coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसमा केन्द्रीय समिति बैठक माग

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । 
पौडेल पक्षीय युवा केन्द्रीय सदस्यहरुको सक्रियतामा आइतबार राजधानीमा भएको भेलाले सभापति देउवाले बैठक बोलाउन विलम्ब गरेर हस्ताक्षर अभियान चलाउने निष्कर्ष निकालेको छ।

नवीन्द्रराज जोसी, दीपक गिरी, कमला पन्त, रामकृष्ण यादव, धनराज गुरुङ, गोविन्द भट्टराई, सरिता प्रसाई, बद्री पाण्डे, जीवन परियार, कल्याण गुरुङ, किरण यादवसहितका केन्द्रीय सदस्यले सभापतिसँग छलफल गरेर बैठकको मिति तय गर्ने जिम्मेवारी नेता पौडेल र महामन्त्री शशांक कोइरालालाई दिएका छन् । मौखिक आग्रहका आधारमा सभापतिले बैठक नबोलाए हस्ताक्षर अभियान चलाउने निष्कर्ष उनीहरुले निकालेका छन् । उनीहरुले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार टुंगो केन्द्रीय समितिबाटै लगाउनुपर्ने माग गरेका छन्।

‘निर्वाचन परिणामपछि निराश कार्यकर्तालाई उत्साहित बनाउन र पार्टी संगठनलाई मजबुत बनाउन गुटभन्दा माथि उठेर बहस थाल्छौं । त्यसका लागि तत्काल केन्द्रीय समिति बैठक आवश्यक छ ।’
नवीन्द्रराज जोशी, केन्द्रीय सदस्य

तेह्रौं महाधिवेशनबाट निर्वाचित नौ केन्द्रीय सदस्यले सम्पन्न निर्वाचनमा कुनै भूमिका नपाएको जनाउँदै भेलाले राष्ट्रियसभा निर्वाचनमा उनीहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जनाएका छन् । केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ, गुरुराज घिमिरे, सरिता प्रसाई, कल्याण गुरुङ, सुरेन्द्रराज पाण्डे, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन र बद्री पाण्डे प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा परेका छैनन् । गुरुङ, घिमिरे र प्रसाई प्रदेश एकबाट, कल्याण प्रदेश दुईबाट, सुरेन्द्र, पन्त, धनराज र शेरचन प्रदेश चारबाट र पाण्डे प्रदेश सातबाट प्रतिनिधित्व गर्दछन् । 
त्यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिमसूची पनि केन्द्रीय समितिबाट छान्नुपर्ने उनीहरुको माग छ । भेलाले विधानविपरीत गठित कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने ठहर गरेको छ । विधि र विधानअनुसार दुवै समिति गठन गर्नुपर्ने निष्कर्ष निकाल्दै भेलाले नेताहरुको योग्यता र क्षमताको कदर गर्दै विभाग र अन्य निकायमा जिम्मेवारी दिनुपर्ने माग गरेको छ। 

पार्टी नेतृत्वमा जारी भएको संविधानअनुसार सांगठनिक स्वरूपमा तत्काल परिवर्तन आवश्यक रहेको निष्कर्ष निकाल्दै उनीहरुले पार्टी विधान संशोधन आवश्यक रहेको जनाएका छन् । केन्द्रदेखि गाउँ तहसम्मको संगठनलाई पुर्नसंरचना गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि उनीहरुले पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, सांसद्, पूर्वसांसदहरुसँग छलफल अघि बढाउने भएका छन्।

उनीहरुसँग पार्टीलाई अब कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा राय लिने केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी दिए । ‘पार्टीलाई विधि र विधानअनुसार चलाउनुपर्छ,’ जोशीले भने, ‘निर्वाचन परिणामपछि निराश कार्यकर्तालाई उत्साहित बनाउन र पार्टी संगठनलाई मजबुत बनाउन गुटभन्दा माथि उठेर बहस थाल्छौं ।’ 
त्यसका लागि तत्काल केन्द्रीय समिति आवश्यक रहेको बताउँदै जोशीले भने, ‘विधि र विधानअनुसार सबै संरचना निर्माण गर्नुपर्छ । त्यसविपरीत रहेकाहरु विघटन गरिनुपर्छ।’

युवा नेताहरुले बोलाएको आइतबारको बैठकमा पहिलो पटक केन्द्रीय सदस्य शेखर कोइराला सहभागी थिए भने प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि अनुपस्थित रहेका मीनेन्द्र रिजाल पनि सहभागी थिए।

यसैबीच नेता पौडेलसहितका नेताहरुले केन्द्रीय समितिको बैठकलगायतका विषयमा सोमबार बिहान सभापति देउवासँग छलफल गर्ने भएका छन् । आइतबार नै दुई नेताहरुबीच छलफलको समय तय भए पनि अन्तिम समयमा सोमबार बिहान साढे आठ बजेका लागि भेटको समय तय भएको हो । प्रवक्ता विश्वप्रकाश शर्माले शीर्ष नेताहरुबीचको छलफलपछि बैठकको मिति तय हुने जानकारी दिए । ‘केन्द्रीय समिति बैठक राष्ट्रियसभा निर्वाचनपछि सरकार हस्तान्तरण गरेर राख्ने कि त्यसअघि नै राख्ने भन्ने टुंगो लाग्न बाँकी छ,’ शर्माले भने ।  

प्रकाशित: १ माघ २०७४ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App