coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

संगीतका माध्यमबाट बौद्ध शिक्षा फैलाइँदै

काठमाडौँ -थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले चाबहिलस्थित चारुमती बुद्ध विहारमा आउने दर्शक र स्रोतालाई शान्त र मनोरञ्जित गराएको छ ।

नेपाल राष्ट्रिय ज्ञानमाला समितिको आयोजनामा बिहीबारदेखि तीन दिनसम्म शुरु भएको ‘नवाै राष्ट्रिय ज्ञानमाला सम्मेलन’मा विभिन्न जिल्लाबाट सहभागी भजन समूहले संगीतमा लयबद्ध गीति भाका प्रस्तुत गरी बौद्ध शिक्षालाई फैलाएका छन् ।

बुद्धले आफ्नो जीवनकालमा दिएका शिक्षा तथा सन्देशलाई संग्रह गरी तीन भागमा विभाजन गरी त्रिपिटकको विकास गरियो । पछिल्लो समयमा यिनै ज्ञानलाई गीतका भावनामा भजन बनाएर स्रोतालाई सुनाउन विकास गरिएको पद्धतिलाई ज्ञानमाला भनिन्छ ।

देशका विभिन्न ४८ जिल्लाका भजन समूहको सहभागितामा भएको उक्त कार्यक्रममा स्थानीय बौद्ध संघ संस्थाले आवश्यक सहयोग जुटाएका छन् । समितिका अध्यक्ष किरणकुमार जोशीले बुद्धका उपदेशलाई संगीतमय भावनामा गाएर भक्तजनलाई शिक्षा दिनका लागि भजनले प्रेरणा प्रदान गर्ने बताए ।

बुद्धले आफ्ना जीवनका विभिन्न चरणमा अनुभव गरेका विषयवस्तु तथा ज्ञानका आधारमा विकास भएका, त्रिरत्न, चार आर्य सत्य, पञ्चशील, आठ मार्गलगायत अधिकांश विषय उक्त भजनमा समावेश गरिएको हुन्छ ।

अहिलेसम्म २०० भन्दा धेरै प्रकारका भजन विकास गरिएको छ ।विसं १९९४ मा स्वयम्भू महाचैत्यबाट भिक्षु तथा उपासकले बुद्ध वचनका विभिन्न आयामलाई समेटेर शिक्षा दिने उद्देश्य राखेर भजनमय गीत सिर्जना गरिएको भक्तजन राज्यलक्ष्मी शाक्यले जानकारी दिए।

नेवारी भाषाबाट शुरु गरिएका ती भजन विभिन्न जिल्लामा सञ्जाल विस्तार गर्ने क्रममा पछि आएर नेपालीलगायत अन्य केही भाषामा पनि अनुवाद गरिएको इतिहास पाइन्छ । सम्बन्धित धर्मावलम्बीले अनौपचारिक रुपमा ज्ञानमाला भजनलाई निरन्तरता दिँदै आएका छन् । प्रत्येक तीन वर्षमा एक पटक सम्मेलनको आयोजना गरी ज्ञानमालालाई व्यवस्थित रुपमा अगाडि बढाउन विसं २०५० मा पहिलोपटक ज्ञानमाला भजन खलःको आयोजनामा सो सम्मेलन स्वयम्भूमा आयोजना गरिएको थियो ।

ज्ञानमाला महासंघको आयोजनामा दोस्रो पटक विसं २०५३ मा पाल्पाको तानसेनमा, सोही महासंघको आयोजनामा तेस्रो विसं २०५६ भक्तपुरमा सम्मेलन सम्पन्न गरिएको थियो । विसं २०५९ मा नेपाल राष्ट्रिय ज्ञानमाला समितिलाई विधिवत् रुपमा स्थापना गरिएपछि सोही वर्ष सुनसरीको धरानमा चौथो सम्मेलन गरियो । त्यसपछिका सबै सम्मेलन सोही संस्थाले गर्दै आएको छ ।

विसं २०६२ मा ललितपुरमा पाँचौँ सम्मेलन, विसं २०६५ मा रुपन्देहीमा छैटौँ, विसं २०६८ मा काठमाडौँको कीर्तिपुरमा सातौँ, विसं २०७१ मा काभ्रेको पनौतीमा आठौँ सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।

बौद्ध साहित्यमा ज्ञानमाला भजनको ठूलो महत्व रहेको भएपनि यो व्यापक रुपमा फैलाउन नसकिएको अवस्थामा नयाँ ढङ्गबाट यसलाई सर्वसाधारणमा बुझाउन आवश्यक देखिएको चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्वी धम्मले बताए।

शाक्यमुनि गौतम बुद्धले बोधिसत्व प्राप्त गरेपछि करिब ४५ वर्ष धर्म प्रचारका सन्दर्भमा तयार भएका ८४ हजार बुद्धवचनलाई व्यवस्थित रुपमा संग्रह गरिएपछि बौद्ध दर्शनलाई विभिन्न मान्यताको विकास भएर फरक फरक अभ्याससँगै विभिन्न सम्प्रदाय शुरु भएको इतिहास पाइन्छ । त्यसमध्ये थेरवादी एउटा प्राचीन परम्परा र मान्यताका रुपमा लिइएको छ ।

सम्मेलनमा श्रोता बन्न आउनुभएकी सिर्जना श्रेष्ठले यस्ता भजनले शान्त र आनन्दको अनुभूति गराउने विश्वास व्यक्त गर्दै ती बौद्ध शिक्षा तथा उपदेश विश्व शान्ति, अहिंसा मानव कल्याण तथा प्राणी हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिए ।रासस

प्रकाशित: २८ पुस २०७४ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App