coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पुष्प मेलामा उत्साहजनक कारोबार

धरान – उत्साहजनक सहभागिता र कारोबार गर्दै पाँच दिने दोस्रो पूर्वाञ्चलव्यापी पुष्प व्यापार मेलामा सोमबार सकिएको छ।

धरान १२ स्थित अमान बजारमा लागेको मेलामा ८० लाख भन्दा बढीको करोबार भएको छ भने २५ हजारको हाराहारीमा नागरिकहरुले अवलोकन एवं फुल खरिद गरेको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ। यो गत बर्षको भन्दा दोब्बर हो। एउटै नर्सरीको स्टलबाट ४ लाखसम्म फुल बिक्री भएको व्यावसायीको भनाई छ। ‘घर आगन होस या नदि किनारा, रोपी स्वदेशी फुल विरुवा बनाउ पुर्वाञ्चल हराभरा’ भन्ने नाराका साथ पुष २७ गतेदेखि पुष्प मेला शुरु भएको थियो। मेलामा ३० वटा व्यावसायिक स्टलसहित ३२ वटा स्टल राखिएको थियो। ‘गत बर्ष ४० लाख जतिको कारोबार भएको थियो, यसपाली दोब्बर भयो,’ एशोसिएशनका सुनसरी जिल्ला अध्यक्ष खगेन्द्र पोख्रेलले भने।

पुष्प मेलामा शनिबारे हटिया व्यावस्थापन समितिले अग्र्यानिक कृर्षि उत्पादन एवं घरेलु उत्पादनको स्टल पनि राखेको थियो। मेलामा भारतको दार्जिलिङसँगै इलाम, झापा, मोरङ र सुनसरीका डेढ दर्जन बढी पुष्प व्यावसायीहरु सहभागी थिए। आयोजक समितिका सुनसरी सचिव प्रेमप्रसाद पराजुलीका अनुसार नियमितरुपमा पुष्प मेला आयोजनाले सर्वसाधारणहरुमा पुष्प व्यावसायमा पनि आकर्षण बढाएको छ। पुष्प मेला अवधिमा अवलोकन एवं पुष्प खरिद गर्न आएकाहरुले व्यावसायिकरुपमा नर्सरी गर्ने उपायबारे पनि जिज्ञासा राखेको उनले बताए। ‘फुलको कारोबार नै ६५ लाखभन्दा बढी भएको छ, सर्वसाधारणहरुले पनि अत्यधिक चासो दिएर मेला अवलोकन गर्न आए,’पराजुलीले भने,‘मेलाले व्यावसायिक नर्सरी गर्न धेरैलाई लालयित पनि बनाएको छ, नर्सरी गर्न के गर्नुपर्छ, फाइदा कस्तो छ भनेर धेरैले हामीलाई सोधेका छन्।’

आयोजकका अनुसार धरानको ११ नम्बर वडा समिति र सम्यक शिक्षा समुहले चाडै फुल तथा बोटविरुवाबारे तालिम पनि आयोजना गर्ने भएको छ। उपमहानगरपालिकाले धरानलाई फुलको सहर बनाउने घोषणा गरेपछि व्यावसायीसँगै सर्वसाधारणहरु पनि निक्कै उत्साहित छन्। मेला समापन समारोहमा बोल्दै धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले धरानलाई फुलबारीको शहर बनाउन राजमार्गको दुवै किनारमा फुल रोप्ने र मुख्य बजार क्षेत्रमा पनि गमलामा फुल राख्ने नीति बनाएको बताइन्। ‘धरान प्रवेश गर्दा देखि नै आगन्तुकहरुलाई लागोस कि कुनै फुलबारी वा बगैचामा प्रवेश गरिरहेका छौं, यसको लागि सडक किनारामा फुल रोप्ने, बजारमा व्यावसायीहरुमार्फत गमलामा फुल राख्ने तयारीमा छौं,’ उनले भनिन्।

मेला आयोजक एवं पवित्रा नर्सरीकी सञ्चालिका कल्पना सुब्बाले गत बर्षभन्दा धेरे व्यावसायी मेलामा सहभागी भएको र सर्वसाधारणको सहभागीता पनि बढी नै भएको बताइन्। ‘फुलको व्यापार पनि राम्रो भयो,’ उनले भनिन्। व्यावसायीहरुका अनुसार सदावहार फुलसँगै मौसमी फुल सबैभन्दा बढी बिक्री भएको छ। सदाबहार फुलहरुमा बगनवेली, एडेनियम, एजेलिया, रंगुनसँगै अर्किड पनि धेरै बिक्री भएको थियो। धरानका नागरिकहरु फुलप्रेमी मानिन्छन्। हरेक घरमा फुलबारी वा गमलामा फुलहरु सजाउने गरेका छन्। त्यसैले यहाँ पुष्प व्यावसाय फष्टाउन सक्ने व्यावसायीहरुको धारणा छ। व्यवसायीहरुको संख्या वृद्धि भएमा विदेशबाट आउने अर्बौको फुलको आयातमा कमी ल्याउन सकिने पुष्प व्यावसायीहरुको भनाई छ।

नेपालमा सन् १९५० देखि काठमाण्डौंबाट सामान्यस्तरको पुष्प व्यावसाय शुरु भएको मानिन्छ। पछि पोखरा, हेटौडा, काभ्रे, विराटनगर, धरान, धनगढीलगायत शहरमा पनि पुष्प व्यावसाय विस्तार भएको हो। आर्थिक बर्ष २०७३/०७४ सम्म आइपुग्दा ३९ जिल्लामा करिब ६ सय ७८ पुष्प व्यवसायीहरु भइसकेका छन् भने करिब १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यावसाय भइरहेको एशोसिएशनले जनाएको छ। आर्थिक बर्ष २०७३/०७४ मा कुल १ अर्ब ७१.२९३ करोड बराबर फुलको करोबार भएकोमा निर्यात भने ३.६५ करोड मात्र भएको छ।

प्रकाशित: १ माघ २०७४ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App