७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाल्पाबाट भारत जान्छ तेजपत्ता

पाल्पा- वार्षिक सात करोड बढीको तेजपत्ता र दालचिनी जिल्लाबाट भारत निर्यात भएको छ। जिल्लाको गत पाँच वर्षको तथ्याङ्क अनुसार बार्षिक औसत सात करोड २५ लाख ६३ हजार ५८० रुपैयाँको निकासी देखिएको हो।

जिल्लाबाट गत पाँच वर्षको अवधिमा कुल २४ करोड ३३ लाख ९ हजार १ सयको तेजपत्ता र ११ करोड ९५ लाख ८ हजार ८ सयको दालचिनी किसानले बिक्रि गरेका हुन् । जिल्लाबाट आर्थिक वर्ष २०६९/७० देखी गत आवसम्म ४ हजार ८ सय ६६ टन तेजपत्ता र १ हजार १ सय ९५ टन दालचिनी निर्यात भएको हो। किसानको नीजि वनबाट गत पाँच वर्षमा जिल्लाबाट झण्डै ३७ करोड बढीको तेजपत्ता बिक्रि भएको जिल्ला वन अधिकृत दधिलाल कंडेलले बताए । उनी भन्छन्, ‘जिल्लाको कोलडाँडा, बल्ढेङगढी, सत्यवती, तिनाउ, झडेवा, जल्पा लगायतका स्थानबाट दालचिनी भारत निर्यात भएको छ । तर जिल्लामा भएको एक तिहाई पनि दालचिनी किसानले बिक्रि गरेका छैनन् ।’ जिल्लाका किसानहरुले औषत ५० रुपैयाँमा तेजपत्ता र एक सय रुपैयाँमा दालचिनी बिक्रि गर्ने गरेका छन्।

 ‘नेपालमा तेजपत्ताको आन्तरिक बजार विकास गर्न सकिएको छैन । सबै भारत निकासी हुने गरेको छ। त्यो पनि २/३ जना व्यापारीको एकाधिकारमा बजार छ । जिल्लामा गत वर्ष पनि १७ हेक्टर जमिनमा तेजपत्ता रोपण गरिएको छ। किसानहरुले आफ्नो वनको तेजपत्ता अझै टिपेर बजारसम्म पुर्‍याउन सकेका छैनन्,–वन अधिकृत कंडेलले भने।

किसानले सीमित व्यापारीसँग कारोबार गर्नुपर्ने बाध्यता छ। भारतले वस्तु सेवा कर लगाउँदा भारतीय व्यापारी कम आउने गरेका छन् । भारतको बजारको २० प्रतिशत बढी माग नेपालबाट पुरा हुने गरेको जानकारहरु बताउँछन्।

किसानहरुको आयआर्जनको भरपर्दो नगदेबालीका रुपमा तेजपत्तालाई लिने गरिन्छ । यसलाई प्रशोधन गरि उद्यम सञ्चालन गर्न सकिने कंडेल बताउँछन् । उनी भन्छन्–औषधीय तथा मसलाजन्य गुणहरु यसमा छ। यसको खेती बिस्तार गरि पर्यापर्यटनको विकास पनि गर्न सकिन्छ । जिल्लाको कुल ३८ हजार हेक्टर क्षेत्रफलमा सामुदायिक वन छ । यी वनका अधिकांश स्थानमा पनि तेजपत्ता रोपण गरिएको छ। जिल्लामा ६ सय ७२ सामुदायिक ८८ कबुलियति वन छन् ।

तेजपत्ताले परिवर्तन गरिदियो गाउँ

तिनाउँ गाउँपालिका–४, कोलडाँडाका दानबहादुर गाहाले यहाँको सत्यवति क्षेत्रलाई तेजपत्ताको राजधानी (पकेट क्षेत्र) घोषणा गरिएसँगै व्यवसायीक रुपमा गरिएको खेतीले गाउँको मुहारनै परिवर्तन गराएको बताए। दानबहादुरमात्र होईन यहाँका अधिकांश गाउँलेको दैनिकिनै तेजपत्ताको स्याहारसुहारमा केन्द्रित छ। दिनहुँ जसो पात टिप्यो, बोक्रा तास्यो, सुकायो, संकलन केन्द्रमा पुर्‍ययो यस्तैमा बित्ने गर्दछ। गाहा भन्छन् यस क्षेत्रका एक परिवारले बार्षिक रुपमा दुई लाख रुपैँया भन्दा बढीको तेजपत्ताको कारोबार गर्दछन्। ‘तेजपत्ताको आम्दानीबाट खर्चिएको रकमले गाउँमा पुग्ने मोटर बाटो निर्माण भएको छ । विद्युतीकरणका लागि समेत ठूलो धन राशी खर्चियो तेजपत्ताका कारण गाउँ बस्तीको मुहार फेरिएको छ’– स्थानीय पार्वती चिदी बताउँछिन्।

जिल्ला वन कार्यालयकै समन्वयनका कारण धेरै ठाउँबाट यहाँको विषयमा अध्ययन अवलोकन गर्न आउनेहरुबाट हामीले धेरै कुरा सिक्ने अवसर समेत पाएका छौ । उनीहरुबाट सिकेको हो, अतिथी सत्कार गर्न, यहाँ आउनेहरुलाई कस्तो व्यवहार गर्नु पर्दछ भन्ने जानकारीले महिलाहरु पनि धेरै चेतनशील भएकाछन् चिदीले बताईन्। अनावश्यक गर्फ गर्ने, झगडा गर्ने जस्ता बानी हटेको छ। बिहिबार कास्की र तनहुँका सामुदायिक वनका पदाधिकारी तथा किसानहरुको समूह यस क्षेत्रमा आएर तेजपत्ताको खेती सम्बन्धि जानकारी लिएको झुम्सा इलाका वन कार्यालयका सहायक वन अधिकृत चन्द्रबहादुर भाटले बताए। उनी भन्छन्, कोलडाँडा गाविसमा मात्र बार्षिक दुइ करोड रुपैँया भित्रन्छ । तेजपत्तालाई आफ्नो जिवनसँग जोडेका छन् । त्ययो क्षेत्र विउ उत्पादनका लागि राम्रो पकेट क्षेत्र समेत बनेको छ ।’ कास्कीबाट आएकी सुनिता घलेले भनिन्, जताततै दालचिनीमात्र देख्यौं । केही नहुने जस्तो पाखो जमीनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ । तेजपत्तालाई बहुवर्षे बालीको रुपमा लिन थालिएको छ।

प्रकाशित: २९ पुस २०७४ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App