coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ६मा कार्यालय स्थापना

निर्वाचन कार्यालय उद्घाटन गर्दै निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेल र प्रमुख जिल्ला अधिकारी सिताराम कार्की ।तस्विरः नगेन्द्र उपाध्याय

सुर्खेत – राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ६ को प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि शनिबार जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहअन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य मतदाता हुनेछन् । राष्ट्रियसभाका लागि ६ नम्वर प्रदेशमा एक सय ९८ मतदाता रहनेछन् । निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार ६ नम्वर प्रदेशका २५ नगरपालिकाका ५० नगरप्रमुख तथा उपप्रमुख, ५४ गाउँपालिकाका १ सय ८ अध्यक्ष र उपाध्यक्षका साथै २४ प्रत्यक्ष र १६ समानुपातिक प्रदेश सांसदले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन्।

पौडेलका अनुसार ६ नम्बर प्रदेशबाट राष्ट्रियसभाका लागि आठजना निर्वाचित हुनेछन् । तीन खुला, तीन महिला, एक अल्पसंख्यक र एक दलित सदस्य निर्वाचित हुने व्यवस्था छ । खुला, महिला, अल्पसंख्यक र दलितका लागि छुट्टाछुट्टै मतपत्र हुनेछन्।

निर्वाचन अधिृकत कार्यालयले राष्ट्रियसभा निर्वाचनका लागि समयतालिका पनि सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्नेछ भने सोही दिन प्रकाशित नामावलीमाथि दाबी विरोधका लागि समय दिएको छ । यस्तै, ८ र ९ माघका दिन आयोगले उजुरीउपर छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्नेछ।

माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आयोगले समय तोकेको छ भने सोही दिन मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिने छ । ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिनका लागि समय छुट्याएको छ भने १३ गते उजुरीमाथि अन्तिम निर्णय दिने छ।

कार्यालय स्थापना कार्यक्रममा निर्वाचत अधिकृत पौडेलले लोकतन्त्रमा निर्वाचन प्रणालीको कदर हुने भएकाले राष्ट्रियसभा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सबैको सहयोगको खाँचो रहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, नेकपा एमालेका सचिव मोहन बडुवाल, नेपाली कांग्रेसका कोषाध्यक्ष अन्नत पौडेललगायतले बोलेका थिए। 

प्रकाशित: ३० पुस २०७४ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App