८ वैशाख २०८१ शनिबार
खेल

उपाधि भिडन्तमा एपिएफ र आर्मी

धनगढी – आयोजक सुदूर पश्चिम ११ स्पोर्ट्स क्लबको यात्रा सेमिफाइनलमा रोक्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा आयोजकमाथि २–० को विजयी नतिजा निकालेको एपिएफले सोमबार हुने फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले अघिल्लो दिन सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमाथि ३–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

मध्यान्तरअघि दुवै टोलीले गोलका थुप्रै अवसर खेर फाल्दा गोलरहित बराबरीमा सीमित खेल दोस्रो हाफमा रोचक बनेको थियो । नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर अन्जन विष्टले घरेलु दर्शकलाई स्तब्ध पार्दै ५६औं मिनेटमा गोल गरेपछि एपिएफ खेलमा अघि लागेको थियो । सुदूर पश्चिमका खेलाडीको अन्योलमा फाइदा उठाउँदै एपिएफले अग्रता लिएको थियो । दायाँ भागमा बल मैदानबाहिर गएको सम्झिई घरेलु टोलीका रक्षक अलमलिँदा एपिएफका विंगर युवराज खड्काले क्रसमार्फत अन्जनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

अन्जनले एपिएफलाई अग्रता दिलाएसँगै घरेलु दर्शकले बितन्डा मच्चाउँदा खेल ८ मिनेट अवरुद्ध भएको थियो । बाहिर गइसकेको बललाई गोलमा परिणत गरेको भन्दै घरेलु दर्शकले मैदानमा पानीको बोतल प्रहार गरेपछि रेफ्रीले केहीबेर खेल रोकेका थिए । तर आयोजकले माहोल शान्त पार्दै केहीबेरमै खेल सुचारु गरेको थियो ।

नवीन लामाले एपिएफका लागि समय सकिन १३ मिनेट बाँकी रहँदा गोल गर्दै विभागीय टोलीको जित निश्चित गरे । ६५औं मिनेटमा गोलका लागि पाएको उत्कृष्ट मौकामा चुकेका नवीनले त्यसको शोधभर्ना गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

घरेलु मैदानमा स्थानीय दर्शकको पूर्ण साथ पाएको सुदूरपश्चिम ११ स्पोटर्स क्लबले गोलका लागि  थुपै्र अवसर पाएको थियो । खास गरी थप गरिएको ११ मिनेट इन्जुरी समयमा केही सुन्दर मौका पाए पनि त्यसमा सफल हुन नसक्दा घरेलु टोलीको पुनरागमन लक्ष्य पूरा भएन । एपिएफका लागि दोस्रो गोल गरेका नवीन खेलको म्यान अफ दी म्याच भए । उनले पुरस्कारस्वरूप १० हजार रुपैयाँ पाए ।

१२ टोलीको सहभागितामा पुस २१ बाट सुरु भएको प्रतियोगिताको विजेताले सोमबार ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पर्नेछ । यसै गरी सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले पुरस्कारस्वरूप जनही १५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । नेपाली घरेलु फुटबलमा हुने नकआउट प्रतियोगिताहरूमा सुदूर पश्चिमाञ्चल खप्तड गोल्डकप अहिलेसम्म सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले घरेलु टिमविरुद्धको खेल कठिन भए पनि पहिलो गोलपछि लय मिलेको प्रतिक्रिया दिए । ‘सुरुमा तालमेल मिलिरहेको थिएन । तर गोल गरेपछि हामीले खेलमा लगातार नियन्त्रण राखिरह्यौं,’ महर्जनले भने, ‘सेमिफाइनल खेलेको २४ घण्टाको बीचमा फाइनल खेल्नुपर्ने भएकाले समस्या पक्कै पनि आउनेछ । तर हामी रणनीतिक रूपमा मैदान उत्रिनेछौं ।’

सुदूर पश्चिम ११ का प्रशिक्षक ललित चन्दले रेफ्रीको गलत निर्णयका कारण पराजित हुनुपरेको प्रतिक्रिया दिए । पहिलो हाफको लय कायम राख्न नसक्दा हार भोग्नुपरेको उनको भनाइ थियो । ‘विभागीय टोलीमा राम्रा खेलाडी हुन्छन् । उनीहरू नियमित प्रशिक्षणबाट खारिएका हुन्छन् । तथापि हामीले सुरुमा राम्रो दबाब दिएका थियौं ।

त्यसलाई कायम राख्न सकेनौं, दोस्रो हाफमा तालमेल पनि बिग्रियो,’ चन्दले भने, ‘९ दिनपछि मैदान उत्रिँदा पनि टिम तालमेलमा राम्रो सुरुआत भएको थियो । तर पाएका मौका उपयोग गर्न नसकेपछि हार स्वाभाविक हो ।’


 

प्रकाशित: १ माघ २०७४ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App