८ वैशाख २०८१ शनिबार
समाज

फेरि दुई नक्कली डाक्टर पक्राउ

काठमाडौं— प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न थप दुई जनालाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली चिकित्सकविरुद्ध सञ्चालन गरेको अप्रेसन क्वाकअन्तर्गत उनीहरू ललितपुर र काठमाडौंबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा लगनखेलस्थित मिडाट अस्पतालमा कार्यरत फर्जाना सविहा र महाराजगन्जस्थित शिवपुरी डेन्टल क्लिनिकमा कार्यरत किशोर गुरुङ छन् ।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार दुवैले चिकित्सा विज्ञान अध्ययनका लागि भारतीय बोर्डको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । सबिहाले एमबिबिएस र गुरुङले बिडिएस अध्ययन गरेका हुन् । नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएका दुवै जना त्यसैका आधारमा अस्पतालमा कार्यरत थिए ।

धरौटीमा छुटेर सेवामा
काउन्सिलले कारबाही अघि नबढाउँदा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पक्राउ परी धरौटीमा छुटेका चिकित्सकहरू फेरि सेवामा फर्किएका छन् । असारमा देशभरबाट पक्राउ परेका ३६ चिकित्सकमध्ये अधिकांश अदालतले मागेको धरौटी बुझाएर छुटेका छन् । ब्युरोले ती सबैविरुद्ध ठगी मुद्दा दायर गरेको ब्यहोरा र नक्कली शैक्षिक प्रमाणपत्रसहित काउन्सिललाई पत्र लेखे पनि कुनै कारबाही अघि बढेको छैन ।

काउन्सिल अध्यक्ष धर्मकान्त बाँस्कोटाले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकका सम्बन्धमा आफूले बोल्न नमिल्ने बताए । उनले यसबारे काउन्सिलका रजिस्ट्रारसँग बुझ्नुुपर्ने भन्दै पन्छिए । ‘अहिले काउन्सिलमा प्रवक्ता छैन, एक जना रजिस्ट्रार हुनुहुन्छ, उहाँलाई सोध्नुस्,’ बाँस्कोटाले सोमबार नागरिकसँग टेलिफोनमा भने ।

पक्राउ परेका ३६ चिकित्सकमध्ये अधिकांश विशेषज्ञ र सरकारी तथा निजी अस्पतालमा लामो समयदेखि कार्यरत थिए । बुद्धिमान श्रेष्ठ, अरुणकुमार गुप्ता, गजानन्दप्रसाद भण्डारी, सन्तोषकुमार झा, सञ्जय गुप्ता, मोहम्मद रुहुल्लाह, लिली राजवंशी र वोदित आचार्य नाम चलेका चिकित्सक हुन्।
 

प्रकाशित: २६ श्रावण २०७३ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App