काठमाडौं -आर्यन सिग्देलले फिल्म ‘धुवाँ यो नशा’लागि ६ लाख पारिश्रमिक लिएको कुरा बाहिरिँदा धेरैले जिब्रो टोकेका थिए । आर्यन सिग्देलले धेरै भयो अरुको प्रडक्सनका फिल्म खेलेका छैनन् तर पछिल्लो समय रिलिज भएको फिल्म ‘रुद्रप्रिया’मा उनले १५ लाख पारिश्रमिक लिएको चर्चा छ ।
७ वर्षअघि दयाहाङ राईले ‘दासढुंगा’मा अभिनय गर्दा जम्मा ३० हजार पारिश्रमिक पाएका थिए । २०६८ सालमा ‘लुट’ र त्यसको दुई वर्षपछि प्रदर्शनमा आएको ‘कबड्डी’ को सफलतासँगै दयाहाङको पारिश्रमिक बढेर अहिले १८ लाख पुगेको छ । भर्खरै सुटिङ सकाएको फिल्म ‘भैरे’मा उनले सो पारिश्रमिक पाएको बताइएको छ । यसअघि उनले आफ्नै अभिन्न मित्र रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘मिस्टर झोले’मा १३ लाख लिएको स्रोत बताउँछ ।
फिल्मका लागि पारिश्रमिक बढाउने मामलामा अनमोल केसी सबैभन्दा अगाडि छन् । ‘होस्टल’मा दुई लाख हाराहारीमा फिल्म खेलेका उनले पछिल्लो समय ५० लाख तिर्ने निर्मातालाई समेत फर्काउँदै आएका छन् । रिलिजको संघारमा रहेको फिल्म ‘कृ’मा २० लाख पारिश्रमिक लिएको कुराले एक समय राम्रै तरंग ल्याएको थियो । बजारमा चलेका सौगात मल्ल र प्रदिप खड्काको पनि पारिश्रमिक तेब्बर चौब्बर भएको छ ।
दुई वर्षअघि ‘ड्रिम्स’मा १ लाख पनि नपाएकी साम्राज्ञीराज्य लक्ष्मी शाहले ‘कायरा’मा १० लाख लिएकी छिन्।
कलाकार मात्र होइन, आफ्नो भाउ बढाउनेमा निर्देशक पनि अगाडि देखिएका छन् । दीपेन्द्र के खनालले माधव वाग्लेले निर्माण गर्न लागेको फिल्म ‘चंगा चेट’का २५ लाख लिएको आफैंले कबोलेका छन् भने निश्चल बस्नेतले पनि निर्माण सुरसारमा रहेको ‘फनफनी’का लागि २५ लाख पारिश्रमिक लिएको बताएका छन् । निर्देशकमध्ये रामबाबु गुरुङ पनि निर्देशनका लागि महंगो पारिश्रमिक लिने निर्देशकमा पर्छन् ।
बजारमा आएका सबै तथ्यांक सही नै हुन् भन्ने छैन तर पछिल्लो समय फिल्ममा संलग्न कलाकारदेखि प्राविधिकसम्मको पैसामा उल्लेख्य वृद्धि भएको कुरालाई नकार्न भने सकिन्न । तर, पछिल्लो समय फिल्मकर्मीले महंगो पारिश्रमिक लिएका समाचार आइरहँदा बजारमा भने उनीहरूले पारिश्रमिक लिए बराबरको रकम आफ्नो काममार्फत फिर्ता दिएका छन् कि छैनन् भन्ने प्रश्न उठ्न थालेको छ ।
निर्माता माधव वाग्ले पटके निर्माताका कारण कलाकार तथा प्राविधिकको भाउ नचाहिँदो गरि बढेको बताउँछन् । उनले बजारमा आए जति रकम कलाकार वा निर्देशकले साँच्चिकै पाउने हो भने निर्माताको हातमा सुको पनि नपर्ने बताउँछन् ।
‘ नयाँ र नबुझेको मान्छे आएर बजारलाई बिथोलिरहेका छन् । कुनै कलाकारलाई २० लाख पनि साँच्चिकै तिर्ने हो भने नेपालको बजारमा फिल्म जतिसुकै चलोस् उठ्न गाह्रो हुन्छ,’ वाग्लेले भने, ‘नेपाली फिल्मले सबैभन्दा बढी सेयर पाउने भनेको क्युएफएक्सबाट हो । यहाँबाट सबैभन्दा बढी चलेको फिल्मको सेयर ८० लाख छ । यदि बजारमा हल्ला भए झैं कलाकारले पैसा पाएको हो भने यो पैसा उसलाई मात्र तिर्दा ठिक्क हुन्छ । अनि निर्माताले के खाने ? ’
अनावश्यक रुपमा बढेको पारिश्रमिकले मौलिक तर साना बजेटका फिल्मलाई सबैभन्दा बढी असर पर्न थालेको छ । पटके निर्माताले स्टारडम नभएका कलाकारलाई पनि प्रशस्त पैसा दिएर अनुबन्ध गर्न थालेपछि मौलिक फिल्म बनाउने निर्माता÷निर्देशक बजारको दबाबका कारण हच्कन थालेका छन् । फिल्म लेखक तथा अस्कर कलेजका प्रिन्सिपल विनौद पौडेलले यसलाई पैसाको भरमा स्टारडम निर्माण गर्ने प्रयत्नको रुपमा अथ्र्याए ।
पैसाको कुरा समाचारमा ल्याएर जबरर्जस्ती स्टारडम सिर्जना गर्ने प्रयास भइरहेको छ । यो स्वाभाविक छैन र लामो समय टिक्छ जस्तो पनि लाग्दैन,’ पौडेलले भने, ‘ पारिश्रमिक भन्ने कुरा उसका अघिल्ला फिल्मले गरेको व्यापारका आधारमा तय हुनु पर्ने हो । तर, यहाँ कलाकार र निर्माता मिलेपछि उसको पैसा जति भन्दिए पनि हुन्छ भन्ने जस्तो छ ।
नेपालले अझै पनि सानो बजेट सिनेमा बनाउन जरुरी छ । ४० लाख ५० लाख भित्र फिल्म सक्ने हो भने उद्योग र निर्माता दुबै टिक्छन् ।’
विनोदले कलाकार तथा प्राविधिकको पैसा बढ्नुलाई राम्रै संकेतको रुपमा लिएका छन् । उनलाई खट्केको भनेको खाली यो वृद्धि प्राकृतिक भएन भन्ने मात्र हो ।
‘पारिश्रमिक बढ्दा लगानी बढ्छ र लगानी बढ्दा निर्मातालाई बजार खोज्ने बाध्यता हुन्छ । यदि यस्तो हुन सक्यो भने चाहिँ भाउ बढेको ठिकै हो होइन भने यो समग्र उद्योगका लागि प्रत्युत्पादक हुन सक्छ,’ पौडेलले भने ।
निर्माता छविराज ओझा पारिश्रमिक दिने मामलामा किफायती निर्माता मानिन्छन् । कलाकार तथा प्राविधिकलाई ठिकै पारिश्रमिक दिने तर फिल्मभित्र भने पैसा खर्चन नहिच्किचाउने उनको छवि छ । तर, ओझालाई पारिश्रमिक सम्बन्धि आएका समाचार ‘स्टन्ट’ मात्रै लाग्ने गरेका छन् । ‘९० प्रतिशत समाचार फिल्मलाई चर्चामा ल्याउने उद्देश्यले आएका छन् । १० प्रतिशतले भने घाँटी नहेरी हाड पनि निलेका छन् । तर, सबैलाई थाहा छ, हल्लाले मात्र फिल्म चल्दैन । आज जसले हल्ला गरेको छ उ आफैं पनि त्यसको पासोमा पर्छ ,’ ओझाले थपे, ‘अहिले भाउ बढाउनेभन्दा पनि बजार बढाउने बेला थियो । थाहा छैन साथीहरू किन यस्तो झुठो आत्मरतिमा रमाइरहनु भएको छ ?’
कलाकार, निर्देशक वा प्राविधिक भाउ बढ्नु निश्चय नै राम्रो कुरा हो । तर, बिना विश्लेषण र सनकमा भरका बढेको पारिश्रमिकले भने न त कलाकारको अभिनय यात्रा दिगो हुन्छ न त अरुको । वर्षेनी सय फिल्म रिलिज हुँदा जम्मा ३÷४ फिल्मका निर्माताले मात्र मुनाफा कमाएको आँकडा बाहिरीरहँदा निर्माताहरूले साँच्चिकै पैसा दिन चाहेको हो भने बजार पनि बढाउन जरुरी छ ।
प्रकाशित: १ माघ २०७४ ०२:४८ सोमबार