७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा चिसोले ज्यान गुमाउनेको संख्या १७ पुग्यो

रौतहट-  चिसोले कठ्याँग्रिएर रौतहटमा थप दुई जनाको ज्यान गएको छ। शनिवार बेलुकी सम्म चिसोको कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।

शुक्रबार राती थप दुई जनाको चिसोको कारण ज्यान गएको हो। स्थानीय दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका ६५ बर्षिय गुगली हजरा र गढीमाई नगरपालिका वडा नम्वर १ समनपुरका ५० वर्षिय बतहु सरभंगको गए राती कठ्याँग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।     

दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीका महादलित भनिने डोम समुदायका ६५ वर्षिय बृद्ध  हजारा राती खाना खाएर सुतेका थिए। ओढ्ने अभावमा उनको राती नै जाडोको कारण कठ्याग्रिएर मृत्यु भएको हो। यस्तै गढीमाई नपा १ समनपुरका सरमंगपनि खाना खाएर सुत्ने घरको अभावमा बजारमै रहेको धर्मशालामा ज्यादर ओढेर सुत्दा शनिवार बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी सहायक निरीक्षक खहेरु यादवले बताए।

दिनदिनै बाक्लो हुस्सुसंगै चलिरहेको शीतलहरका कारण रौतहट लगायत यस भेगको जनजीवन कष्टकर बनेको छ। जिल्ला वन कार्यालय रौतहटको तथ्याँक अनुसार गत बर्षको तुलनामा यसपालि ७ गुना बढी दाउरा रौतहटका स्थानीय तहहरुलाई उपलब्ध गराएपनि अपुग भएको छ।

गत वाषर्षको कठयाँग्रिदो चिसोमा जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरले १५ टयाक्टर दाउरा उपलब्ध गराएको थियो। स्थानीय तहको निर्वाचन पश्चात जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकाको लागि जिल्ला वन कार्यालयले करिब एक सय भन्दा बढी ट्याक्टर दाउरा सर्वसाधारणलाई आगो बाल्न उपलब्ध गराएपनि अपुग देखिएको छ ।

वन कार्यालयका आपुर्ति प्रमुख अरुण कार्णले यसपालिको चिसोमा गत वर्षको तुलनाका साढे ३१ चट्टा दाउरा करिब सय ट्याक्टर वितरण गरेपनि अपुग देखिएको छ। जन प्रतिनिधिहरुले अझै दाउरा उपलब्ध गराउनु पर्ने माग गरेका छन्। गत बर्ष जिल्लाको गौर, गरुडा र चन्द्रपुर नगरपालिका र बजारहरुको लागि १५ टयाक्टर दाउरामै प्रयाप्त भएको थियो। यसपालि सदरमुकाम गौरमा मात्रै साढे दुइ चट्टा (दश टयाक्टर) दाउरा उपलब्ध गराएको आपुर्ति प्रमुख कर्णको भनाइ छ।

 

 

 

 

प्रकाशित: २९ पुस २०७४ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App