५ वैशाख २०८१ बुधबार
अर्थ

टेलिकमका सेयरधनीले पाए प्रतिसेयर ५५ रुपैयाँ लाभांश

काठमाडौं- नेपाल टेलिकमका सेयरधनीहरूले प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश पाउने भएका छन् । आइतबार टेलिकमले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दैै आर्थिक वर्ष २०७३÷७४ को मुनाफा रकममध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त सभाले कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

सेयरधनीलाई लाभांश रकम आगामी माघ २ गतेदेखि उपलब्ध गराउने टेलिकमले जनाएको छ । यो लाभांश रकम अहिलेसम्म वितरण गरिएको लाभांश रकममध्ये सबैभन्दा बढी हो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले साधारण सभामा उपस्थित सेयरधनीलाई स्वागत गर्दै कम्पनीको १०औं वार्षिक प्रतिवेदन पेस गरेका थिए । कम्पनीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको उनले बताए । अधिकारीले आगामी दिनमा सेयरधनीलाई अझ बढी प्रतिफल दिने उद्देश्यका साथ कम्पनीलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।  

अधिकारीले आर्थिक वर्ष २०७३-७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड कायम राख्न कम्पनी सफल भएको र गत आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाख नाघेको बताए ।
चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा देशैभरि विस्तार गर्न गरिएको टेन्डरमा परेका प्रस्तावहरु मूल्यांकनको प्रक्रियामा रहेको टेलिकमले जनाएको छ । त्यसैगरी, पुराना प्रविधिका पिएसटिएन (ल्यान्डलाइन) टेलिफोन सेवाको गुणस्तर वृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्ने कार्यको सुरुवात गरिएको र यस प्रविधिअन्तर्गतका एक्सचेन्जहरूमा शतप्रतिशत एडिएसएल सेवाको क्षमता हुने भएकोले ग्राहकको मागअनुरुप एडिएसएल लाइन उपलब्ध गराउनसमेत सम्भव हुने जानकारी गराइएको छ । 

रणनीतिक साझेदारको नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरूमा परामर्श तथा सहजीकरणको लागि परामर्शदातासँग सम्झौता गरी यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको अधिकारीले जानकारी गराए ।

प्रकाशित: १ माघ २०७४ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App