६ वैशाख २०८१ बिहीबार
समाज

दुई जिल्ला जोड्ने तमोर खोलाको झोलुङ्गे पुल जिर्ण

तेह्रथुम – तेह्रथुम र पाँचथर जोड्ने तमोर खोलाको लम्बुघाटमा रहेको झोलुङ्गे पुल जिर्ण बनेको छ। झोलुङ्गे पुलमा रहेको जाली च्यातिएपछि कुनै पनि निकायले मर्मतका लागि ध्यान नदिँदा अहिले पुल जिर्ण बनेको हो। तेह्रथुमलुको म्याङलुङ  नगरपालिका र पाँचथरको कुम्मायक गाउँपालिका जोड्ने उक्त पुलमा लगाइएको फलामेजाली च्यातिएपछि  यहाँ हिड्ने बटुवाहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

दैनिक सयौको संख्यामा यहाँ बटुवाहरु जोखिम मोलेर वारीपारी गर्ने गरेको स्थानीय याम बहादुर बुढाथोकीले बताए। उनका अनुसार यो पुल सबैभन्दा बढी केटाकेटीहरुका लागि खतरा भएको छ। अभिभावकहरु मेलापात र मजदुर गर्न जाँदा केटाकेटीहरुको खेल्ने थलो नै यो पुल भएकोले कुनैपनि समयमा पुलबाट खस्ने डरले अभिभावकहरुलाई पिरोल्ने गरेको छ। यो पुलबाट जोखिम मोलेरै म्याङलुङमा लाग्ने शुक्रबारे हटियामा पाँचथरका साविक गाविसहरु यासोक, रानिगाउँ र स्वाब्रुम्बाबाट  खाद्यान्न बिक्री गर्न किसानहरु साप्ताहिक रुपमा आउने गर्दछन्।

०३५ सालमा स्थापना भएको करिब १ सय ३५ मिटर लामो झोलुङ्गे पुलबाट अहिले चौपाया र साना सवारी साधन समेत तार्ने गरिएको छ। नदीमा मोटरेबल पुल नहुँदा मोटरसाईकलमा यात्रा गर्नेहरु जोखिम मोलेर यही पुलबाट हिड्दा पुलको जाली समेत च्यातिएपछि समस्या भएको म्याङलुङ नगरपालिका १ का वडाध्यक्ष ईन्द्र तुम्बाहाङफेले बताए। उनले यो पुलको मर्मत गर्ने जिम्मा तत्कालिन जिविस तेह्रथुम र जिविस पाँचथरको भएपनि अहिले कस्ले मर्मत गर्ने भन्ने बिषयले गर्दा पुल जिर्ण बन्दै गएको सुनाए।

पाँचथरको साबिक स्याबु्रम्बा र म्याङलुङको सिमाना सम्म मोटरबाटो निर्माण भई सकेपछि यहाँ दैनिक बनभोजका लागि समेत आउनेहरुको घुइँचो हुने गरेको छ। पुल जिर्ण बन्दा यहाँ बाटो हिड्ने बटुवाहरु मात्र हैन घुम्न आउने आन्तरिक पर्यटकहरु समेत जोखिममा परेका छन्। पुलको तारजाली च्यातिएकोले कुनै पनि समयमा फोटो खिच्ने ब्यक्ती समेत दुर्घटनामा पर्ने सम्भावना बढेको जानकारहरुले बताएका छन्। पुल जिर्ण भएकाले अब तेह्रथुम र पाँचथरका जिल्ला प्राबिधिक कार्यालयले समयमै चासो दिनुपर्ने स्याब्रुम्बाबासीको सुझाब छ।

प्रकाशित: १ माघ २०७४ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App