coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अंग्रेजी माध्यम र खाजाले विद्यार्थी बढे

 पर्वत -कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको सार्वजनिक माविमा २०६१ देखि ०७२- ७३ को शैक्षिक सत्रसम्म विद्यार्थी संख्या ३ गुणा घट्यो ।

२०६१- ६२ मा ५०० को हाराहारीमा रहेका विद्यार्थी वर्षेनी घट्ने क्रम नरोकिँदा ०७३ सम्म आइपुग्दा १४४ मा  गयाे । ०५३ मा माविको स्थायी अनुमति पाए पनि विद्यार्थी संख्याकै कारण मर्ज हुने स्थितिसम्म आएपछि शिक्षक र अभिभावक चिन्तित हुन थाले । विद्यालयलाई विद्यार्थी संख्या बढाउन शिक्षा कार्यालयले चुनौती नै दियो । त्यसका लागि १ वर्षको समय थियो ।

शिक्षक र अभिभावकले जुक्ति निकाले । विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने । आगामी सत्रदेखि प्रावि तहमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने । विद्यालयसँग आर्थिक स्रोत नभएपछि ०७३ को तिहारमा गाउँभरि भैलो खेलेर साढे रु चार लाख जुट्यो । त्यही रकमबाट प्राथमिक तहका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउन थालियो । तर, अंग्रेजी माध्यमको शिक्षा सोही सत्रमा सम्भव भएन ।

मंसिरदेखि शुरु भएको खाजा कार्यक्रमले वैशाखसम्म विद्यालय समयमा कक्षा छाड्ने विद्यार्थी संख्या शून्यमा पुगेकाे थियो । शिक्षकले अठोट गरेको अंग्रेजी माध्यम वैशाखमा शुरु भयो । त्यतिले मात्रै पुगेन ।

शिक्षक–अभिभावकको बैठकले केही बाध्यकारी नियम पनि बनायो । व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकका छोराछोरी अनिवार्य सोही विद्यालयमै पढाउनुपर्ने, शिक्षकले तोकिएको पोशाक लगाउनैपर्ने, शिक्षक डायरी, निरन्तर मूल्यांकन लगायत ९ बुँदाको नियम बनायो ।

सबै बुँदा अक्षरशः पालना पनि गरे । “बोर्डिङ टपेकी छोरी केशव सरले यहीँ ल्याए ”, व्यवस्थापन समितिका अध्यक्ष सरोज वैरागीले भने, “त्यो कुरा सबैका लागि प्रेरणा बन्यो ।” व्यवस्थापन समिति र शिक्षकले एक महिना भर्ना कार्यक्रम सञ्चालन गरे । त्यस अवसरमा ७२ नयाँ विद्यार्थी आए । तीमध्ये ४४ निजी स्कुलबाट आएका थिए ।

आफ्नै प्रयासले बढेको विद्यार्थी संख्या देखेर अहिले शिक्षक–अभिभावक दंग छन् । “इच्छाशक्ति र लगनशीलता भए सफल हुन कठिन रहेनछ”, विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले भने, “यो एक वर्षमा अभिभावकको साथ र हाम्रो लगनशीलताले खुशी भएका छौँ ।”

विद्यालयले थालेको खाजा कार्यक्रमले प्राथमिक तहका विद्यार्थी नियमित मात्रै नभई शैक्षिक मूल्यांकनमा पनि राम्रो नतिजा आएको शिक्षक बताउँछन् । त्यो सँगै नयाँ भर्नाको चाप पनि बढेको छ । अघिल्लो वर्ष १४४ भर्ना भएकामध्ये मुस्किलले १०० को हाराहारीमा आउने विद्यार्थी संख्या अहिले १७६ पुगेको छ ।

अंग्रेजी माध्यममा स्तरोन्नति गरेपछि विद्यालयले निजी विद्यालयसरह बालकक्षाका अलावा केजी कक्षा पनि सञ्चालन गरेको छ । प्राथमिक तहमै अघिल्लो वर्षको भन्दा ३३ प्रतिशत विद्यार्थी बढेका छन् । “अघिल्लो वर्ष प्राविमा ५० मात्रै भर्ना भएका थिए”, शिक्षक केशव तिवारीले भने, “अहिले नियमित आउने ६७ पुगे ।” दिवा खाजाका कारण उपल्लोभन्दा तल्लो कक्षाका विद्यार्थीको नियमितता बढिरहेको उनले बताए।

चालु शैक्षिक सत्रको हालसम्मको उपलब्धि अन्य निजी विद्यालयसँगको प्रतिस्पर्धीको हाराहारी पुग्न लागेको वार्षिकोत्सवमा शिक्षकले समीक्षा गरे । चालु सत्रदेखि विद्यालयमा विद्युतीय हाजिरी, शिक्षकको दैनिक डायरी, दैनिक विद्यार्थी मूल्यांकन अनिवार्य गरिएको छ । कमजोर देखिएको गणित विषयलाई प्राथमिकतामा राखेर अतिरिक्त कक्षा पनि चलाइएको छ ।

कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले शैक्षिक व्यवस्थापनको जिम्मा नगरपालिकामै आएकाले आवश्यक सहयोग गर्न तयार रहेको बताए । रासस
 

प्रकाशित: २७ पुस २०७४ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App