८ वैशाख २०८१ शनिबार
समाज

सहयोगी आवरणमा यौन दुराचार

काठमाडौं – गैरसरकारी संस्थाका प्रतिनिधि र पर्यटक आवरणमा नेपालमा रहेका विभिन्न देशका नागरिक बाल यौन दुराचारीको आरोपमा फाट्टफुट्ट पक्राउ पर्ने गरेका थिए । पछिल्लो समयमा भने यस्तो आरोपमा पक्राउ पर्ने विदेशीको संख्या बढ्दो छ । 

गत कात्तिक २६ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेदरल्यान्डका हेन्निकुस एड्रिनस जोसेपस क्रुजेसेनलाई पक्राउ गरेको थियो । सोही अभियोगमा शनिबार भोटेबहालमा जर्मन नागरिक हन्स जर्गन गुस्ताव दाहम पक्राउ परेका छन्। 

ब्युरोको प्रारम्भिक अनुसन्धानमा दाहमले बालबालिकालाई सहयोग गर्ने आवरणमा आफ्नो डेरामा लगेर यौन दुराचार गर्ने गरेको खुलेको छ । उनी पर्यटक आवरणमा नेपाल आएर भोटेबहालमा डेरा लिएर बस्दै आएका थिए । उनले सहयोगीका रुपमा बालबालिकालाई राख्ने गरेका थिए । यसरी राखिएका बालबालिकामध्ये बालकलाई यौन दुराचार गरेको सूचनाका आधारमा दाहमलाई ब्युरोले पक्राउ गरेको हो।

भोटेबहालमा डेरा गरी बस्ने जर्मन नागरिक बाल यौन दुराचार आरोपमा पक्राउ

प्रारम्भिक अनुसन्धानमा उनले सहयोगको आवरणमा बालबालिकालाई आकर्षित गरेर यौन दुराचार गर्ने गरेको देखिएको छ,’ ब्युरोका प्रवक्ता जीवन श्रेष्ठले भने, ‘केही बालक यौन दुराचारको सिकार भएका छन्।’

ब्युरोले पक्राउ गरेका अधिकांश विदेशीले बालबालिकालाई सुरुमा सहयोग गरेर आफू निकट ल्याउने र त्यसपछि होटल तथा डेरामा राखेर यौन दुराचार गर्ने गरेको देखिन्छ।

कात्तिकमा पक्राउ परेका नेदरल्यान्डका क्रुजेसेन तीनमहिने पर्यटन भिसामा त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै कोटेश्वरको एक होटलमा पुगेका थिए । ब्युरो उनी बसेको होटलको कोठामा पुग्दा १३ वर्षीय बालकसमेत फेला परेका थिए। 

६३ वर्षीय जर्मन नागरिक दाहमले बालबालिकालाई डेरामा ल्याएर दिनभर खेलाउने तथा खाना र खाजा खुवाउने गरेका थिए । केही बालक उनको डेरामा बेलुकासँगै बस्ने गरेका थिए । सहयोगको आसमा उनको सम्पर्कमा आएका बालकलाई उनले प्रलोभनमा पारेर यौन दुराचार गर्दै आएको श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार उनी धेरै पटक नेपाल आएको देखिएकाले उनीबाट धेरै बालक पीडित भएका हुन सक्छन् । उनी भिसाको म्याद सकिएपछि नेपालबाहिर जाने र फेरि पर्यटकका रुपमा नेपाल आएर भोटेबहालमा बस्ने गरेको देखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रहरीले उनीमाथि यौन दुराचारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा पेस गरेर ७ दिनको म्याद लिएको छ।

शनिबार पक्राउ परेका दाहमसहित गत वैशाखतिा काठमाडौंमा चार बाल यौन दुराचारी पक्राउ परिसकेका छन् । ब्युरोले यसअगाडि असारमा अस्ट्रियन नागरिक र भदौमा जर्मन नागरिकलाई पक्राउ गरेको थियो । कात्तिकमा नेदरल्यान्डका क्रुजेसेन पक्राउ परे । दाहम आफ्नै डेरामा पक्राउ परेका हुन् । क्रुजेसन कोटेश्वरको होटलमा पक्राउ परेका थिए । अन्य बाल यौन दुराचारी ठमेलका विभिन्न होटलमा पक्राउ परेका थिए। 

२०७४ भदौमा पक्राउ परेका अस्ट्रियन नागरिक मार्कुस किन्डलर ठमेलको एक होटलमा एक बालकसहित फेला परेका थिए । २०७४ असार १५ मा पक्राउ परेका जर्मन नागरिक अल्बर्ट फ्रड क्लिनिकेसमेत ठमेलमा १४ वर्षीय बालकसहित फेला परेका थिए । नेदरल्यान्डका माइसेन हेन्ड्रिक, २०७१ मा पक्राउ परेका क्यानडाका अर्नेस स्याम्बिक  म्याकेन्टस ठमेलमै फेला परेका थिए। 

ब्युरोले गत वर्ष भदौमा अमेरिकी नागरिक किन्नेथ जोसेफ कम्बोसलाई ३ बालकसहित ठमेलमा पक्राउ गरेको थियो। प्रहरीले कम्बोससँगै उनका सहयोगीको आरोपमा नेपाली युवा बुद्ध पतुवारलाई समेत पक्राउ गरेको थियो। 
‘पछिल्लो समय यौन दुराचारमा संलग्न विदेशी पक्राउको क्रम बढेको छ,’ ब्युरो प्रवक्ता श्रेष्ठले भने, ‘ब्युरोले यस्ता घटनामाथि निगरानी बढाएको छ।’

प्रकाशित: १ माघ २०७४ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App