७ वैशाख २०८१ शुक्रबार
अर्थ

निजी क्षेत्रको शिक्षामा पाँच खर्ब लगानी

काठमाडौं - निजी शैक्षिक सञ्चालकहरुले विद्यालय शिक्षामा हालसम्म पाँच खर्ब रुपैयाँ लगानी गरेका छन् । उनीहरुले विद्यालयको भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतमा पाँच खर्ब रुपैयाँ लगानी गरेका हुन् । निजी विद्यालयहरुको वार्षिक कारोबार (विद्यार्थीबाट उठेको शुल्क ) दुई खर्ब रुपैयाँ पुगेको छ  ।  

निजी विद्यालय सञ्चालकहरुको साझा संस्था निजी तथा अवासीय विद्यालय अगनाइजेसन (प्याब्सन) का सचिव मधु लोहनीले हालसम्म विद्यालयहरुले भौतिक पूर्वाधारलगायतमा पाँच खर्ब रुपैयाँ लगानी गरिसकेको जानकारी दिए । ‘भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतमा यो लगानी गरिएको हो,’ लोहनीले भने ।

प्याब्सनको तथ्यांकका अनुसार देशभर करिब आठ हजार निजी विद्यालय सञ्चालनमा छन् । यसमा प्रारम्भिक बाल कक्षादेखि १२ कक्षासम्म १८ लाख विद्यार्थी अध्ययनरत छन् । निजी विद्यालयले शिक्षक, कर्मचारी, चालक, कुचिकारलगायत साढे दुई लाख जनालाई रोजगारी दिएका छन् । सरकारी विद्यालयमा भने हाल ६२ लाख विद्यार्थी अध्ययनरत छन् ।  

‘हाम्रो लगानी विद्यालयको दर्तासाथै भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवास्थापन, क्षमता विकास, सूचना तथा प्रविधि विकासलगायतमा हो,’ सचिव लोहनीले बुधबार नागरिकसँग भने, ‘करिब एक खर्ब २० अर्ब रुपैयाँ शिक्षक कर्मचारीको व्यवस्थापनमा लाग्छ ।’

आन्तरिक राजस्व विभागका उप महानिर्देशक यज्ञ ढुँगेललेका अनुसार देशभरका निजी विद्यालयबाट आर्थिक वर्ष ०७३÷७४ मा ४२ करोड ६३ लाख ३३ हजार रुपैयाँ शिक्षा सेवा करबापत संकलन भएको छ । शिक्षा सेवा कर अभिभावकले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सचिव लोहनीका अनुसार पछिल्लो समय निजी शैक्षिक संस्थाहरु अन्तर्राष्ट्रिय विद्यालयसँग सहकार्य गर्न थालेका छन् । सहकार्यका कारण नेपाली विद्यार्थीले अन्य देशका कला, संस्कृति, भेषभूषा, भाषा, रितिरिवाजलगायत विषय वस्तुबारे जान्न पाउने र एकापसमा सेयर गर्ने मौका पाएका छन् । ‘आजका विद्यार्थीहरु १० वर्षपछि अन्र्राष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्तिको रुपमा विद्यालयमै तयार हुन्छन्,’ सचिव लोहनीले भने ।

प्याब्सन सदस्य पवित्रा लिम्बुले नेपालमा खुलेका राम्रा निजी विद्यालयले अन्तर्राष्ट्रिय स्तरमै राज्यलाई चिनाएको दाबी गरिन् । हाल नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम रहेको र त्यसैअनुसार पठनपाठन भएको जानकारी दिइन् ।

नेपाल मन्टेस्वरी एसोसिएसनका अध्यक्षसमेत रहेकी लिम्बुले निजी शिक्षालय सञ्चालकहरु समय र आवस्यकता अनुसार शिक्षामा सुधार गर्दै जाने भएकाले उपलब्धि राम्रो हुने गरेको बताइन् ।  
ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्कीले निजी शिक्षालयले खर्बौ लगानी गरे अनुसार शैक्षिक उपलब्धि भएको दाबी गरे । निजी शैक्षिक सञ्चालकले खर्बौ लगानी गरेर राज्यको विकासमा सहयोग गरेको भन्दै उनले राज्यले निजी क्षेत्रको लगानीको प्रत्याभूति गर्नुपर्ने माग राखे ।

‘राज्यको कुल विद्यालय शिक्षाको नतिजा हेर्ने हो भने निजी क्षेत्रका विद्यार्थीको ९० प्रतिशत रिजल्ट छ । सरकारको शैक्षिक बजेटको २२–२४ प्रतिशत लगानीमा हाम्रो योगदान छ,’ अध्यक्ष कार्कीले भने, ‘समग्र नतिजा राम्रो बनाउन निजी विद्यालयकै योगदानकै कारण दातृ निकायले सरकारी लगानी गरिरहेका हुन् ।’

प्रकाशित: १ माघ २०७४ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App