७ वैशाख २०८१ शुक्रबार
राजनीति

सम्धीलाई प्रदेश प्रमुख बनाउन ठाकुरको सिफारिस

काठमाडाैँ – राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई प्रदेश दुईको प्रदेश प्रमुख बनाउन सरकारसँग सिफारिश गरेका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ठाकुरले गत पुस २४ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर झालाई प्रदेश प्रमुख बनाउन सिफारिश गरेका थिए । झाले  पार्टीको लेटरप्याडमा  लेखेर औपचारिकरूपमा झाको नाम सिफारिश गरेको स्रोतको भनाइ छ । यसबारे राजपाको बैठकमा छलफल भएको छैन । राजपाका अन्य नेताहरूलाई पनि यसबारे गोप्य राखिएको स्रोतको दाबी छ। 

प्रदेश २ मा राजपा र संघीय फोरमको सरकार बन्ने भएकाले राजपा र संघीय फोरमको सरकारलाई सहज हुने गरी प्रधानमन्त्रीले प्रदेश प्रमुख मनोयन गर्ने तयारी गरेका छन् ।  आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले राजपा–फोरम गठबन्धनसँग तालमेल गरेर प्रदेश २ मा उम्मेदवारी दिने तयारी गरेको छ । सो कारण पनि देउवाले प्रदेश २ मा राजपा र फोरमले सिफारिश गरेको व्यक्तिलाई प्रदेश प्रमुख बनाउन चाहेका छन् । यसबारे देउवाले ठाकुर र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए । तर प्रदेश प्रमुख बनाउन ठाकुर र यादवले साझा नाम दिन सकेनन् । यादवले पार्टीका प्रवक्ता रत्नेश्वरलाल कायस्थको नाम दिए । कायस्थको नाम प्रतिनिधिसभा समानुपातिकमा पार्टीले निर्वाचन आयोगमा गरेको सिफारिशमा अग्रपंक्तिमा छ ।

तर संघीय फोरमले पाएको कोटामध्ये सबै सिटमा महिलाको नाम पठाउनु पर्ने भएपछि कायस्थको सम्भावना अन्त्य भएको छ । कायस्थले प्रदेश प्रमुखका लागि पार्टीले आफ्नो नाम  सिफारिश गरेको हुनसक्ने घुमाउरो पारामा स्वीकार  गरे । उनले भने, ‘यसबारे प्रधानमन्त्रीसँग छलफल गर्न र उपयुक्त व्यक्तिको नाम सिफारिश गर्न हामीले पार्टी अध्यक्षलाई अधिकार दिएका छाैँ । उहाँले मेरो नाम पनि सिफारिश गरेको हुनसक्छ । तर राजपाका वरिष्ठ उपाध्यक्ष विर्खेशचन्द्र लालले भने राजपाले औपचारिकरूपमा प्रदेश प्रमुखका लागि कसैको नाम सिफारिश नगरेको दाबी गरे । ‘औपचारिक रूपमा हाम्रा अध्यक्षज्यूले कसैको नाम सिफारिश गर्नुभएको होला जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘यसबारेमा हामीलाई केही पनि थाहा छैन ।’ खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष भएको बेला उमाकान्त सिँचाइ तथा ऊर्जा मन्त्री भएका थिए । यसैगरी उनी पूर्व सचिव पनि हुन । उनी राजपाका महासचिव  पनि हुन् । उनकी पत्नी इन्दिरा झा  प्रतिनिधिसभा समानुपातिका लागि राजपाबाट सिफारिश भएकी छन् ।

प्रतिनिधिसभा समानुपातिकमा उनको  करिबकरिब निश्चित भएकोछ । दोस्रो संविधानसभा निर्वाचनमा पनि ठाकुरले तत्कालीन तमलोपाबाट इन्दिराको नाम  प्रतिनिधिसभा समानुपातिकमा नाम पठाएका थिए । प्रदेश २ मा प्रमुख बन्न विद्याधर मल्लिकले पनि लबिइङ गरेको स्रोतको दाबी छ । तर मल्लिकको नामममा भने राजपा र संघीय फोरमले सहमति दिएको छैन । यसैगरी  पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामअवतार  यादको नाम पनि चर्चामा रहेको  छ। 

केही दिनअघि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका राजपा  र संघीय फोरमका नेताहरूले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने अधिकार सरकारको रहेको भन्दै यसबारे निर्णय गर्न सरकारलाई मार्ग प्रशस्त गरेका थिए । तर देउवाले राजपा र संघीय फोरमलाई खुशी बनाउन ठाकुर र यादवसँग छुट्टाछुट्टै अनौपचारिक कुराकानी गरेका थिए। 
 

प्रकाशित: ३० पुस २०७४ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App