८ वैशाख २०८१ शनिबार
कला

फिल्ममा ‘पन्डित बाजेको लौरी’

काठमाडौं –ग्रामीण भेगमा प्रचलित पन्डित्याँई संस्कृतिलाई प्रमुख विषय बनाएर फिल्म ‘पन्डित बाजेको लौरी’ निर्माण हुने भएको छ ।

अध्रित फिल्मस्को व्यानरमा दीपक ओलीले निर्देशन गर्ने फिल्मको आइतबार राजधानीमा घोषणा गरिएका छ।निर्देशक दीपकले फिल्मले पन्डित पात्रमार्फत सामाजिक विषयलाई उठान गरेको  बताए । ‘फिल्मले गाउँमा चलनचल्तीमा रहेको पन्डित्याँई प्रथालाई देखाउनेछ,’उनले भने,‘पन्डितको प्रवद्र्धनभन्दा पनि उसले समाजमा गर्ने कामको कथालाई चित्रण गरिनेछ ।’

फिल्ममा पन्डितको भूमिकामा देखिन लागेका कलाकार भोलाराज सापकोटाले फरक चरित्रका लागि फिल्ममा काम गरेको खुलाए । ‘फिल्मको स्क्रिप्ट पढ्दा फरक किसिमको चरित्र पाइन्छ जस्तो लाग्यो,’सापकोटाले भने,‘फिल्मको नामले नै मेरो भूमिका कस्तो छ भन्ने दर्शकले थाहा पाउनेछन् ।’

अर्का कलाकार प्रविण खतिवडाले आफू पनि पन्डितकै भूमिकामा फिल्ममा देखिने बताए । ‘अहिलेको समाजमा बाहुनवादी मुद्धा हाबी भइरहँदा यो फिल्मको कथाले यो प्रवृत्तिलाई व्यंग्य गर्ने प्रयास गरेको छ ’उनले भने,‘मेरा लागि पनि यो भूमिका नौलो छ ।’

फिल्मका लेखक महेश दवाडीले फिल्मले सानो गाउँ भित्र बस्ने पन्डितको कथालाई समेटेको बताए । ‘हामीले सामाजिक विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गर्नेछौं,’महेशले भने,‘गाउँघरमा देखिएका विषय भएकाले पनि दर्शकका लागि यो चासोको फिल्म हुनेछ ।’निर्माता थमनकुमार भण्डारीले आफ्ना लागि फिल्म क्षेत्र नयाँ भएकाले फिल्म कस्तो बन्छ भन्ने कुरा निर्देशकमा भर परेको बताए ।

माघ २० गतेबाट फ्लोरमा जाने फिल्ममा भोलाराज सापकोटा, प्रविण खतिवडा, प्रमोद अग्रहरी, विजय बराल, सन्ध्या केसी, मरिष्का पोखरेल, लोकेन्द्र लेखक, विशाल पहारी र कुलदिप अधिकारीको अभिनय रहनेछ ।
आगामी वर्षको भदौमा रिलिजको योजना बनाइएको फिल्ममा विक्रम स्वार र दीपकमान सिंहको नृत्य, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत, मित्र डी गुरुङको सम्पादन र विदुर पाण्डेको छायांकन रहनेछ ।

 

प्रकाशित: १ माघ २०७४ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App