७ वैशाख २०८१ शुक्रबार
अर्थ

रेड पान्डा चिनेपछि स्थानीय दंग, संरक्षणमा सक्रियता

खोटाङ– पर्यटन प्रबद्र्धनका लागि खोटाङको उत्तरी गाविस फेदीका स्थानीयबासी रेडपाण्डाको संरक्षणमा जुटेका छन्। स्थानीय साम्पाङ (राई) भाषामा ‘कुँदो’ भनेर चिनिने लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको पहिचान भएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन्।

आफ्नै सामुदायिक वनमा पाइने रेडपाण्डाको पहिचान भएपछि यसको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनका लागि जंगल क्षेत्रमा रेडपाण्डाको फोटोसहितको होर्डिङबोर्ड राखेर अन्तरक्रिय, छलफल तथा सचेतनामूलक गतिविधि शुरु गरिएको स्थानीय फुङ्गालुङ सामुदायिक वन समुहका अध्यक्ष ज्ञानकुमार राईले बताए।

मकालु र सगरमाथा राष्ट्रिय निकुञ्जको श्रृङखलासँग जोडिएको बगाले सामुदायिक वन, चिलिम लाहुरे सामुदायिक वन, फुङगालुङ सामुदायिक वन र छिमालुङ सामुदायिक वनमा करिब दुई दर्जनको संख्यामा रेडपाण्डा रहेको स्थानीयको अनुमान छ। तर, यसको आधिकारिक पुष्टी हुन बाँकी रहेको जिल्ला वन कार्यालयले जनाएको छ। गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित वनमा पाइने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने र जिविकोपार्जनमा सहयोग पुग्ने भएकाले स्थानीय यसको संरक्षणमा लागेका हुन्।

शैक्षिक क्यालेण्डरमा राखिएको रेडपाण्डाको फोटो र आफ्नो जंगलमा पाइने जनावरको अनुहार मिलेपछि उनीहरुले आफ्नो जंगलमा पाइने रेडपाण्डाको पहिचान गरेका थिए। आफ्नै गाउँको जंगलमा प्रायः एक्लै हिँडडुल गर्ने, मालिङ्गोको टुसा र पात खाने रेडपाण्डाको बसोबास रहेको थाहा पाएपछि स्थानीयबासी दंग छन्।

‘सुरुमा त रेडपाण्डालाई चिनेका थिएनौं,’ फेदीका स्थानीय धनकुमार राईले भने, ‘जब यसको पहिचान ग¥यौं, त्यसपछि गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरक्षणका काम थालिएको हो।’ जंगलमा घाँसदाउरा काट्न र गोठाला गएको बेलामा रेडपाण्डा भेटिने गरेको छ। स्थानीयका अनुसार वनमा रेडपाण्डा चरेको स्थान, बसेको ठाँउ, खेलेको ठाउँ, दिसालगायतका चिन्हहरु प्रशस्त मात्रामा देख्न सकिन्छ। अन्दाजी ५ केजी तौल बराबरको रेडपाण्डा मान्छेसँग पनि आर्कर्षित हुने गरेको स्थानीयबासीको भनाई छ। अन्य जंगली जनावर तथा मान्छेसँग नडराउने रेडपाण्डालाई अन्य मांसाहारी जनावरले सिकार गर्ने भएकाले यसको अस्तित्व संकटमा पर्दै गएको छ।

फेदीबाहेक जिल्लाको पाथेका, चिउरीडाँडा र निर्मलीडाँडाका सामुदायिक वनमा समेत लोपोन्मुख वन्यजन्तु
रेडपाण्डाको बसोबास रहेको स्थानीयको दाबी छ। फेदीको बगाले सामुदायिक वन, चिलिम लाहुरे सामुदायिक वन, फुङगालुङ सामुदायिक वन र छिमालुङ सामुदायिक बन बाहेक चिउरीडाँडाको सिस्नेहर्कटे सामुदायिक वन, निर्मलीडाँडाको गोपिनी नायपा सामुदायिक वन र पाथेकाको कोप्चेभालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जङ्गगलमा रेडपाण्डाको बसोबास रहेको बताइएको छ।

रेडपाण्डा नेटवर्क नाम एक अन्तर्राष्ट्रिय संस्थाले केही वर्षअघि गरेको अनुसन्धानबाट पनि फेदी गाविसको थामखर्क, चिलिम लाहुरे, बगाले, छेउलाहाने, फुङ्गालुङ, पौडीपाखा, छिमालुङ, पाथेका गाविसको कोप्चे, मेरुङ, चारसाँढे, खार्ताम्छा गाविसको भिरपानी तथा सुङ्देलको दयालुबमार वनपाला सामुदायिक वनमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो।

हालसम्म इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्ला तथा सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालुबरुण राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, लाङ्टाङ् राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्षलगायतका क्षेत्रमा मात्र रेडपाण्डा पाइने गरेको छ। २ हजार ४ सय मिटरदेखि ४ हजार मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई हिमाली पारिस्थतिक प्रणालीको सुचक पनि मानिन्छ।

 

प्रकाशित: २६ श्रावण २०७३ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App