८ वैशाख २०८१ शनिबार
अर्थ

दुध बिक्रीबाट एक वर्षमा ३८ करोड आम्दानी

मकवानपुर – मकवानपुर जिल्लामा दुध उत्पादन बिक्रीबाट एक वर्षमा करिब ३८ करोड रुपियाँ आम्दानी भएको छ। आर्थिक वर्ष २०७३/७४ मा मकवानपुरका ५५ वटा दुग्ध उत्पादक सहकारीबाट संकलित दैनिक औसत २० हजार लिटर दुध बिक्री गरी उक्त रकम आम्दानी भएको हो।

जिल्लामा उत्पादित दुध काठमाडौं, पोखरा, हेटौंडा लगाएका करिब २० वटा उद्योगले किन्ने गरेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणी दाहालले बताए। किसानबाट दुध संकलन गरी बिक्री गरेबापत जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले एक वर्षको अवधिमा २४ लाख ४२ हजार रुपियाँ नाफा कमाई गरेको उनले जनाए। अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दैनिक औसत ५ देखि ८ हजार लिटर बढी दुध संकलन भईरहेकाले दूध उत्पादन बढेको उनले अनुमान गरे।

जिल्ला दुग्ध उत्पादक सहकारी संघले चालू आर्थिक वर्षमा करिब ४६ करोडको रुपियाँको दुध कारोबार गर्ने लक्ष्य राखेकोमा पहिलो चौमासिकमै १८ करोड ४९ लाख रुपियाँको दुध कारोबार भइसकेको संघले जनाएको छ। सहकारीको बिहीबार हेटौंडामा आयोजित २५ औं वार्षिक साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक तोयानाथ दाहालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार जिल्लामा ५५ हजार लिटर दुध भण्डारण गर्न सक्ने क्षमता रहेको छ। जिल्लाका २७ वटा दुग्ध सहकारीले दुग्ध चिस्यान केन्द्र सञ्चालन गरिरहेका छन्। दाहालका अनुसार जिल्लामा ३८ वटा दुग्ध उत्पादक सहकारी संस्थाले मिल्क अनलाइजर मेसिन सञ्चालन गरिरहेका छन्।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भौगोलिक र हावापानीका दृष्टिले उपयुक्त दुध उत्पादनका लागि सरकारले बिशेष कार्यक्रम ल्याई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए। बर्षेनी लाखौको दुध र दुग्ध पदार्थ भारत र अन्य देशबाट आयात भइरहेको भन्दै उनले देशमै निर्वाहमुखी पशुपालनलाई बिकास गर्दै व्यवसायिक पशुपालनमा जोड दिनुपर्ने बताए।

३ नम्बर प्रदेश सांसद तथा नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले युवाहरुले लाज त्यागेर पशुपालन गरी देशलाई दुधमा आत्मनिर्भर बनाउनुपर्ने बताए। बिदेशमा जस्तो पनि दुःख र पीडा सहेर काम गर्नु भन्दा नेपालमै गौरव लायक पशुपालन र कृषि पेशा गर्न उनले युवाहरुलाई आग्रह पनि गरे।

सभामा संस्थाका अध्यक्ष बासुदेव अधिकारीले किसानलाई निर्वाहमुखी पशुपालनबाट व्यवसायिक पशुपालनमा लाग्न उत्प्रेरित गरी दुधको उत्पादन बढाउन सरकारले पनि बिशेष योजना ल्याउनुपर्ने बताए। कम लागतमा दूध उत्पादन कार्यक्रमलाई व्यापकताका साथ अघि बढाइदै घाँस खेती, हेसाइलेज निर्माण तालिमका कार्यक्रम संघबाट अगाडि बढाइने पनि अधिकारीले प्रतिवद्दता व्यक्त गरे। दूध किसान र दुग्ध सहकारीको हितमा आगामी वर्ष गर्ने कामको बारेमा जानकारी दिँदै अधिकारीले यातायात सुविधा पुगेको गाउँपालिकाहरुमा दुग्ध उत्पादक सहकारी संस्थाहरु गठन गरिने र उनीहरुलाई दूध संकलन सुरु गर्न तालिम, आर्थिक सहयोग, तथा भौतिक पूर्वाधारमा समेत सहयोग गरिने बताए।

पशुपालनमा भएको नोक्सानीलाई न्यूनीकरण गर्न कृषि विकास बैंकको सहजीकरणमा सहकारी संस्थामा सञ्चालित पशुधन संरक्षण कार्यक्रम अझ प्रभावकारी रुपमा सञ्चालन गरिने जिल्ला दुग्ध उत्पादक सहकारी संघले योजना बनाएको छ। आगामी वर्ष सहकारीमा लैङ्कि समानता र महिला सशक्तीकरण तालिम, नेतृत्व विकास तालिम, गोठ सुधार तालिम, पशुपालन तथा उन्नत आहार व्यवस्थापनसम्बन्धी तालिम पनि सञ्चालन गर्ने संघका अध्यक्ष अधिकारीको भनाइ छ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा सिन्तान, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, कृषि विकास बैंक हेटौंडाका निमित्त प्रमुख अच्युत ढुङ्गाना, हेटौंडा दुग्ध वितरण आयोजनाको प्रमुख गणेशकुमार यादव लगायतले व्यवसायिक पशुपालन गरी दूध व्यवसायमा राम्रो आयआर्जनको सम्भावना रहेकाले सवै पक्ष सचेत हुनुपर्ने बताए।

प्रकाशित: २७ पुस २०७४ १५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App