६ वैशाख २०८१ बिहीबार
राजनीति

मुलुकको ध्यान आर्थिक विकासमा : उपराष्ट्रपति पुन

काठमाडौँ (रासस)- उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन्।

आज भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०७४’ कार्यक्रममा उनले स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधानको पूर्ण कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजाने बताए।

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका क्रममा असमझदारी, असन्तुष्टि रहेको उल्लेख गर्दै राजनीतिक दलहरु ती असमझदारी असन्तुष्टि हटाउने प्रक्रियामा रहेको धारणा राखे।

“मलाई विश्वास छ, दलहरु चाँडै नै एउटा सकारात्मक निष्कर्षमा पुगेर देशलाई निकास दिनेछन्”, उनले भने, “समय र सन्दर्भ ख्याल राख्ने छन् भन्ने पनि पूर्ण विश्वास छ।”

उनले हिजो राजनीतिक संघर्षमा एकताबद्ध भएर लागेका दलहरु त्यसरी नै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी भएको धारणा राखे।  

उनले नेपालका आदिवासी जनजातिहरु आफ्नो पहिचान, पहुँच र अधिकारका लागि निरन्तर संघर्षमा रहेको उल्लेख गरे।

सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायबीचको एकताबाट मात्रै बलियो राष्ट्रिय एकता सुदृढ हुन सक्नेमा उनको जोड थियो ।

उपराष्ट्रपति पुनले हाम्रो देश नेपाल प्राकृतिकरुपमा विश्वकै सुन्दर देश रहेको चर्चा गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायको सम्मिश्रित बसोबासले नेपाललाई झनै सुन्दर बनाएको बताए।

“सुन्दर प्रकृति र माघे सङ्क्रान्तिलगायत हाम्रा साझा मौलिक संस्कृतिको समायोजनबाट नेपाल प्रकृति र संस्कृतिको विश्वकै धनी देश बनेको छ । यो हाम्रा लागि निकै नै गौरवको कुरा हो”, उनले भने।

उपराष्ट्रपति पुनले समृद्ध नेपाल निर्माण र राष्ट्रिय एकताका लागि मगर समुदायको ठूलो भूमिका हुने बताए।

मगर समुदायको इतिहास निकै नै गौरवपूर्ण रहेको भन्दै उनले आधुनिक नेपाल राष्ट्रको निर्माणमा होस् या वर्तमानका राजनीतिक उपलब्धि प्राप्त गर्न होस्, दुवै संघर्षमा मगर समुदायले अग्रभागमा वीरतापूर्वक लडेको चर्चा गरे।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक शासन व्यवस्थाजस्ता ऐतिहासिक उपलब्धि प्राप्तिका लागि भएका जनयुद्धलगायत ऐतिहासिक संघर्षमा सबैभन्दा धेरै मगर समुदायको रगत बगेको उनको भनाइ थियो ।

 

 

प्रकाशित: १ माघ २०७४ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App