७ वैशाख २०८१ शुक्रबार
अर्थ

पुँजी बढाउने चटारोमा बिमा कम्पनी

काठमाडौं – किसानलाई असार–साउनमा खेती लगाउन हतारो भएजस्तै बिमा कम्पनीलाई यति बेला चुक्ता पुँजी बढाउने चटारो छ । बिमा समितिले असारभित्र चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन् ।
बिमा समितिले ६ महिनाभित्र चुक्ता पुँजी जीवनले दुई अर्ब र निर्जीवन बिमा कमपनीले एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने कठिन मापदण्ड समितिले तोकेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि बिमा कम्पनीहरुले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयरको योजना बनाएका छन् ।
 
६ महिनाभित्र बिमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउन आफूहरुलाई कुनै समस्या नरहेको नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला बताउँछन् । नेकोले चुक्ता पुँजी बढाउन हकप्रद सेयर जारी गर्दैछ । हालको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी एक अर्ब १७ करोड पुग्छ । अहिले नेको इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ रुपैयाँ छ । ‘चैत मसान्तसम्ममा बिमा समितिले तोकेको चुक्ता पुँजी पुग्छ,’ प्रमुख कार्यकारी अधिकृत तिमिलाले भने, ‘हामीलाई चुक्ता पुँजी पु¥याउन समस्या छैन् ।’
 
बिमा समितिले ६ महिनाभित्रै जीवनले दुई अर्ब र निर्जीवनले एक अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने कठिन मापदण्ड तोकेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् 
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि ६ महिनाभित्रै चुक्ता पुँजी एक अर्ब पु¥याउने योजना बनाएको छ । उक्त कम्पनीले १० कित्ता हुनेलाई आठ कित्ता हकप्रद सेयर दिने निर्णय गरेको गरेको छ । हकप्रद सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुग्ने आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादे श्रेष्ठले बताए । ‘नपुग रकम पाँच प्रतिशत बोनस सेयर दिएर जुटाउँछौं,’ उनले भने, ‘नियामक निकाय बिमा समितिले तोकेको मितिभित्रै चुक्ता पुँजी पु¥याउँदै छौं ।’
 
शिखर इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी एक अर्ब नघाइसकेको छ । गत आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी एक अर्ब पाँच करोड पुगेको शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए । ‘गत साधारण सभाबाट प्रबन्ध पत्र र नियमावली पनि त्यही अनुसार परिवर्तन ग¥यौं,’ उनले भने, ‘अन्य बिमा कम्पनीले पनि चुक्ता पुँजी वृद्धि गर्ने योेजना अघि सारेका छन् ।’
 
एक–दुईवटा बिमा कम्पनी बाहेक अरुलाई चुक्ता पुँजी पु¥याउन समस्या नहुने देखिएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले बताए । ‘असार मसान्तसम्म प्रायः सबैले चुक्ता पुँजी पु¥याउने जानकारी बिमा समितिलाई दिएका छन्,’ उनले भने, ‘चुक्ता पुँजी बढाउने दौडमा सबै बिमा कम्पनी लागेका छन् ।’ 
 
पुँजी पु¥याउनका लागि बिमा कम्पनीले दुई विकल्प बोनस र हकप्रद अगाडि सारेका छन् । ‘बोनस सेयर दिन नसक्नेले हकप्रदको बाटो अपनाएका हुन्,’ पौडेलले भने, ‘जसरी पनि पुँजी पु¥याउने अभियानमा लागेको छन् ।’ एभरेस्ट इन्स्योरेन्सले एक कित्ता हुनेलाई ६ कित्ता हकप्रद दिएर चुक्ता पुँजी पु¥याउन लागेको जानकारी पनि उनले दिए ।
 
बिमा समितिले चुक्ता पुँजी नपु¥याउजेलसम्म बिमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाइसकेको छ । बिमा समितिले कर प्रयोजनबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था सहितको निर्देशन जारी गरिसकेको छ । 
 
असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी नपु¥याउनेलाई के कस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा भने बिमा समिति मौन छ । ‘अझै ६ महिना  चुक्ता पुँजी पु¥याउने समय भएकाले पनि काराबाहीको कुरा गरेका छैनौं,’ पौडेलले भने, ‘अन्तिममा नपु¥याउनेलाई कारबाही हुने नै छ तर, अहिले नै कारबाहीको विषयलाई प्राथमिकता दिएका छैनौं ।’
 
यसअघि बैंक तथा वित्तीय संस्थाले जस्तै बिमा कम्पनीलाई पनि मर्जरमा जान भनिएको थियो । तर, मर्जरमा जान कोही बिमा कम्पनी तयार नभएपछि मर्जरको बाटो बन्द भएको विज्ञहरुको भनाइ छ ।
 
अहिले सञ्चालनमा रहेका ३८ बिमा कम्पनीले बोनस र हकप्रद जारी गरेरै भए पनि समयमै चुक्ता पुँजी पु¥याउँदै छन् । मुलुकमा अहिले १९–१९ वटा जीवन र निर्जीवन बिमा कम्पनी छन् । 
 
हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५० करोड र निर्जीवनको २५ करोड रुपैयाँ छ । अधिकांश बिमा कम्पनीले चुक्ता पुँजी बढाउन नगद लाभांशभन्दा बोनस सेयरमा प्राथमिकता दिएका छन् । अहिलेकै चुक्ता पुँजीमा रहेर अगामी दिनमा व्यवसाय गर्न नसकिने र यसका लागि पुँजी बढाउनुको विकल्प नभएको बिमा कम्पनीका सञ्चालकहरु बताउँछन् । 
व्यवसायको आकार बढ्दै गएपछि चुक्ता पुँजी बढाउनु आवश्यक भए पनि केही बिमा कम्पनीलाई बिमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउन समस्या हुने विज्ञको भनाइ छ । 
 
सार्क स्तरमै नेपालमा बिमा कम्पनीहरुको चुक्ता पुँजी कम छ । त्यसैले बढाउनुपर्ने स्थिति आएको बिमा समितिको भनाइ छ । तर, छोटो अवधिमा नै बिमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउन केही बिमा कम्पनीलाई भने फलामे चिउरा साबित हुनेछ ।

प्रकाशित: ३० पुस २०७४ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App