८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

मलाई जोक गर्न आउँदैन : हरिवंश आचार्य

शत्रुगते फिल्मको छायाङ्कन सकेर हरिवंश आचार्य पारिवारिक भ्रमणका क्रममा विभिन्न शहरहरुमा निस्किएका छन्। मंगलबार उनको परिवारले पाल्पाको तानसेन स्थीत होराईजन होम स्टेमा रात बितायो। सोही अवसरमा हास्य कलाकार हरिवंशसँग आचार्यसँग देशको समसामयिक परिस्थितिमा रहेर नागरिकन्यूजको लागि मुक्तिप्रसाद न्यौपाने लेगरेको कुराकानी।

आजकाल के गर्दै हुनुहुन्छ ?

मह सञ्चारले अहिले हामी ‘शत्रु गते’ भन्ने फिल्म बनाईराछम्। त्यसको सुटिङ्ग सकियो । त्यो सुटिङ्गको लागि करिब करिब पाँच महिना समय दिएर सुटिङ्ग सकिएको पिरियडमा यसो बाहिर घुम्न जाऔं भन्ने कुरा भयो । मेरो भान्जा पर्यटन व्यवसायी हो । यो र अन्य ठाउँहरुमा पनि होम स्टेको स्वाद लिउँ भनेर पारिवारिक भ्रमण गर्दैछु। टुरिजममा अहिले पनि पहुँचवाला व्यक्तिको मात्रै हालिमुहाली छ। जसले धेरै पैसा लगानी गर्न सक्छन् । टुरिजम भनेको उसको मात्रै सम्पत्ति भै राको छ । तर होम स्टे भएको ठाउँमा अन्यले पनि फाईदा लिन सक्छन् नी। पाल्पामा यति धेरै ऐतिहासिक ठाउँहरु छन् । यहाँको सँस्कृतिलाई जगेर्ना गर्न सकेमात्र होम स्टेको म्यूजियम बनाउन सकिन्छ । हेरिजेट टाईपकै घरहरु बनाउने । कंक्रिटको भवनहरु जहाँ पनि छन् । टुरिस्टहरु पनि घरमा बस्न रुचाउँछन् । होम स्टे भनेको विदेशीहरुलाई नेपाली संस्कृति पढ्ने बुझ्ने अवसरका रुपमा लिन्छन् । नेपालको आफ्नै किसिमको पर्यटनमा सम्भावना छ।

चिना हराएको मान्छे र हरिबहादुर पछि पाठकहरुले अरु कुनै उपन्यास पढ्न पाउँछन्, की पाउँदैनन् ?

मैले सोचिराको छु । २/३ वर्षमा केही न केही कुराहरु आउँछ। फुर्सदको समयमा केही कहिँलाई काम लाग्छ की भनेर टिपिराको छु त्यसलाई किताबको रुप दिन सकिन्छ । अर्कोकुरा मदन दाई र मैले काम गरेको ३८ वर्ष लाग्दैछ। यस समयमा हामिले बनाएको थुप्रै हास्यव्यङ्ग छन्। तिनीहरु भिडियोमा हेर्न र सुन्न सकिन्छ । तर अब त्यसलाई किताबको रुप दिन सकिन्छ । ईप्रहसन, गाउँखानेकथाहरु किताबको रुपमा प्रकाशन गर्न सके पछिसम्म रहन्छ भन्ने भाको छ । भिडियो, अडियो मेटिएर जान सक्छ त्यसैले पछिल्लो पुस्तालाई पहिले हास्यव्यङ्ग कसरि लेखिन्थ्यो, कसरि गरिन्थ्यो भन्ने ७/८ वटा किताब पनि लेखिन्छ होला । सायद वैशाख जेठमा कुनै एउटा किताब निकाल्ने १०० पेज जतिको किताब निकाल्ने योजना छ।

पर्दाभित्र र पर्दाबाहिर यहाँको जीवन कस्तो छ ?

म अरु बेलामा जोक गरेर हिन्दिन। मलाई आउँदा पनि आउँदैन । मलाई जहाँ पनि मान्छेले जोक गर्छन् तर मसँग त्यो नेचर छैन। म हाँस्य व्यङ्गको इमेज दिने भनेको टिभिमा, क्यामेरा अगाडी र रङ्गमञ्चमा मात्रै हो । त्यो भन्दा बाहेकको जीवनमा मलाई सरलता नै मन पर्छ।

कुनकुन देश पुगेर हास्यव्यङ्ग गर्नु भो ?

देश भनेर साध्य नै हुँदैन । मैले जहाँ नेपालीहरु बस्छन् धेरै ति करिब ३५ वटा देशहरुमा विभिन्न समयसमयमा पुगेको छु । अमेरिका, जापान, कोरिया, गल्फका देशहरुमा पटकपटक गएका छौं ।

डा. केसीको पछिल्लो अनशन र न्यायापालिकाको कुरा देशमा चर्चामा छ, यहाँ सामाजिक अभियान्ता पनि हुनुहुन्छ, के भन्नुहुन्छ ?

मान्छेले राम्रो चिजलाई समर्थन गर्नुपर्छ, नराम्रो चिजलाई विरोध गर्नुपर्छ । डा. केसीले गर्नुभाको कुराहरु पनि अहिले नेपाली जनताहरुको बिचमा एकदमै धेरै लोकप्रिय पनि हुनुभाको छ । केही केही कुराहरु उहाँले उठाउनुभाको ठीक पनि हुन् । अहिलेको प्रशंगमा अब न्यायापालिकाको पनि इज्यत नजाओस्, उहाँको पनि इज्यत नजाओस्। न्यायापालिकाले पनि आफ्नो इज्यत जाने किसिमका कामहरु गर्नु हुँदैन। र हामीले पनि न्यायापालिकाको इज्यत राख्नुपर्छ। त्योबीचमा एकले अर्कोलाई सम्मान गर्ने गरेर अगाडि बढ्यो भनेमात्र देशको इज्यत रहन्छ। अहिले न्यायापालिकाको पनि धज्जी उडीराको छ। सबै चिजमा निराशाजनक स्थितिमा न्यायापालिकाको पनि इज्यत भएन भने अब कसको इज्यत रहन्छ त ? न अदालतको इज्यत भने, न राजनीतिको इज्यत भयो । अदालतको हामीले इज्यत गरौं, अदालतले पनि अभियन्ताको इज्यत राख्नुपर्यो।

पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नु भएको छ ?

यसपालिको निर्वाचनमा जनताहरुले कांग्रेसले पनि कांग्रेसलाईमात्र भोट हालेनन् । अब कम्युनिष्टले पनि कम्युनिष्टलाईमात्र भोट हालेनन् । कसलाई भोट हाले भने स्थीर सरकार बन्छ। अस्थिरतामा हामी धेरै वर्ष बाँचि सक्यौं। अब स्थीरता ल्याउनको लागि पार्टीलाई भोट हाले। किनकी समानुपातिकमा कांग्रेसको भोट आको छ। प्रत्यक्षमा वाम गठबन्धनको आएको छ। भनेपछि दुवैले एक अर्कोलाई भोट हालेछन् । वाम एकता भनेर नै उनीहरुलाई प्रत्यक्ष भोट हालेका रैछन्, अब वामएकता भएन भने सरकार बनाउन बहुमत पुगेन भने जनता निराश हुन्छन् । पार्टीहरुले गरेको प्रतिवद्धता सरकार गठनदेखी सरकार चलाउने समेत गरेर देखाउनुपर्छ । जनतालाई यस्तो अवस्थामा निराश बनाउन हुँदैन।

प्रकाशित: २७ पुस २०७४ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App