७ वैशाख २०८१ शुक्रबार
अर्थ

म्याग्दीका ६७ किसान सम्मानित

म्याग्दी – कृषि विकास कार्यालय म्याग्दीले जिल्लाका किसानलाई सम्मान गरेको छ। छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत्त कृषि प्रर्दशनी मेलामा खाद्य, तरकारी, फलफुल, दलन–तेलन, माछा–हाँस, अन्न र विविध गरी ७ वटा समूहलाई सम्मान गरिएको हो।

सोमबार कृषि विकास कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, जिल्ला समन्वय समितिका सुचना अधिकृत पदम भण्डारीले नगद र प्रमाणपत्रले सम्मान गरेका थिए। कार्यक्रमको अवसरमा कृषि विकास अधिकृत रिजालले जिल्लाका किसानको मेहनतको उचित मुल्याङ्कन भइरहेको बताए। ‘कृषिमा गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने प्रमाण प्रशस्तै छन्। कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूलाई स्थानीय तहमा प्राथमिकता दिनुपर्छ’ रिजालले भने। कृषकले पुरस्कार संगै आफ्नो मेहनत प्रदर्शन गरेको उनले बताए।

उनले बेनी नगरपालिका र पाँचवटा गाउँपालिकाले किसान लक्षित योजनाहरूमा आवश्यकता अनुसारको बजेट विनियोजनाका लागि समेत आफ्नो प्रयास भइरहेको बताए। सोही अवसरमा म्याग्दी महोत्सव मुल आयोजक समितिका संयोजक एवम् म्याउवा संघका अध्यक्ष कर्माचार्यले जिल्लाका उत्पादनलाई बजारीकरणका लागि महोत्सवले प्राथमिकता दिएको बताए। ‘महोत्सवमा हरेक स्थानीय तहको स्टल राखिएको छ। ठाउँ विशेष उत्पादनको पहिचान भएकाले बजारीकरणमा समस्या छैन’ कर्माचार्यले भने। उनले निजी क्षेत्रबाट समेत जिल्लामा पर्यटन, जलविद्युत र कृषिलाई विशेष प्राथमिकता दिएको बताउँदै एक गाउँ एक उत्पादन अन्तर्गत टिम्बुर खेती विस्तार गरी कृषकको आयआर्जनमा सहयोगी भूमिका खेलेको बताए।

गत पुष २८ देखी माघ १ गतेसम्म गरिएको प्रर्दशनीमा जिल्लाका २०१ कृषकले सहभागिता जनाएका थिए। प्रदर्शनीमा काउली तर्फ पदम बहादुर कार्की, आलुमा मन बहादुर बुढाथोकी, अदुवा गिरेन्द्र बानियाँ, मुला चन्द्र बहादुर कार्की, माछा प्रेम बहादुर कुँवर, केरामा सोवित शर्मा, सिमीमा टेक बहादुर पुर्जा, धानमा धनप्रसाद सापकोटा र तरुलमा गंगा चोखाल प्रथम भएका थिए। प्रर्दशनीबाट छनौट गरिएकालाई प्रथम, द्धितिय, तृतिय र सान्तवना गरी ६८ जनालाई सम्मान गरिएको बागबानी विकास अधिकृत भोज बहादुर थापाले बताए। प्रर्दशनीमा सहभागी कृषकले स्थानीय तहको कार्यान्वयन भएपनि कृषिमा विगतको तुलनामा कम बजेट र सास्ती धेरै रहेको गुनासो गरेका थिए।

प्रकाशित: १ माघ २०७४ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App