coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पार्किङ नै मुख्य चुनौती

भित्री सहरमा चारपांग्रे सवारी निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा पार्किङस्थल अभावले चुनौती थप्ने देखिएको छ।

आसपासमा पार्किङस्थल नभएकाले सवारी निषेध गर्ने निर्णय कार्यान्वयनमा चुनौती थपिने देखिएको हो। महानगरपालिकाले आगामी मंगलबारदेखि काठमाडौंका भित्री सहरमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म चारपांग्रे सवारी निषेध गर्ने निर्णय गरिसकेको छ। 

इन्द्रचोकका सन्तोष बजिमय महानगरपालिकाले भित्री सहरमा पार्किङस्थलको व्यवस्था गरेर मात्र निर्णय कार्यान्वयन गर्दा राम्रो हुने बताउँछन् । ‘महानगरपालिकाले भित्री सहरमा चारपांग्रे निषेध कार्यक्रम ल्याएर राम्रो सुरुवात गरेको छ। तर यहाँ ठूलो संख्यामा सेवाग्राही र पर्यटक आउँछन्, उनीहरूको सवारीसाधन कहाँ व्यवस्थापन गर्ने भन्ने महानगरसँग योजना भएजस्तो देखिँदैन,’ उनले भने, ‘महानगरले प्रचारमुखीभन्दा व्यावहारिक योजना ल्याउँदा सबैलाई फाइदा नै पुग्थ्यो।’ उनी महानगरलाई पार्किङ समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना अघि बढाउन सुझाव दिन्छन्।

काठमाडौंका भित्री सहर र आसपासमा पार्किङस्थल नभएकाले सवारी निषेध गर्ने निर्णय कार्यान्वयनमा चुनौती थपिने देखिएको हो।

महानगरले चारपांग्रे सवारी निषेध गर्ने निर्णय गरेका क्षेत्रमा काठमाडौंका पुराना व्यापारिक केन्द्र र सम्पदा रहेका छन्। महानगरपालिकाका वडा– १७, १८, १९, २२, २४, २५ र २७ लगायत वडा कार्यालयको अगुवाइमा इन्द्रचोक–असन, इन्द्रचोक–भेडासिंह, ज्याठा–त्यौड, ठहिटी–असन, कमलाक्षी–असन, महाबौद्ध–असन, इन्द्रचोक–वंटुलगायत क्षेत्रमा चारपांग्रे सवारी गुडाउन निषेध गर्ने निर्णय गरिएको हो। 

निर्णय भए पनि ती स्थानमा व्यवसाय गर्दै आएका व्यापारी, किनमेल गर्न आउने ग्राहक तथा पर्यटकको चारपांग्रे सवारीसाधन कहाँ राख्ने भन्ने गृहकार्य गरिएको छैन । त्यसले व्यापारी तथा सेवाग्राहीलाई अन्योलमा पारेको छ । 
महानगरीय प्रहरीवृत्त जनसेवाका प्रहरी निरीक्षक विदुरकुमार थापाले भित्री सहरका व्यापारीले अन्डरग्राउन्ड पार्किङ नै भाडामा प्रयोग गरेकाले समस्या भएको बताए। ‘केही व्यापारीले अन्डरग्राउन्ड पार्किङस्थललाई कमाइ खाने भाँडो बनाइरहेका छन्,’ उनले भने, ‘जसले पनि भित्री क्षेत्रमा पार्किङ स्थल अभाव भइरहेको हो।’ 

महानगरको निर्णयअनुसार सवारी निषेध गरिएका क्षेत्रमा चारपांग्रे सवारी चलाए पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना गरिनेछ। 

महानगरपालिका– २५ का वडाध्यक्ष नीलकाजी शाक्यले पुराना व्यापारिक केन्द्र र सम्पदा क्षेत्रलाई व्यवस्थित गर्न चारपांग्रे सवारी निषेध गर्न लागेको बताए। उनले पार्किङस्थल अभाव रहेको स्विकार्दै समाधानका उपाय खोजी भइरहेको दाबी गरे। 

‘महानगरपालिकाले पार्किङस्थल बनाउन खोजिरहेको छ, भन्नेबित्तिकै पर्याप्त पार्किङस्थल बनाउन पनि सकिँदैन,’ उनले भने, ‘अहिले भइरहेका केही स्थानलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ।’ 

महानगरपालिकाले भने चारपांग्रे सवारी निषेध गरेसँगै पार्किङका लागि खुलामञ्च, मखनचोक, नरदेवी जाने मन्दिरनजिक पार्किङ गर्न सकिने जनाएको छ।

कता पुग्यो स्मार्ट पार्किङ ?
महानगरपालिकाले अघि सारेको स्मार्ट सवारी पार्किङ बनाउने योजनाले अझै पनि गति लिन सकेको छैन । उपत्यकाको अनियन्त्रित र अव्यवस्थित पार्किङलाई सुधार्न भन्दै महानगरले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ बनाउने योजना अघि सारेको थियो।

महानगरले न्युरोड धर्मपथमा र टेकुमा स्मार्ट सवारी पार्किङ बनाउने योजना बनाएको थियो । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले स्मार्ट पार्किङबारे अध्ययन भइरहेको दाबी गरे। ‘उपत्यकामा जताततै अव्यवस्थित पार्किङले सवारीसाधन अस्तव्यस्त देखिएको छ, त्यसैले नीति तथा कार्यक्रममै स्मार्ट पार्किङको योजना अघि सारेका छौँ,’ उनले भने, ‘स्मार्ट पार्किङको डिजाइन भइरहेको छ, छिटै डिजाइन तयार पारेर निर्माण कार्य अघि बढाइनेछ ।’ महानगरले स्मार्ट पार्किङ बनाउन धर्मपथमा एक रोपनी ११ आना र टेकुमा सात रोपनी जग्गा उपलब्ध गराउने जनाएको छ। 

प्रकाशित: २८ पुस २०७४ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App