७ वैशाख २०८१ शुक्रबार
समाज

स्वास्थ्य संस्थामा सिटामोल पनि छैन

इलाका स्वास्थ्य चौकी, गोलबजारबाट औषधि लेखिएको पुर्जी लिएर फर्किँदै बिरामी। तस्बिरःमिथिलेश

सिरहा – रुघाखोकी, ज्वरो र जीउ चिलाउने समस्याको उपचार गराउन गोलबजार–३ की कली साह (६८) शुक्रबार इलाका स्वास्थ्य चौकी गोलबजार पुगिन् । स्वास्थ्यकर्मीले उनको जाँच गरी औषधि लेखिदिए। औषधि लेखिएको पुर्जा लिएर उनी चौकीकै औषधि वितरण गर्ने काउन्टरमा पुगिन् । जहाँ उनलाई औषधि बाहिर किन्नुपर्ने भनी सम्झाएर पठाइयो।

औषधि काउन्टरमा बसेका अहेब श्याम तामाङले औषधि सकिएको छ, बाहिर किन्नुपर्छ भनेर सम्झाउँदै गर्र्दा साहले जवाफ फर्काइन्, ‘फुइसोफाइसके दबाई नै मिलैबाला केहन अस्पताल है यी (समान्य खालका रोगको औषधि पनि नपाइने कस्तो अस्पताल हो यो )।’ स्वास्थ्य चौकीमा औषधि नपाएपछि उनी आक्रोशित  भएन् । उनले थपिन्, ‘ढौवा रहैत त अही अस्पतालमे अइबतियै कि नमहर अस्पालमे जैतियै (पैसा भएको भए सरकारी अस्पतालमा किन आउँथे, ठूलो अस्पतालमा गइहाल्थे नि) ।’

स्थानीय तहलाई प्राप्त बजेट औषधि खरीद गर्न पर्याप्त नभएमा अन्य स्रोत परिचालन गरेर भए पनि औषधिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । बजेट अभाव देखाएर स्वास्थ्य सेवा रोक्न नहुने व्यवस्था निर्देशिकामा भए पनि व्यवहारमा त्यस्तो भएको पाइँदैन । 

गोलबजारकी कृष्ण साह (५३) ज्वरो, रुघाखोकीले सिकिस्त भएर शुक्रबार इलाका स्वास्थ्य चौकी गोलबजार पुगिन्। तर, उनले ग्यासका चक्की (औषीध) बाहेकका औषधि बाहिरका पसलमा किन्न सुझाव पाइन् । ‘सरकारी अस्पताल त नाममात्रको भएछ । पहिला त दबाइ पाइन्थ्यो, चुनावपछि औषधि लेखिएको पुर्जामात्र पाइन्छ,’ उनले गुनासो गरिन्।

पुसको दोस्रो साता गोलबजार नगरपालिका, धर्मपुरकी असलानी यादव गर्भजाँच गराउन स्वास्थ्य चौकी गोलबजार पुगिन्। गर्भजाँचपछि उनलाई क्याल्सियम र आइरन चक्की दिएर पठाउनुपर्ने थियो । तर, ती चक्की नभएको भन्दै उनलाई फर्काइयो।

शुक्रबार गर्भजाँच गराउन स्वास्थ्य चौकी गोलबजार पुगेकी  दुलारी महरा पनि आइरन चक्की नहुँदा जाँचमात्र गराएर फर्केकी थिइन् । उनले आफ्नो घर रौतहटमा पनि गर्भजाँच गराउँदा आइरन चक्की नभएको भन्दै स्वास्थ्यकर्मीले बजारबाट किनेर खान भनेको सुनाइन्।
 
स्थानीय तह निर्वाचनपछि सरकारले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पतालहरू स्थानीय तहलाई हस्तान्तरण गरेको छ । अर्थात् जिल्लास्थित सरकारी स्वास्थ्य संस्थाहरूको व्यवस्थापन स्थानीय तहमा सरेको छ। तर, यस क्षेत्रका जनता अत्यावश्यक औषधि अभावमा आधारभूत स्वास्थ्य सेवाबाटै वञ्चित भइरहेका छन्। 

गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले औषधि अभावबारे अनभिज्ञता प्रकट गरे । उनले भने, ‘स्वास्थ्य संयोजकले औधषि अभावबारे मलाई जानकारी नै गराएको छैन ।’ नगर परिषद्को तयारी भइरहेको परिषद् भएलगत्तै औषधि खरिद प्रक्रिया अघि बढ्ने साहले जनाए । यो नगरपालिकाका स्वास्थ्य संयोजक शत्रुधन साहले धेरै प्रक्रिया पु¥याउनुपर्ने र धेरैलाई कन्भिन्स गर्नुपर्ने भएकाले औषधि खरिदमा ढिलाइ भएको बताए । ‘अब चाँडै खरिद प्रक्रिया अघि बढाउँछौं,’ उनले भने। 

लहान नगरपलिकाका लेखा अधिकृत महाप्रसाद अचार्यका अनुसार औषधि खरिदका लागि सरकारले नगरपालिकालाई  १२ लाख ८० हजार रुपैयाँ पठाएको छ । यति थोरै रकमले खरिद गरेको औषधि राउ स्मारक अस्पताल, लहानलाई दिने कि स्वास्थ्य चौकीहरूमा पु¥याउने भन्नेमा अलमल छ । यस नगरपालिकामा प्रमुख कार्यकारी अधिकृत पनि नभएकाले औषधि खरिदको विषय टुंग्याउन नसकिएको उनले बताए । लहान नगरपालिकाका मेयर मुनि साहले औषधि खरिद गर्ने प्रक्रिया सुरु गर्न स्वास्थ्य संयोजकलाई निर्देशन दिइसकेको बताए । ‘अहिलेसम्म खरिद प्रक्रिया अघि बढिसक्नुपर्ने थियो, किन बढेन, म बुझ्छु,’ उनले भने।
 
लक्ष्मीपुरपत्तारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले गाउँसभा भएपछि औषधि खरिद प्रक्रिया अघि बढाउने बताए । ‘हामीलाई अहिले गाउँसभाको चटारो छ साहले भने,’ ‘गाउँसभा सम्पन्न गरेपछि औषधि खरिदका लागि प्रक्रिया थाल्छाैँ।’

लक्ष्मीपुरपतारी गाउँपालिका ६ सीतापुरमा रहेको स्वास्थ्य चौकीबाट दुई महिनादेखि औषधि माग हुँदै आएको वडाध्यक्ष राजेश्वर साह सुडीले बताए । चिसो बढेसँगै कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी, निमोनियाका बिरामी बढेको र औषधि नहुँदा रित्तो हात बिरामी फर्काउनुपरेको स्वास्थ्य चौकीले वडा कार्यालयमा जानकारी गराएको छ । वडा कार्यालयबाट तत्कालै अतिआवश्यक औषधि खरिदका लागि गाउँपालिकालाई लेखी पठाए पनि बेवास्ता भएको वडाध्यक्ष साहले गुनासो गरे ।
औषधि नपाएपछि बिरामीहरू गुनासो पोख्न आए पनि वडा कार्यालयमा बजेट नभएको साहको भनाइ छ । औषधि खरिद गर्न स्थानीय तहमा शीर्षक नै उल्लेख गरेर बजेट आएको छ । ‘बजेटअनुसार औषधि खरिद गरेर सम्बन्धित स्वास्थ्य संस्थामा समयमै पु¥याइदिएको भए औषधिको चरम अभाव हुँदैनथ्यो,’ इलाका स्वास्थ्य चौकी, गोलबजारका प्रमुख निरञ्जन शाक्यले भने ।

स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था हस्तान्तरण निर्देशिका २०७४’ मा स्थानीय तहलाई प्राप्त बजेट औषधि खरीद गर्न पर्याप्त नभएमा अन्य स्रोत परिचालन गरेर भए पनि औषधिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । बजेट अभाव देखाएर स्वास्थ्य सेवा रोक्न नहुने व्यवस्था निर्देशिकामा भए पनि व्यवहारमा त्यस्तो भएको पाइँदैन । 

सखुवानन्कारकट्टी गाउँपालिकाका कार्यकारी अधिकृत रमेश साहले जिल्ला स्वास्थ्य कार्यालयले बेलामै स्वास्थ्य संयोजक नपठाइएका कारण औषधि खरिद प्रक्रियामा ढिलाइ भएको बताए  । तर, जिल्ला स्वास्थ्य प्रमुख चुमनलाल दासले कात्तिक २६ गत्ते नै सम्बन्धित गाउँपालिकामा स्वास्थ्य संयोजक पठाइसकेको जानकारी दिए । ‘हाम्रो कारणले औषधि खरिद प्रक्रियामा ढिलाइ भएको होइन,’ दासले नागरिकसँग भने, ‘स्थानीय तह परिषद्, गाउँसभा पर्खेर बसेकाले औषधि खरिदमा ढिलाइ भएको हो ।’

स्वास्थ्य संस्था हस्तान्तरण निर्देशिकाले स्थानीय तहले स्वास्थ्य सम्बन्धी कार्य गर्दा जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गर्नुपर्ने उल्लेख छ । जिल्ला स्वास्थ्य प्रमुख दासका अनुसार औषधिको चरम अभाव हुन नदिन एक महिनाअघि केन्द्रबाट प्राप्त औषधि जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पठाइएको छ । ‘तर, यसबाट समस्याको समाधान हुँदैन । स्थानीय तहबाटै औषधिको समस्या समाधान गर्नुपर्छ,’ उनले भने । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहबीच औषधि आपूर्तिका विषयमा  तालमेलको समेत अभाव देखिएको छ । जसको शिकार भने सर्वसाधारण भइरहेका छन्। 

यहाँका स्वास्थ्य चौकीहरूमा सिटामोलसमेत नपाउने स्थिति बनेको छ। सरकारी संस्थामा निःशुल्क पाइने औषधिका लागि सर्वसाधारणले चर्को रकम तिर्नुपर्छ । औषधि अभावमा नियमित जाँच गराउनुपर्ने गर्भवती र सुत्केरीले त बढी नै सास्ती खेप्नुपरेको छ । गर्भवतीलाई अनिवार्य दिनुपर्ने आइरन चक्कीसमेत स्वास्थ्य संस्थामा भेटिँदैन । इलाका स्वास्थ्य कार्यालय, गोलबजारका प्रमुख शाक्यले आइरन चक्की सकिएको बताए।

सबै स्वास्थ्य संस्थामा औषधि सकिएको जिल्ला स्वास्थ्य प्रमुख दासले बताए । उनले भने,  ‘माथि (केन्द्र र क्षेत्र) बाट प्राप्त थोरै औषधि प्रसाद जसरी बाँडेर सकियो ।’ अब स्थानीय तहले चाँडो औषधि खरिद गरेर औषधि अभाव हटाउनुपर्ने उनको भनाइ छ। 
कतिपय स्थानीय तहमा अधिकारका विषयमा पनि अन्योल देखिएको छ । लहान नगरपालिकाका लेखा अधिकृत आचार्यले स्थानीय तहको औषधि खरिदसम्बन्धी अधिकारलाई लिएर अन्योल भएकाले पनि समयमा औषधि खरिद हुन नसकेको बताए।

स्थानीय तहले बजेट नदिएका कारण जिल्लामा स्वास्थ्यसम्बन्धी अन्य गतिविधि पनि प्रभावित भएका छन् । राउ स्मारक अस्पताल लहानका निमित्त प्रमुख डा. सुनिल कुशवाहाका अनुसार सुत्केरी हुँदा दिइने प्रोत्साहन भत्ता र न्यानो झोला दिने क्रम पनि बजेट अभावमा रोकिएको छ । ‘संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि कार्यान्वयनमा अन्योल हुँदा यस क्षेत्रका जनताले औषधिको चरम अभाव भोगिरहेका छन्,’ लक्ष्मीपुरपतारी गाउँपालिका वडा नम्बर ६ सीतापुरका वडाध्यक्ष राजेश्वर साह सुडीले भने।

प्रकाशित: २९ पुस २०७४ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App