काठमाडौं- नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ। विनाविभागीयरुपमा रहेका माओवादी मन्त्रीहरुले राजनीनामा दिन लागेका हुन्। 'साँझसम्म प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिने तयारीमा छौं', विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले नागरिकज्यूजसँग भने, 'राजीनामा दिने र आ-आफ्नो काममा जाने तयारीमा छौं।'
माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठवन्धन बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए।
चार महिना अघि विनाविभागीय बनेपनि माओवादी मन्त्रीहरुले पदबाट राजीनामा नदिएपछि उनीहरुको आलोचना भएको थियो। जिम्मेवारीबाट हटेपनि उनीहरुले सरकारी सेवा सुविधा भने उपयोग गरिरहेका थिए।
माओवादीले निर्वाचनलाई सुनिश्चित गर्नको लागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको भन्दै आफुलाई बचाउ गर्दै आएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री रहेको वर्तमान सरकारमा कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका नौ जना मन्त्री र सात राज्यमन्त्री सहभागी थिए।
प्रकाशित: २७ पुस २०७४ १२:०१ बिहीबार