८ वैशाख २०८१ शनिबार
खेल

दिनेश र पुकारको नयाँ राष्ट्रिय कीर्तिमान

राखेप च्याम्पियनसिपको खेलमा भार उठाउँदै सेनाका खेलाडी दिनेश श्रेष्ठ ।

काठमाडौं – नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत शुक्रबार सम्पन्न २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा झण्डै दुई दशक पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन् । 

१ सय ५ केजी  तौल समूहको स्न्याचमा उनले १९ वर्ष अघि आठौं दक्षिण एसियाली खेलकुदमा भदन शिवभक्तिले १ सय २० केजी तौल उठाउँदै राखेको कीर्तिमानमा सुधार गरेका हुन् । शुक्रबार दिनेशले १ सय २१ केजीको नयाँ कीर्तिमान बनाएका थिए ।

स्न्याचमा नेपाल प्रहरीका सन्देश गुरुङले १ सय केजी उचालेर रजत तथा बाराका महमद आशिक हुसेनले ८८ केजी उचालेर कांस्य पदक जिते । क्लिन एण्ड जर्क र कुलमा पनि स्वर्ण पदक दिनेशले जिते । उनले क्लिन एण्ड जर्कमा १ सय ४० केजी र कुलमा २६१ केजी भार बहन गरेका थिए । सन्देशले क्लिन एण्ड जर्कमा १ सय ३२ र कुलमा २ सय ३२ केजी उचालेर रजत पदक जित्दा महमदले क्लिन एण्ड जर्कमा १ सय ५ र कुलमा १ सय ९३ केजी तौल उचालेर कांस्य पदक जिते । 

पोखरामा सम्पन्न प्रतियोगितामा सेनाकै पुकार गुरुङले १ सय ५ केजी माथिको तौलमा आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । । उनले स्न्याचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १ सय २४ केजी तौलमा सुधार गर्दै १ सय २५ केजी भार बहन गरे । दोश्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जन (९५ केजी) रहे । कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी उचाल्दै स्न्याचमा कांस्य पदक हात पारे । पुकारले क्लिन एण्ड जर्कमा १ सय ४० केजी र कुलमा २ सय ६५ केजी उचाल्दै स्वर्ण जित्दा क्लिन एण्ड जर्कमा सुभाषले १ सय २० केजी उचाल्दै रजत जित्दा राजीवले १ सय १८ केजीको भार उठाउँदै कांस्य पदकमा चित्त बुझाए । कुलमा राजीवले १ सय १३ तथा सुभाषले १ सय ७ केजी उठाउँदै रजत र कांस्य पदक जिते । 

८५ केजी तौल समुहमा सेनाका सुरेन्द्र श्रेष्ठले स्न्याचमा १ सय ५, क्लिन एण्ड जर्कमा १ सय २७ तथा कुलमा २ सय ३२ केजी तौल उचालेर सबै स्वर्ण पदक जित्दा पुलिसका गगन चन्दले स्न्याचमा ९३, क्लिन एण्ड जर्कमा १ सय १७ र कुलमा २ सय १० केजी उठाउँदै रजत पदक जिते ।  कञ्चनपुरका विशालसिंह विष्टले स्न्याचमा ८५, क्लिन एण्ड जर्कमा १ सय १५ र कुलमा २ सय केजी तौल उठाएर कांस्य पदकमा कव्जा जमाए ।

९४ केजी तौलमा सेनाका टहलबहादुर बसेलले क्लिन एण्ड जर्क र कुलमा क्रमषः १ सय २७ र २ सय १७ केजीको तौलसहित स्वर्ण पदक जिते । स्न्याचमा भने ९० केजीमात्र उचालेका उनी रजत पदकमा सिमित भए । स्न्याचमा पुलिसका श्रीकृष्ण महर्जनले १ सय केजी भार बहन गर्दै स्वर्ण जितेका थिए । उनले क्लिन एण्ड जर्कमा १ सय १० केजी तथा कुलमा २ सय १० केजीको तौल्सहित रजत पदक जित्दा भक्तपुरका जयदी कोजुले स्न्याचमा स्न्याचमा ८१, क्लिन एण्ड जर्कमा १ सय १० तथा कुलमा १ सय ९१ केजीको तौलसहित कांस्य पदक जिते । 

सेनाका कमलबहादुर अधिकारीले पुरुषतर्फको स्ट्रोङगेस्ट र उत्कृष्ट लिफ््टर खेलाडीको उपाधी जिते । यस्तै महिलामा पुलिसकी तारादेवी पुनले स्ट्रोङगेस्ट तथा उत्कृष्ट लिफ्टरमा सेनाकी सञ्जु चौधरी रहे । विजयी प्रत्येक खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गरे । राष्ट्रिय किर्तिमान कायम गर्न सफल खेलाडीहरुले पनि नगद ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा सात राष्ट्रिय किर्तिमान कायम भएका थिए । 
प्रतियोगितामा तीन विभागीय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडी सहभागि थिए । 

 

प्रकाशित: २९ पुस २०७४ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App