७ वैशाख २०८१ शुक्रबार
कला

बाल विवाहविरुद्ध सचेतना जगाउँदै रेखा थापा

लमजुङ – सिनेमा हलको पर्दा वा टेलिभिजनमा मात्रै देखिएकी नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापालाई एक्कासी आफ्नो स्कुलको खेल मैदानमा देखिए पछि बेसीसहर नगरपालिका, १ उदीपुरस्थित जनकल्याण माविका विद्यार्थीहरु दंग परे। आश्चर्य चकित नजरले उनीतिर हेर्दै विद्यार्थीहरु एकाएक उनलाई घेरा हाल्दै ठूला विद्यार्थीले खल्तीबाट मोबाइल झिकेर भटाभट सेल्फी खिच्न थाले भने साना विद्यार्थी दङ्ग परेर हेरिरहे।

विद्यार्थीहरुको ठूलो भीडभाड छिचोल्दै खेलमैदान छेवैको मञ्च पुगेकी नायिकाले रमाईला र चलचित्र क्षेत्रका रंगीन विषयमा केही भन्लिन् भन्ने लख काटे सबैले। तर माईक्रोफोन समाउँदै शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै उनले बालविवाहका विरुद्धमा प्रवचन दिएपछि भने सबैजना मुखामुख गर्न थाले।

बालविवाह विरुद्ध सचेतना जगाउने अभियानका क्रममा यहाँ आइपुगेकी नायिका थापा शुक्रबार दिनभरी शिक्षक, विद्यार्थी र अभिभावकहरु बीच सोही विषयमा जानकारी गराउँदै व्यस्त भईन्।

‘छोरीका निम्ति स्वर्णिम भविष्य नेपाल महाअभियान, बालविवाह विरुद्ध संकल्प यात्रा’ अन्र्तगत विद्यार्थी, शिक्षक तथा अभिभावक मार्फत् सचेतना अभिवृद्धिका लागि उनले सरोकारवालाहरुलाई अभिमुखीकरण गराएकी हुन्। बेसीसहरको उदीपुरस्थित जनकल्याण मावि र सुन्दरबजार ९ भोटेओडार स्थित भक्तिनमुना माविमा नायिका एवं बाल विवाह विरुद्धको अभियानकी अभियान्त थापाले बाल विवाह विरुद्ध सचेतनामूलक प्रशिक्षण दिइन।

कलिलै उमेरमा बालबालिकाको विवाह हुँदा त्यसले उनीहरुको शारिरीक, मानसिक, शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव पर्ने भएकाले सानो उमेरमा विवाह गर्न नहुने बताइन। बाल विवाहका कारण बालबालिकाको भविष्य अन्यौल र अन्धकारमय हुने भएकाले बालबालिका स्वयं सचेत हुन उनले आग्रह गरिन। कुनैपनि काम गर्दा उचित सुझवुझका साथ गर्नुपर्नेमा भविष्य सँग जोडिएको विवाहजस्तो महत्वपूर्ण कर्ममा ख्यालठट्टा गनै नहुने तर्क उनले पेश गरिन। ‘साना नानीबाबुहरु आफ्नो भविष्य बारे धेरैकुरा जान्न र बुझ्न सक्दैनन्,’ थापाले शिक्षक र अभिभावकलाई ईंगित गर्दै भनिन्, ‘उनीहरुको संरक्षक र मार्गदर्शक तपाई हामी हो, त्यसैले हामी चैं यस विषयमा असाध्यै जिम्मेवार बन्नु जरुरी छ।’
    
२१ औं शताब्दीमा पनि बालिकाहरु छाउगोठमा मर्नु पर्ने, पढाईबाट वञ्चित हुनुपर्ने, घर धन्दामै भुल्नु पर्ने, कलिलै उमेरमा विवाह गरेर पारिवारिक बोझ थाम्नु पर्ने, कसैबाट हेपिनु चेपिनु र जबरजस्ती करणीको शिकार बन्नु पर्ने अवस्था रहेकाले आफु यो अभियानमा सहभागी भएको उनले बताईन्। शिक्षा वा अन्य सबैखालका सचेतना विद्यालयबाटै समुदाय सम्म पुग्ने भएकाले आफूले विद्यालयमै सचेतनामूलक कार्यक्रम गरेको नायिका थापा बताउँछिन् । नायिका थापाले आफ्ना चलचित्रमा समेत महिलामाथि हुँदै आएका विभेद, हिंसा विरुद्धका विषय एवं महिला सशक्तिकरण, उत्पे्ररणा र सचेतनामूलक सामाग्री समावेश गराउँदै आएकी छन। ‘मेरो देशमा विशेषगरी छोरीहरुको सुनौलो भविष्य र उनीहरुमा सबैखाले सुरक्षाको ग्यारेन्टी खोज्दैछु,’ उनी भन्छिन्, ‘बाल विवाहलाई रोक्न सकियो भने मात्रै उनीहरुको भविष्य उज्यालो हुन्छ भन्नेमा म विश्वस्त पनि छु।’

उनको प्रशिक्षण पछि आफुभित्र बेग्लै आँट र विश्वास पलाएको जनकल्याण मावि कक्षा ८ की छात्रा कृति गुभाजुले बताइन। ‘पठाई नै मुख्य कुरा हो,’ उनले भनिन्, ‘तर के गर्नु पढ्ने उमेरमा विवाह गरेर पठाउने चलन अझैपनि हाम्रो गाउँघरमा छ।’ त्यस्तै भक्ति नमुना मावि कक्षा १२ की छात्रा सुस्मिता कार्कीले पनि नायिका थापाको प्रशिक्षण पछि छोरीहरु शारिरीक, मानसिक, शैक्षिकरुपमा सक्षम भएमा पारिवारिक जीवन राम्रो सँग अघि बढाउन सक्ने विषयमा आफूले वकालत गर्ने बताइन। जिल्ला बालक्लव सञ्जालकी सचिव समेत रहेकी कार्की आगमी दिनमा बालक्लबमार्फत् पनि यस विषयमा थप प्रभावकारी रुपले सचेतनामूलक कार्यक्रम गर्ने बताउँछिन्।

नवनिवार्चित प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र सामाजिक अगुवाहरुका विच उचित समन्वय गरेर अघि बढेमा केहीवर्षमा बाल विवाह, लैङ्गिक हिंसा लगायतका विरुद्ध उपलव्धीमूलक काम गर्न सकिने नायिका थापा बताउँछिन्।

बालसंरक्षणका विभिन्न कार्यक्रम मार्फत् बालबालिकालाई जानकारी गराईएको भएपनि अभिभावकसम्म ति विषयवस्तु प्रभावकारी ढंगले लैजान नसकेको बालबालिकाको क्षेत्रमा कृयाशिल ग्रामिण सामुदायिक विकास केन्द्र(आरसीडिसी)का निर्देशक राजेन्द्र बोहरा बताउँछन्। ‘विगत डेढ दशक देखि हामी बालबालिका सँगै काम गरिरहेका छौं,’ बोहराले भने, ‘तुलनात्मक रुपमा धेरै परिवर्तन भएको छ तर सन्तुष्टि गर्ने अवस्थामा पुग्न नसकेकै हो।’

प्रकाशित: २८ पुस २०७४ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App