी, गलैंचा, लुगाफाटा, भाडावर्तन, शृंगारका साधन र तरुलको व्यापार बढी हुन्छ। त्यसबाहेक कृषिजन्य उत्पादन पनि प्रदर्शनी र बिक्रीका लागि ल्याइएको हुन्छ। माइबेनीको अर्काे आकर्षण भनेको धाननाच, चुड्केनाच, जुहारी गीत पनि हो। यी नाचहरू एकअर्काप्रति आत्मीयताको प्रतीक हुन्।

ऐतिहासिक महत्व  

१९२० सालतिर तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालामा माइबेनी मेला लाग्न सुरु भएको स्थानीय अग्रज बताउँछन्। पहिले महिना दिनसम्म लाग्ने मेला दुई साता, एकसाता हुँदै अहिले तीन दिनमा झरेको छ।

इतिहासकार युद्धप्रसाद वैद्यले संकलन गरेको तथ्यअनुसार बडाहाकिम थापाकी पत्नी बदनकुमारी (राणा प्रधानमन्त्री जंगबहादुरकी छोरी) धर्मकर्मप्रति आस्थावान भएकाले काठमाडौंमा माघेसंक्रान्तिमा मकर नुहाउँथिन्। मकर नुहाउने चलन भएको समाजमा हुर्किएकी बदनकुमारीले इलाममा माघे संक्रान्तिका दिन मकर नुहाउन नपाउने भएर बडाहाकिमसँग बिश्मात गरेपछि माइबेनीको त्रिवेणीमा नुहाउन सल्लाह दिए। त्यसपछि यहाँ मेला लाग्न सुरु गरेको इतिहास भेटिन्छ।

वैद्यको ‘सात भाइको डायरी’ अनुसार बडाहाकिम थापाले यहाँ मेला लगाउने निश्चय गरेपछि जिल्लाभरिका थरी–मुखियाहरूमा आफ्नो सातुचामल लिइ मेला भर्न आउनू भन्ने पूर्जी काटियो। अनि गाउँघर टाढा–टाढाका मानिसहरू पनि आफ्नो गाउँघरको बाजागाजासमेत लिएर मेला भर्न आउन थालेका हुन्।

मेला भर्न ताप्लेजुङको ओलाङचुङगोलादेखिका मानिसहरू माइबेनी मेलामा आउन थाले त्यहाँका लामाहरू मेला लाग्नुभन्दा १५ दिन अगावै मेलास्थलमा आई पाल टाँगेर बस्न थाले। उनीहरू खच्चर, घोडामा राडीपाखी राम्रा–राम्रा गलैचाहरू लिएर व्यापार गर्न आउथे, मेलाबाट फर्कंदा भोटेघोडाहरू बिक्री गरेर जान्थे। भारतको दार्जिलिङ, सिक्किम, आसाम र आसपासका मानिसहरू पनि माइबेनीमा मेला भर्न, व्यापार गर्न, मकर नुहाउन र माइखोलामा माई भगवतीको पूजाअर्चना गर्न आउँथे।

वैद्यको लेखलाई विश्लेषण गरेका शिक्षक राम साह भन्छन्, ‘तिल्केनीका  लोकनाथ दहाल, नरेन्द्रनाथ बास्तोला, इलाम सिङफ्रिङका रघुबीर बुढाथोकीलगायतको सक्रियतामा २००१ सालतिर यहाँको शिवालय निर्माण भएको इतिहास भेटिन्छ।’

प्रकाशित: १ माघ २०७४ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App