coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

करातेमा जारी विवाद समाधान हुने दाबी

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले करातेमा थाती रहेको विवाद चाँडै समाप्त हुने दाबी गरेका छन्। 

नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो बुढानीलकण्ठले शनिबार आयोजना गरेको बृहत् सम्मान कार्यक्रममा सम्बोधन गर्दै सदस्यसचिव विष्टले १३औं दक्षिण एसियाली खेलकुद (साग) अघि कराते विवाद समाधान हुने र उक्त प्रतियोगितामा नेपालले विगतको भन्दा धेरै पदक हासिल गर्ने बताए।

‘करातेमा केही विवाद छन् । तर, अब छिट्टै त्यो विवाद समाधान हुन्छ । राखेपले यसको योजना बनाइसकेको छ,’ कराते एकताबद्ध भएर अघि बढ्ने दाबी गर्दै विष्टले थपे, ‘करातेको नाममा गुट उपगुट बनाएर लुट्न पाइँदैन । सबैलाइ मान्य हुने व्यक्तिको नेतृत्वमा नयाँ कमिटी गठन भई कराते एकताबद्ध भएर अघि बढ्छ। आगामी सागमा नेपालले विगतमा भन्दा धेरै उपाधि ल्याउँछ । खेलाडी त्यसका लागि तयार भएर बसे हुन्छ ।’

करातेमा हाल पुरेन्द्रविक्रम लाखे र दावा शेर्पाको नेतृत्वमा दुई संघले छुट्टछुट्टै काम गर्दै आएका छन् । पुरेन्द्रविक्रमले अन्तर्राष्ट्रिय र दावाले राष्ट्रिय मान्यता रहेको बताउँदै आएका छन्। 

उत्तरी प्रमुख शाखा डोजो बुढानीलकण्ठले गत अगस्टमा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा रजत पदक जित्ने सुशीला तामाङ, अविनाश चौधरी तथा कांस्य पदक जित्ने सुनील थिङलाई सम्मान गरेको थियो । त्यस्तै एसियन कराते फेडरेसन (एकेएफ) रेफ्री कोर्स पूरा गरेका सिर्जना अधिकारी, सेसुका राई, हीरादेवी राई र सानुबाबु तामाङ तथा एकेएफ प्रशिक्षक लाइसेन्स लिन सफल प्रेमलाल बमजन र बुद्धवीर लामालाई सम्मान गरेको थियो।  

कार्यक्रमका प्रमुख अतिथि तथा एमालेका महासचिव ईश्वर पोखरेले राजनीतिको खराब पाटोले खेलकुदमा पनि प्रवेश पाएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । ‘जुन विचारले जिते पनि नेपालले जित्ने र हारे नेपाल पराजित हुने हो,’ पोखरेलले थपे, ‘राजनीतिक अस्थिरताले समाजको हरेक क्षेत्र प्रभावित हुने क्रममा खेलकुद पनि प्रभावित भयो । अब बन्ने स्थिर सरकारको लक्ष्य विकास र समृद्धि हो । यससँगै खेलकुदको पनि विकास हुन्छ।’

प्रकाशित: ३० पुस २०७४ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App