७ वैशाख २०८१ शुक्रबार
समाज

अन्य माग पूरा नहुँदासम्म अनशन : केसी

काठमाडौं- स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बर्खास्ती, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट खोसिएका अधिकार फिर्तालगायत माग पूरा नभएसम्म अनशन जारी राख्ने घोषणा गरेका छन् ।

‘प्रमुख माग छानबिन अदालती प्रक्रियामा गएको छ । अब त्रिवि पदाधिकारीको बर्खास्ती, आइओएमबाट खोसिएका अधिकार फिर्ता, चिकित्सा शिक्षा आयोग गठनलगायत माग पूरा हुनुपर्छ।’


आफूले प्रमुख मागका रुपमा उठाएको प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया सर्वोच्च अदालतबाटै सुरु भएको भन्दै केसीले अन्य माग पूरा गर्न अनशनलाई निरन्तरता दिने बताएका हुन् । उनी चार दिनदेखि अनशनमा छन् । यो उनको १४औं अनशन हो ।

केसीले त्रिविका उपकुलपति तीर्थ खनियाँलगायत  पदाधिकारीको बर्खास्ती, आइओएमका खोसिएका अधिकार फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग गठन, आइओएम डिनमा डा. जगदीशप्रसाद अग्रवाललाई  निरन्तरता दिनुपर्नेलगायत माग राखेका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिनलगायत माग राखेर केसी सोमबारदेखि अनशनमा छन् । सोही दिन न्यायालयको अपहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशअनुसार अनशनस्थल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट पक्राउ केसीले दुई रात प्रहरी हिरासतमा बिताए । केसीलाई मंगलबार र बुधबार सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।

अपहेलना मुद्दामा बुधबार बहस सकिएपछि सर्वोच्च अदालतको संयुक्त इजलासले केसीलाई साधारण तारेखमा छाड्न र प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो । उनले हिरासतमा पनि अनशन जारी राखेका थिए ।

रिहा भएपछि पनि केसीले अनशनलाई निरन्तरता दिएका छन् । उनी त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागको एउटा कोठामा अनशन बसेका छन् । प्रमुख माग छानबिन अदालती प्रक्रियामा गएको भन्दैै केसीले अन्य माग पूरा गर्न सरकारलाई दबाब दिन अनशनलाई निरन्तरता दिएको बताए ।
केसीले चिकित्सा शिक्षा आयोग गठन तत्काल गर्न पनि माग राखेका छन्

१३औं अनशनक्रममा चिकित्सा शिक्षासम्बन्धी विधेयक सदनबाट पारित गर्न एमाले र माओवादी बाधक बनेपछि सरकारले अध्यादेशमार्फत ऐन ल्याएको थियो । सोही ऐनअनुसार तत्काल आयोग गठन गर्नुपर्ने केसीको माग छ । अधिकांश सदस्य पदेन हुने आयोगमा कार्यकारी उपाध्यक्ष नियुक्ति प्रक्रिया थाल्न उनले माग गरेका छन् ।

त्रिवि पदाधिकारीले डा. अग्रवाललाई हटाएर आइओएममा नयाँ डिन नियुक्तिका लागि चलखेल गरेको केसीको आरोप छ । ‘माफियाहरुको इसारामा नयाँ डिन बनाएर फेरि निजी मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र तिनकै पक्षपोषण गर्ने चलखेलमा त्रिविका पदाधिकारी लागेका छन् । अब उपकुलपति खनियाँसहितका पदाधिकारी बर्खास्त हुनुपर्छ,’ उनले भने ।

केसीले आइओएम डिनमा विधिवत र वरिष्ठता आधारमा अग्रवाल नियुक्त भएकाले उनैलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतको फैसलाअनुसार  चार दिनका लागि डिनमा पुनर्वहाली भएका डा. शशी शर्माको पदावधि बिहीबारदेखि सकिएको छ । उनको पदावधि सकिएपछि अदालतको आदेशबाट अग्रवाल विस्थापित भएको व्याख्या गर्दै नयाँ डिन बनाउने दाउमा त्रिवि पदाधिकारी लागेको केसीले बताए ।
केसीले पूर्वाधार नपुगेको काठमाडौं घट्टेकुलोस्थित नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा त्रिविका पदाधिकारी सामेल भएको आरोप लगाएका छन् । ‘मेडिकल माफियासँगको मिलेमतोमा पूर्वाधार नपुगेका कलेजलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबण्डामा नियुक्त त्रिवि पदाधिकारीलाई बर्खास्त गरियोस्,’ उनले भने । उनले त्रिवि शिक्षण अस्पताल सुधारका लागि विभिन्न माग पनि राखेका छन् ।

सर्वोच्चको आदेश सकारात्मक
डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक र नागरिकता प्रमाणपत्र छानबिन गर्नुपर्ने आफ्नो मागबमोजिम सर्वोच्च अदालतबाट आएको आदेश सकारात्मक भएको बताएका छन् ।

सर्वोच अदालतको संयुक्त इजलासले पराजुलीले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपि तथा उनको उमेर सम्बन्धमा न्यायपरिषद्बाट भएको निर्णय झिकाउन आदेश दिएको छ । इजलासले पुस २३ मा डा. शशी शर्माको मुद्दामा सर्वोच्चले दिएको  फैसलासहित मिसिल झिकाउन पनि आदेश दिएको छ।

केसीले अदालतप्रति आफ्नो सम्मान र निष्ठा रहेको दोहो¥याए । केसीले आफूले प्रधानन्यायाधीश पराजुलीको सम्बन्धमा उठाएका प्रश्नलाई सर्वोच्चले न्यायिक छानबिन दायरामा राखेको भन्दै प्रशंसासमेत गरे । ‘न्यायिक छानबिनपछि सत्य र तथ्यगत रुपमा निर्णय हुने कुरामा म विश्वस्त छु । छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज (पराजुली) कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ’, केसीको विज्ञप्तिमा उल्लेख छ।

केसीले पराजुली पदमा बहाल रहेसम्म न्याय सम्पादन प्रभावित हुने भन्दै आफूले उठाएको उनको राजीनामाको माग न्यायिक प्रक्रियाबाटै पुष्टि भएको  दाबीसमेत गरेका छन्।

समर्थनमा प्रदर्शन
डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले समर्थकहरुले बिहीबार पनि राजधानीमा प्रदर्शन गरेका छन्। दिउँसो १ बजे माइतीघरमा भेला भएका समर्थकहरुले केसीको समर्थनमा नाराबाजी गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अधिवक्ता ओम अर्यालले डा. केसीविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले ३ करोड नेपालीको मन दुखेको बताए । ‘अब सत्याग्रहको निसाना ओली हुन् । उनी पनि माफियाका मतियार हुन्,’ अर्यालले भने।
‘सोलिडारिटी फर डा. गोविन्द केसी अभियान’ का संयोजक डा. अभिषेकराज सिंहले ओलीले सत्याग्राही केसीको अपमान गरेको भन्दै नतिजा भोग्न तयार रहन चेतावनी दिए ।
 

प्रकाशित: २८ पुस २०७४ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App