७ वैशाख २०८१ शुक्रबार
अन्य

‘माया गरौँ कि नगरौँ ?’

विपत्तिपछि मान्छेको मन बुझाउने अनेक बाटा हुन्छन्। आस्तिकहरू भगवान् सम्झेर मन बुझाउँछन् भने नास्तिक प्राकृतिक नियम ठानेर। भूकम्पमा छोरो गुमाएका भक्तपुरे एक दम्पत्ती भने छोराको काखमा बाँचेको कुकुरसँग रमाउँदै मन बुझाइरहेका छन्। 

स्थानीयवासीका अनुसार २०७२ वैशाख १२ गते भूकम्पको कम्पनसँगै ज्यान जोगाउन सबैजना घरबाहिर निस्किरहेका बेला भक्तपुर ठूलो व्यासीका २२ वर्षीय योगेश वाशुकला भने कुकुर जोगाउन घरभित्र पसेका थिए । कुकुरको ज्यान जोगाउन घरभित्र पसेर बाहिर निस्कँदा संघारमै वाशुकलाको ज्यान गयो, तर उनको काखमा रहेको कुकुर भने बच्यो। 
गाउँलेको कुरा सुन्दा कुकुर नै योगेशको ज्यान जाने कारण बनेको देखिन्छ । तर, उनका मातापिताले भने छोराको ज्यान जाने कारक ठानिएको कुकुरलाई कति पनि घृणा गरेका छैनन् । बरु आफ्नो छोराले ज्यान त्यागेर बचाएको क्यान्टी नामक कुकुरलाई छोराजस्तै माया गरेर पालिरहेका छन्। 

प्रत्यक्षदर्शीका अनुसार भूकम्पका दिन योगेश अन्य दुई साथीसँगै पाँचतले घरको दोस्रो तलामा थिए । पहिले भागेर बाहिर निस्कन खोजेका उनी कुकुरलाई सम्झेर फर्किन लिन गएका थिए । कुकुर लिएर फर्कंदा उनको घरको मूलढोकामै ज्यान गयो । भूकम्पको एक दिनपछि घरको भग्नावशेष खोतल्दा योगेश मृत भेटिएका थिए । तर, उनको काखमा रहेको क्यान्टी भने जीवितै थियो। 

नेपाली सेनाको सुन्दरीजलस्थित एक नम्बर विपद् व्यवस्थापन गणबाट खटिएका सेनानी उपेन्द्र पुडासैनीको टोलीले उक्त भग्नावशेष हटाएको थियो । बाहिर निस्किसकेका योगेश कुकुर लिन भित्र जाँदा जीवन गुमाएको धेरैले बताउँछन्। 
‘उनीहरूले आफ्नो जीवन गुमाएर कुकुर बचाएको सुनेका हौँ,’ छिमेकी ७१ वर्षीय कृष्ण व्याञ्जनले भने, ‘बाहिर आइसकेका उनीहरू कुुकुर लिन भित्र पस्दा जीवन गुमेको हुन सक्छ ।’ अभिभावक भने ठ्याक्कै के भएको थाहा नभएको बताउँछन् । ‘कसैले बाहिर निस्केपछि कुुकुर लिन जाँदा मृत्यु भएको भन्छन्, कसैले के भन्छन्,’ योगेशका बुवा ज्ञानेन्द्रले भने, ‘भूकम्पको एक दिनपछि साँझ उनीहरू लडेको स्थानमा खोस्रेर पुग्दा छोराको काखीमा कुुकुर सुरक्षित भेटिएको थियो।’ 

कुकुरलाई काखी च्यापेका छोराको दाहिने हातमा चोट लागेको तर कुुकुरको शरीर भने पूरै सुरक्षित रहेको उनले सुनाए । ‘घाँटीको पट्टाले घोचेर कुकुरलाई अलिकति घाउ बनाएको थियो,’ उनले थपे, ‘सामान्य उपचारपछि त्यो निको भयो ।’ 
क्यान्टीलाई योगेशले भूकम्पभन्दा ११ महिना अघि केनल क्लबबाट किनेर ल्याएका थिए । त्यसलाई छोराले धेरै माया गर्ने गरेको उनीहरूले सुनाए । ‘त्यसैले उसले आफ्नो जीवन गुमाएर भए पनि कुकुर बचाएको ठानेका छौँ,’ ज्ञानेन्द्रले थपे, ‘उसले जोगाएर हामीलाई दिएको नासो ठानेर यसको सेवामा जुटेका छौँ।’ 

योगेशका मातापिताले हाल क्यान्टीलाई दूध–बिस्कुट, मासुभात, रोटी तरकारी तथा विभिन्न पौष्टिक आहार खुवाउने मात्र गर्दैनन्, छतमा बसेर सँगै घाम पनि ताप्छन् । मन बुझाउन उनीहरू पहिले आफ्नो छोराले धेरै माया गर्ने गरेको कुरा कुकुरलाई सुनाउँछन्। 

‘ऊ घरमा बसेका बेला दिनभर कुकुर उसैसँग हुन्थ्यो,’ योगशकी आमा रामप्यारीले भनिन्, ‘बेलुका पनि सँगै खाटमा सुताउँथ्यो ।’ भूकम्पपछि कुुकुर लामो समयसम्म छोराको शोकमा डुबेको थियो। 

कुकुर रमाउँदा आफूलाई पनि खुसी लाग्ने उनीहरू बताउँछन् । ‘घरमा नयाँ मान्छे आउनेबित्तिकै कान्छो छोरा ठानेर टाँसिन गइहाल्छ,’ रामप्यारीले भनिन्, ‘पछि टोलाएर फर्कन्छ, गाली गर्दा निहुरिन्छ, माया गर्दा फुर्किन्छ ।’
उनलाई कुकुरको आनीबानी सानो छँदा आफ्नै छोराले गरेको जस्तै लाग्छ । ‘मलाई त अब यसमै उसको झल्को आउन थालेको छ,’ उनले भनिन्। 

भूकम्पपछिका केही दिन कतिपयले ‘कुकुरका कारण छोरा मरेको’ भन्ने सुनाए पनि आफूले त्यसलाई बेवास्ता गरेको उनले बताइन् । योगेशका मातापिताले घटनामा कसैको दोष नरहेको स्विकारिसकेका छन् । त्यसैले उनीहरूलाई कुकुरप्रति कहिल्यै घृणा लागेन । अझ त्यही कुकुर प्यारो लाग्न थाल्यो। 

‘कतिपयले कुुुकुर मरेर छोरा बाच्नुपर्ने पनि भने,’ ज्ञानेन्द्र भन्छन्, ‘तर जे भयो, त्यसलाई हामीले स्वीकार गरेका छौँ ।’ कुकुरको कारण छोराको ज्यान गएको उनीहरूले ठानेनन् । कुकुरलाई छोराको नासोका रूपमा हेरेका छन् । ‘अन्तिम बेला उसले काखी च्यापेर कुकुर बचाएको देखियो,’ उनले भने, ‘उसले आफ्नो जीवन गुमाएर बचाएको यो नासोलाई हामी त्यसै मर्न दिँदैनौँ ।’

भूकम्पलगत्तै उनीहरू केही समय तंग्रिन सकेनन् । घर भत्केका कारण कुकुरलाई रामप्यारीले आफ्नी बहिनीको घरमा पुर्‍याइदिइन् । कुकुर त्यहाँ झन्डै दुई वर्ष बस्यो । त्यस क्रममा माइलो छोराले कुकुरको सेवा गरे । ‘माइलो छोरो पनि विदेश गएपछि अहिले सबै जिम्मा हामीमा आएको छ,’ ज्ञानेन्द्रले भने । कान्छो छोरालाई माया गर्ने जो–कोहीले पनि यो कुकुरलाई औधि माया गर्ने हुँदा आफूलाई खुसी लाग्ने ज्ञानेन्द्रले बताए। 

उनको घरमा आउने आफन्तले पनि कुकुरका लागि बिस्कुटलगायत खान्की ल्याइदिने गरेका छन्। विदेशमा रहेका छोराले पनि भिडियो च्याटमार्फत कुकुरको अनुहार नियाल्ने गर्छन्। 

डालमासियन जातको यो पोथी कुुकुरबाट भाले लगाएर बच्चा जन्माउने परिवारको योजना थियो । तर, अहिले उनीहरू त्यसो गर्न चाहँदैनन् । ‘एक मनले यसको सन्तति पनि अगाडि बढोस् भन्ने चाहन्थ्यौँ,’ ज्ञानेन्द्र थप्छन्, ‘हामी पछि कसले यिनको हेरचार गर्ला भन्ने चिन्ताले त्यसो गर्न मन मानेन ।’ अब यही कुकुर मात्र पाल्ने अन्य केही नगर्ने उनीहरूको योजना छ। 

ज्ञानेन्द्र आफैँ पनि कुुकुरप्रेमी हुन् । उनले विगतमा एउटा कुकुर १४ वर्षसम्म पालेका थिए । उनका बुवा पनि पशुप्रेमी रहेको उनले सुनाए । ‘मेरो बा पनि गाई र बोका पाल्नुहुन्थ्यो,’ उनले भने, ‘हाम्रो परिवारमा सबैले जनावरलाई खुबै माया गर्छन्।’ 

उनका तीन छोरामध्ये बाँकी रहेका दुई छोरा विदेशमा छन्। उनीहरू पनि उताबाट घरको हालचालसँगै कुुुकुरको बारेमा समेत जानकारी माग्छन् । कुकुर परिवारकै सदस्य जस्तो छ। त्यसैले अहिले यही कुकुर यी दम्पतीको आशाको किरण बनेको छ । छोराले ११ महिनाको कुकुर किनेर ल्याएको थियो। 

उनीहरूले नयाँ घर बनाएका छन् । यस घरमा कुकुर बस्ने भिन्नै कोठा छ । कान्छो छोराको कोठा दोस्रो तलामै छ । त्यहाँ उनको ठूलो तस्बिर टाँगिएको छ । घर भाडामा लगाउने विचार छैन। ‘अब अरु मानिसलाई राख्ने रहर पनि छैन,’ उनीहरूले भने। 

आठ हजारभन्दा बढीको ज्यान गएको भूकम्पमा भक्तपुरमा मात्र तीन सयभन्दा बढीले ज्यान गुमाएका थिए । भूकम्पबाट मर्ने कुुकुरको सख्ंया यकिन नभए पनि आठ हजारको हाराहारीमा भैँसी–गाई तथा १४ हजार पाँच सयको संख्यामा सुँगुर तथा बाख्रा मरेको एनिमल नेपालले जनाएको छ ।

प्रकाशित: २९ पुस २०७४ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App