७ वैशाख २०८१ शुक्रबार
अर्थ

चीनबाट एक सातासम्म सामग्री आयात नहुने

रसुवा- चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएकोे छ । माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने भएको हो ।

सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनरमा आइतबारसम्म सिल लगाइएको छ । आज सिल लगाइएका कन्टेनर भोलि साँझसम्ममा नेपाल आइसक्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

सामग्री बोक्ने कन्टेनर सञ्चालन नभएपनि पर्यटक बोक्ने सवारी तथा नागरिकलाई आवतजावत गर्न समस्या नहुने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए । केरुङमा ल्होसारको समयमा भन्सारको काम ठप्प हुने भएपछि त्यहाँ पुगेका व्यवसायी पनि नेपाल फर्कने तयारीमा रहेका छन् ।

व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार केरुङमा रहेका व्यापारी, व्यवसायी र चालक नेपाल फर्कन सुरु गरिसकेका छन् । उनले भने, ‘यहाँ अब सात–आठ दिन काम हुँदैन, त्यसकारण हामी पनि फर्कन लागेका छौं ।’ चिनियाँ भन्सार बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।
रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । २०७१ देखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ । त्यस्तै नेपालबाट हस्तकला सामग्री, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायत सामग्री निर्यात हुने गरेको छ ।


 

प्रकाशित: १ माघ २०७४ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App