coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘नेताको फाइदा हेरेर विकासका काम हुन्छन्’

राजेन्द्र खड्गी, अभिनेता

तपाईंलाई मनपरेको सहर कुन हो ?
मलाई हेटौँडा धेरै सुन्दर लाग्छ । मेरो जन्म पनि हेटौंडामै भएको हो । हेटौँडालाई मैले बाल्यकालदेखि नै चिन्न पाएँ । काठमाडौंको अस्तव्यस्तभन्दा हेटौँडा नै राम्रो छ, व्यवस्थित र प्रदूषणमुक्त छ । सडक पनि फराकिला छन् । 

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
मैले युरोपका धेरै सहर घुमेको छु । त्यहाँका सहर सुन्दर र व्यवस्थित छन् । जापान, अस्ट्रिया, जर्मन, पोर्चुगल, बेलायत, फ्रान्स, कोरियालगायत एक दर्जनभन्दा बढी देश पुगेको छु । यी देशका सहर धेरै व्यवस्थित लाग्यो । ती सहरमा फोहोर कतै देखिनँ । मलाई ज्यादै मनपरेको सहर हङकङ पनि हो । हङकङ सहर हेर्दै ऊर्जा मिल्ने खालको छ । 

नेपालका सहर कस्तो लाग्छ ?
नेपालका सहर विकासमा धेरै पछि छन् । आधुनिकता र व्यवस्थापनका रूपमा विदेशी सहर हामीभन्दा कैयौँ गुणा अघि छन् । यो हिसाबमा नेपालका सहर विदेशी मुलुकका भन्दा धेरै पछाडि छन् । विकसित देशका सहर आधुनिकताको अवधारणाअनुरूप विकास भइसकेका छन् । ऐतिहासिक, मौलिक र प्राकृतिक पक्षलाई नियाल्दा नेपाल धेरै अगाडि छ । यहाँका सहरमा पाइनेजस्तो अनुकूल मौसम कतै पाइँदैन । नेपालका सहरमा पुराना कलाकृति छन् । हाम्रा सहरका मौलिकता, प्राचीन सम्पदा, कलाकृति नियाल्न पाउँदा आनन्द लाग्छ । विकसित देशका सहरमा भने हाम्रोजस्तो प्राकृतिक हरियाली र ऐतिहासिक ठाउँ भेट्न मुस्किल हुन्छ ।

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहर सबै किसिमबाट व्यवस्थित हुनुपर्छ । विदेशका सहर हेर्दै रनभुल्ल पार्ने किसिमका छन् । हाम्रा सहर पनि त्यस्तै बन्ने हो भने पर्यटकको ओइरो लाग्थ्यो होला । मेरो सपनाको सहर यस्तो होस्– सहरमा बस्ने एकले अर्कोलाई अवरोध नगरून् । सहरको गल्लीमा कतै फोहोर नभेटियोस् । सडक व्यवस्थित होऊन् । सेवा–सुविधा लिन झन्झट नहोस् । 

हाम्रो देशका सहरको विकास कसरी होला ?
सत्तामा हुनेको सोच विकास नभएरै हो, सहरको विकास नभएको । माथिल्लो निकायमा बस्नेले काम नगर्ने र भ्रष्टाचार गर्न पल्केपछि सहरको विकास नभएको हो । सरकार बलियो र पारदर्शी भएको भए, जनताले यसरी दुःख खेप्नुपर्ने अवस्था आउँदैनथ्यो । यहाँ एउटा सानो सडक योजनामा पनि ठूलो धेरै राजनीति हुन्छ।

उपत्यका कस्तो लाग्छ ?
म ३५ वर्षपहिले काठमाडौं पस्दा सहर अति नै व्यवस्थित थियो । अहिले जनघनत्व बढी भएपछि सहर अस्तव्यस्त भएको छ । हिजोआज उपत्यकाका मुख्य चोकमा खुट्टो राख्ने ठाउँ हुन्न । सबैतिर मानिस र सवारीसाधनको चाप देखिन्छ । सडक निर्माणले गर्दा सवारी आवागमनमा अवरोध परेको छ । सडकको धुलोले उपत्यकामा प्रदूषण बढेको छ । यस्तै कारण सम्झँदा उपत्यकामा बस्नै मन लाग्दैन ।

सहर यति धेरै कुरूप हुनुको कारण के होला ?
सरकारी निकायमा बस्ने कर्मचारी र नेताको भ्रष्ट मनोवृत्तिका कारण सहर कुरूप भएको हो । सबै पक्ष आफ्नो पेसामा जिम्मेवार भएर लागिपरेको भए सहर यति धेरै कुरूप हुँदैनथ्यो । यहाँ जनताको फाइदाभन्दा पनि नेताको फाइदा हेरेर विकास निर्माणका काम सञ्चालन हुन्छन् । यस्तै–यस्तै मानसिकता र प्रवृत्तिका कारण सहर बिग्रिएको हो । 

सहर कसरी सफा राख्न सकिएला ? 
सहर तब मात्रै सफा हुन्छ, जब सहरवासीको सोच सफा हुन्छ । हाम्रा सहरवासी अनुशासित नभएकै कारण फोहोर भएको छ । सबैले आफ्नो ढोकाअगाडि फोहोर थुपार्छन् । तर, सम्बन्धित ठाउँमा फोहोर फाल्नुपर्छ भन्ने चेतना छैन । आफ्नो मात्रै हेर्दा हाम्रो सहरको रूप बिग्रिएको छ । जताततै फोहोर र प्रदूषण बढेको छ। 

अर्को कुरा, सहर सफा र सुन्दर राख्न सरकार पनि लाग्नुपर्छ । भइरहेका विकास निर्माणका काम सरकारी निकायले छिटो सक्नुपर्छ । सडकआसपास रूख–बिरुवा रोप्नुपर्छ । धुवाँधुलो, ट्राफिक जाम हुनुहुँदैन । पार्किङको राम्रो व्यवस्था हुनुपर्छ । यसमा जिम्मेवार निकायले काम गर्नुपर्छ । यति भयो भने सहर केही व्यवस्थित हुन सक्छ । 

उपत्यकाको मनपर्ने पक्ष के हो ?
यहाँको मौसम सदावहार लाग्छ । काठमाडौंको जाडो र गर्मी हाम्रो शरीरले पचाउने खालको हुन्छ । यहाँका सम्पदा, मठ–मन्दिर राम्रो लाग्छ । काठमाडौंमा सबैखाले सेवा–सुविधा पाइने भएकाले पनि यो ठाउँलाई धेरैले रोजेका हुन् । 

काठमाडौंको मननपर्ने पक्ष ?
यहाँका मननपर्ने पक्ष धेरै छन् । भीडभाड, धुवाँधुलो, ट्राफिक जाम र अव्यवस्थित पार्किङ नै उपत्यकाका मुख्य समस्या हुन् । यी समस्या झन्झन् चुनौतीपूर्ण बन्दै गएका छन् । अब पनि सरकारले यसतर्फ नसोच्ने हो भने उपत्यका बस्नै नमिल्ने सहर नबन्ला भन्न सकिन्न । 

काठमाडौंमा घुमघाम कत्तिको गर्नुहुन्छ ?
खासै मनपर्दैन । एक त सहरमा घुम्न र आनन्दको सास लिने एकान्त ठाउँको अभाव छ, अर्को कुरा काममा व्यस्त भइन्छ। 
काठमाडौंको मनपर्ने खानेकुरा ?
यहाँका सबैखाले खानेकुरा मीठो लाग्छ।

पछिल्लो समय पुगेको सहर ?
तीन महिनापहिले म कोरिया गएको थिएँ । कोरिया अति नै विकसित भइसकेको रहेछ । हामीलाई त्यो स्थानमा पुग्नका लागि अझै हजार वर्ष लाग्छ । कोरिया मेहनेती मान्छे बस्ने ठाउँ हो । यहाँ खेतीपाती पनि राम्रो हुँदो रहेछ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ? 
मलाई तिब्बत जाने मन छ । कसै गर्दा पनि यो ठाउँ जाने साइत जुरेको छैन । हेरौँ, एक न एक दिन समय मिल्ला नि। 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २८ पुस २०७४ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App