५ वैशाख २०८१ बुधबार
अन्य

सेना पुलिस सफाइमा अरुचाँही सेल्फी र रमितामा

शंखमूल मनोहरा दोभानमा गत शनिबार बिहानै केही गाडी र मोटरसाइकल रोकिए । गाडी र बाइकमा आएकाको हुल बढ्दै जाँदा समूह ठूलै बन्यो। 

आफ्नै ट्रकमा बसेर नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोली पनि आइपुग्यो । विभिन्न संघसंस्थाको ब्यानर बोकेका तथा आफ्नो संस्थाको लोगो अंकित ज्याकेट र क्याप लगाएर आउनेहरू पनि समूहमा मिसिए। 

कोही माइकिङ गर्न थाले भने कोही पन्जा र मास्क बाँड्न । प्रहरीका जवान गमबुट लगाएर बाग्मतीभित्र पसेर फोहोर खोतल्न थाले । सेना र ससस्त्र प्रहरीका जवान भने लाइनमा बसेर प्रहरीले नदीबाट दिएको फोहोर करिडोर सडकमा रोकिएका फोहोर बोक्ने गाडीमा राख्न थाले। 

चिसो बिहानीमा सेना, प्रहरी र ससस्त्र जवान एवं अधिकृतहरू फोहोर उठाउन तल्लिन भइरहेका बेला नदी किनारामा उपस्थित विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि र कर्मचारी भने सेल्फी खिँच्न थाले। 

शनिबार सेना, प्रहरीबाहेक बैंक, विद्यालय, योग केन्द्र, गैससलगायत २५ वटा संघसंस्थाका प्रतिनिधि र कर्मचारी गरि करिब पाँच सय जति बाग्मती सफाइ गर्न भन्दै शंखमूल दोभानमा उपस्थित भएका थिए, तर गैरसरकारी संस्थाको ब्यानर बोकेका र क्याप एवं ज्याकेट लगाएका दुई–चार जना बाहेक अरु नदी किनारासम्म पनि पुगेनन् । छेउमा बसेर ‘फोटोसेसन’ गराउनमै तल्लिन भए । 

शनिबार सेना, प्रहरीबाहेक बैंक, विद्यालय, योग केन्द्र, गैससलगयायत २५ वटा संघसंस्थाका प्रतिनिधि र कर्मचारी गरि करिब पाँच सय जति बाग्मती सफाइ गर्न भन्दै शंखमूल दोभानमा उपस्थित भएका थिए, तर गैरसरकारी संस्थाको ब्यानर बोकेका र क्याप एवं ज्याकेट लगाएका दुई–चार जनाबाहेक अरु नदी किनारासम्म पनि पुगेनन् । छेउमा बसेर ‘फोटोसेसन’ गराउनमै तल्लिन भए। 

केही व्यक्तिबाहेक अधिकांश गैरसरकारी संघसंस्थाका मानिसहरू हातमा पन्जा र मुखमा मास्क लगाएर सडकतिरै घुमिरहे । उनीहरूको ताल देख्दा लाग्यो, बाग्मती सफाइका नाममा नदी किनारा पुगेका उनीहरू रमिता हेर्न र सेल्फी खिँच्न आएका हुन् । धेरैले सेना र प्रहरीले गरेको सफाइलाई पृष्टभूमिमा राखेर धमाधम तस्बिर लिइरहेका थिए । कतिपय भने तस्बिर लिनकै लागि मात्र नदीमा प्रवेश गरेका थिए। 

बाग्मती सफाइ अभियानको दुई सय ४४ औं सातामा देखिएको यो दृश्यले नेपालमा गैरसरकारी संस्थाहरू विशेषगरी एनजिओले कसरी काम गर्छन् भन्ने झल्को समेत दिइरहेको देखिन्थ्यो। 

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको उपस्थिति पुस्तिकामा गत शनिबार २५ संघसंस्थाबाट पाँच सय जनाको उपस्थिति रहेको देखिन्छ । समितिको विवरण अनुसार नेपाली सेनाबाट ७७ जना, ससस्त्र प्रहरीबाट ५५ जना र नेपाल प्रहरी ३० जनाको उपस्थिति रहेको थियो । बाँकी भने विभिन्न संघसंस्थाबाट आएका थिए । त्यसदिन करिब ६ टन फोहोर संकलन भएको समितिको तथ्यांक छ । त्यसमध्ये सबैभन्दा धेरै सेना र प्रहरीले संकलन गरेका थिए। 

बाग्मती प्रदूषित बन्दै गएपछि २०७० जेठ ५ गते शनिबारदेखि नागरिक तहबाट साप्ताहिक रूपमा बाग्मती सफाइ अभियान सुरु गरिएको हो । त्यसयता प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म नागरिक तहबाट स्वतःस्फूर्त रूपमा बाग्मती सफाइ अभियान चलिरहेको छ। 

नागरिकलाई साथ दिन नेपाली सेना, प्रहरी र विभिन्न संघसंस्था अभियानमा सहभागी हुन्छन्, तर पछिल्लो समय अभियान सुस्ताउँदै गएको छ । विभिन्न गैरसरकारी संस्थाले बाग्मती सफाइको नाममा बजेट छुट्ट्याउँदै अभियानमा सहभागी भए पनि सफाइमा ध्यान भने दिने गरेका छैनन्। 

सफाइ गरेको तस्बिर लिने र आफ्ना प्रगति विवरणमा हाल्ने मात्र होइन, सामाजिक संजाल रंग्याउनकै लागि मात्र सफाइ अभियानमा जानेहरू समेत देखिएका छन्। 

‘बाग्मती सफाइ अभियानमा पुग्ने सबै तस्बिर लिन र रमिता हेर्नैमा व्यस्त हुन्छन् भन्नेचाँही होइन,’ सफाइ अभियान्ता एवं पूर्वसचिव किशोर थापा भन्छन्, ‘केहीका लागि भने रमिता हेर्ने र तस्बिर खिँच्ने ठाउँ भने पक्कै बनेको छ।’ 

उनी सफाइ अभियानमा जाने सबैले फोहोर नटिपेकोमा चिन्ता नलागेको बताउँछन् । ‘बाग्मती सफाइमा आएर फोहोर नटिपेर रमिते बन्नु तथा सेल्फी खिँचेर फर्किनु केही नराम्रो होइन,’ उनले भने, ‘झन् खुसी पो लाग्छ, कम्तीमा बाग्मतीलाई पृष्ठभूमि बनाउँदै सेल्फी खिँचेर सामाजिक संजालमा प्रचार गर्ने ठाउँ त बनाउन सकियो भनेर।’ 

बाग्मती सफाइ अभियानको चार्म घटेको भने उनी स्वीर्काछन् । ‘पहिला लिलामणि पौडेल मुख्यसचिव हुँदा जुन खालको चार्म थियो, त्यो अहिले घटेको छ,’ उनले भने, ‘अहिले शनिबार उपत्यकाका अन्य नदीमा पनि सफाइ अभियान चलिरहेको छ ।’ उनी स्वर्तःस्फूत रूपमा आउनेहरू घर नजिकै पायक पर्ने नदीमा जाने गरेकाले पनि बाग्मतीमा कम मान्छे आउन थालेको दाबी गर्छन्। 

स्थानीय नै सहभागी हुँदैनन् 
बाग्मती सफाइ अभियानमा स्थानीयवासी नै सहभागी नहुने गरेको गुनासो अभियन्ताको छ । ‘चासो त यहाँका स्थानीयले दिएर सफाइ अभियानमा आउनुपर्ने हो,’ बाग्मती अभियन्ता रामकृष्ण पन्थीले भने, ‘घरनजिकै सफाइ अभियान चलिरहेको छ, तर यहाँका स्थानीयको उपस्थिति नै छैन ।’ त्यसो त बाग्मती सफाइ अभियानमा स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिको पनि उपस्थिति छैन । ‘बाग्मती सफाइमा सबै जना लाग्नुपर्छ,’ अभियन्ता माधव पुडासैनीले भने, ‘जनप्रतिनिधिको त झनै उपस्थिति हुनपर्ने भए पनि सफाइ अभियानमा कहिल्यै देखेका छैनौँ ।’ 

प्रकाशित: १ माघ २०७४ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App