७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवाले अनसन तोडाए, चुनाब हुने निश्चित

अनसन तोड्न जुस खुवाउँदै सभापति देउवा

काठमाडौं—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुस खुवाएर १२ दिनदेखि अनसनरत नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रामेछापका पूर्व जिल्ला उपाध्यक्ष रत्नहरि ढुंगेलको अनसन तोडाएका छन्। अनसन अन्त्यसँगै नेविसंघको ११ औं महाधिवेशनमा चुनाब हुने निश्चित भएको छ।

अनसनका लागि उठाइएका माग सम्बोधन गरी सहमति गरेर नेविसंघ महाधिवेशन अघि बढाउने आन्तरिक सहमति भएको थियो। '११ औं महाधिवेशनमा जिल्ला क्षेत्र र क्याम्पस इकाइहरु विवादित र विधिसम्मपत हुन नसकेका कारण प्रतिनिधि हुनबाट बञ्चित रहेका विद्यार्थीहरुलाई सहमतिका आधारमा केन्द्रीय महाधिवेशनमा भाग लिने व्यवस्था मिलाइनेछ', महाधिवेशन निर्देशक समितिका संयोजक प्रकाश शरण महतले जारी गरेको विज्ञप्तिको चौथो बुँदामा भनिएको छ। यही बुँदाका अाधारमा सापकोटा र ढुंगेल अनसन तोड्न सहमत भएका हुन्।

विधिसम्मत हुन नसकेका र विवादित देखिएका जिल्ला, क्षेत्र र क्याम्पस इकाइहरुबाट सहमतिका आधारमा प्रतिनिधि बाँडफाँड गर्ने आन्तरिक सहमति भएको थियो। नेविसंघभित्रका मुख्य तीन सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल समूहलाई ३०-३० प्रतिशत प्रतिनिधि बाँडेर चुनाबमा जाने सहमति भएको छ। विधानसम्मत तरिकले अाएका प्रतिनिधिका हकमा यो लागू हुने छैन।

अनसन तोडाउन ओम अस्पताल पुगेका सभापति देउवाले विधिसम्मत तरिकाले नेविसंघको नेतृत्व चयन हुने बताए। 'अधिवेशन विधिपूर्वक हुनुपर्छ भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन', उनले भने, 'नेविसंघको नेतृत्व विधिसम्मत तरिकाले चयन हुनेछ।'

अनसन अन्त्य घोषणा गर्ने समयमा नेता कृष्णप्रसाद सिटौला उपस्थित थिए।

विधिवत महाधिवेशनको माग गर्दै १२ दिनदेखि अनसनरत सापकोटा र ढुंगेलको शरीरमा स्लाइनपानी चढ्न छोडेपछि र पिशाब फेर्न समस्या भएपछि मंगलबार राति मोडलले ओम अस्पताल रेफर गरेको थियो। त्यहाँ उनीहरुलाई आइसियुमा राखिएको थियो।

'अधिवेशन विधिपूर्वक हुनुपर्छ भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन', उनले भने, 'नेविसंघको नेतृत्व विधिसम्मत तरिकाले चयन हुनेछ।'

विधानपूर्वक पूरा नभएका र अधिवेशन हुन नसकेका विवादित जिल्ला, क्षेत्र र क्याम्पस अधिवेशनहरुको सन्दर्भमा त्यस्ता संरचनाहरुलाई मान्यता नदिइने संयोजक महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

६ दिनसम्म रिले अनसन बसेपछि उनीहरुले आमरण अनसन सुरु गरेका थिए। ८ औं दिन शनिबार स्वास्थ्यस्थिति नाजुक भएपछि दुवै जनालाई काठमाडौं मोडल अस्पतालको एमेर्जन्सीमा भर्ना गरिएको थियो।

विधान विपरीत ल्याइएका प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्ने उनीहरुका मुख्य माग थिए।

आइतबार नेविसंघ महाधिवेशन सुरु हुनुअघि नेपाली कांग्रेसका सभापति मोडल अस्पताल पुगेर दुवै जनासँग भेट गर्दै माग पूरा गर्ने आश्वसन दिएका थिए। बरिष्ठ नेता रामचन्द्र पौडेलले अनसनकारी विद्यार्थी नेताको माग बेवास्ता गर्दै भागबण्डा गर्नुपर्ने अड्डी कसेपछि सहमति खोज्न आइतबारका लागि तय भएको बन्दसत्र सोमबार २ बजेसम्मका लागि स्थगित गरिएको थियो।

विधिसम्मत महाधिवेशनको माग गर्दै अध्यक्षका प्रत्यासी कुन्दन काफ्ले समूहले मुलुकभरिका नेविसंघ महाधिवेशन प्रतिनिधि सहभागी गराएर मंगलबार बन्दसत्र हल बाहिर प्रदर्शन गरेको थियो।

मंगलबार राति सबै पक्षबीच सहमति भएपछि बुधबार नेविसंघ महाधिवेशनको बन्दसत्र सामान्य रुपमा सञ्चालन भएको छ। बिहीबारसम्म बन्दसत्रभित्रको छलफल जारी रहे शुक्रबार १५१ पदका लागि निर्वाचन हुने सम्भावना छ। 

प्रकाशित: २६ श्रावण २०७३ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App