६ वैशाख २०८१ बिहीबार
राजनीति

पशुपतिनगरमा अध्यागमन राख्न पहल गर्छु : राजदूत पुरी

इलाम- पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी ‘पोजिटिभ’ देखिएका छन्। स्थलगत निरीक्षण गर्न शनिबार पशुपतिनगर नै आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिएका हुन्।

झापासम्म आएका राजदूत पुरी सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईसहित पशुपतिनगर नाका पुगेका थिए। उनले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गरेका छन्। स्थानीय जनप्रतिनिधि र व्यवसायीले राजदूत पुरीसमक्ष पनि पशुपतिनगरमा भन्सार, क्वारेन्टाइन र अध्यागमन कार्यालय खोल्न माग गरेका थिए। उनीहरूको मागमा राजदूत पुरीले भने, ‘अध्यागमनको विषयलाई म सिरियस्ली लिन्छु।’       

स्थानीयले राजदूत पुरीसमक्ष सीमा सडक विस्तार र स्तरोन्नतिको पनि माग गरेका थिए। जवाफमा पुरीले सीमा सडकको ठूलो परियोजना अहिले सम्भव नहुने भन्दै भन्सार कार्यालय खोल्न पनि कमै चासो दिएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जानकारी दिए। ‘पशुपतिनगरमा अध्यागमन कार्यालय राख्नसके नजिकैको दार्जिलिङ आएका तेस्रो मुलुकका पर्यटक इलाम हुँदै नेपाल आउन र यहाँ आएका पर्यटक भारत छिर्न सजिलो हुने भएकाले हामीले अध्यागमनबारे विचार गर्न भन्यौं,’ मेयर राईले भने, ‘राजदूत यसमा पोजिटिभ हुनुहुन्छ। माथिल्लो तहमा कुरा गर्छु भन्नुभएको छ।’ नजिकै झापाको काँकडभिट्टामा भन्सार रहेको र पशुपतिनगरमा स्थान पनि अलि साँघुरो भएकाले भन्सार खुलाउन चाहिँ राजदूतले बढी चासो नदिएको राईले बताए।

भारतीय पक्षले दशगजा मिचेर संरचना बनाएको भन्दै स्थानीयले पटक–पटक गुनासो गरेपनि राजदूतसँग भने सीमाको समस्याबारे कुरा हुन पाएन। ‘ज्यादै छोटो समय लिएर आउनुभएकाले उहाँ (राजदूत पुरी) सँग सबै विषयमा कुरा गर्नै पाइएन,’ मेयर राईले भने, ‘सीमा क्षेत्रका नेपाली र भारतीय जनता एकासपसमा सहिष्णु रहेको भन्दै राजदूतले स्थानीय तहको कार्यप्रक्रियाबारे जिज्ञासा चाहिँ राख्नुभयो।’ राजदूत पुरीले स्थानीय तहको कार्यप्रक्रिया, नागरिकले पाएको सेवा–सुविधालगायतबारे चासो राखेका थिए।

पशुपतिनगरमा अध्यागमन नहुँदा पर्यटक आउ–जाउमा वर्षौदेखि समस्या छ। धेरै हिसाबले पहाडी क्षेत्रको उपयुक्त नाका मानिएपनि अध्यागमन कार्यालय नहुँदा यहाँबाट तेस्रो मुलुकका पर्यटक आउन–जान पाएका छैनन् । यहाँ अध्यागमन कार्यालय स्थापना भए ठूलो संख्यामा उतापट्टि (दार्जिलिङ, भारत) आएका पर्यटक पूर्वी पहाडका पर्यटकीय जिल्ला भ्रमण गर्न पाउने छन्। इलाम पर्यटकीय जिल्ला भएपनि तेस्रो मुलुकका पर्यटक अत्यन्त कम आउनुको एक प्रमुख कारण पशुपतिनगरमा अध्यागमन कार्यालय नहुनु नै रहेको पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीको भनाइ छ । यहाँ अध्यागमन कार्यालय नहुँदा भारत भएर आउने तेस्रो मुलुकका पर्यटकले झापाको काँकडभिट्टा नाका प्रयोग गर्छन्। तर, त्यहाँबाट भित्रिने अधिकतर पर्यटक इलाम नघुमी काठमाडौं वा पोखरातिर लाग्ने गरेका छन् ।

                पर्यटकीय सम्भावना बोकेको जिल्लाकै भारतीय नाकामा अध्यागमन कार्यालय नहुँदा यता आउन चाहने पर्यटक मुखैमा आएर फर्किन बाध्य छन् । पशुपतिनगरभन्दा करिब ५० किलोमिटरमा रहेको दार्जिलिङ बर्सेनि हजारौं पर्यटकले खचाखच रहन्छ । त्यहाँ आएका तेस्रो मुलुकका पर्यटक पशुपतिनगरछेउसम्म आउँछन् तर सँगै रहेका इलामका रमणीय स्थान घुम्न पाउँदैनन्।

                पर्यटकलाई दार्जिलिङसम्म घुमाउन ल्याउने त्यहाँका पर्यटन व्यवसायीले आधा घण्टाका लागि ‘नेपाल घुम्ने’ प्याकेजसमेत राखेका हुन्छन् । भारतीय पर्यटकलाई भिसा नलाग्ने भएकाले आधा घण्टाको समय पशुपतिगर आएर उनीहरू साधारण किनमेल गर्छन् र फर्किन्छन् । मुद्रा सस्तो हुने भएकाले भारतभन्दा कम खर्चमा इलामलगायत पहाडी जिल्लाका रमणीय स्थान घुम्ने रहर बोकेका पर्यटक प्रायः त्यहींबाट फर्किने गरेका छन् ।      पशुपतिनगरमा अध्यागमन कार्यालय भए हजारौं पर्यटकले इलामलाई गन्तव्य बनाउन सक्ने पशुपतिनगरका व्यवसायी मिलन क्षेत्री बताउँछन् । ‘धेरै पर्यटक त्यहीं पर्तिर (भारतको फाटक) आएर इलामको छेउ हेर्दै मुख मिठ्याएर फर्किरहेका हुन्छन्,’ उनले भने, ‘ती पर्यटकलाई यता भित्र्याउन पाए इलामले अरू व्यवसाय गर्नै पर्दैन, पर्यटक पालेरै खान–लाउन पुग्छ।’

प्रकाशित: २९ पुस २०७४ ०९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App