८ वैशाख २०८१ शनिबार
विचार

चेतना भया

‘निया निसाप बिगान्र्या भन्या घुस दिन्या र घुस खान्या हुन् यी दुईको त धन जीव (राष्ट्रिय) गरिलिया पनि पाप छैन. यी राष्ट्रका सतुर हुन्’ भन्ने राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको दिव्योपदेशको सान्दर्भिकता आज पनि उत्तिकै छ । पछिल्ला वर्षहरूमा राज्यका सबैजसो निकाय भ्रष्टाचारको दलदलमा फसेको देखिएको छ । एकातिर मुलुकको साधनस्रोतको दुरुपयोग भएको छ भने अर्कोतिर सीमित व्यक्तिले पदको आडमा भ्रष्टाचारलाई बढावा दिइरहेका छन् ।

नेता, कर्मचारीतन्त्र र ठेकेदारको त्रिपक्षीय अपवित्र गठबन्धनले मुलुकको साधनस्रोतमाथि धावा बोलिरहेको छ । यसैका कारण आज सडक धुलाम्य छन् । राजधानी काठमाडौंमात्र होइन, प्रत्येक ठूला सहर मानवस्वास्थ्यका लागि दूषित भएका छन् । साधनस्रोतलाई सकेसम्म आफ्नो किसिमले दुरुपयोग गर्नुलाई सबैले बहादुरीको विषय बनाएका छन् ।

राष्ट्रनिर्माताको २९६ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका दिनमा मुलुकको यस्तो अवस्थाका बारेमा चर्चा गर्नुपर्दा योजस्तो दुःखद विषय के हुन सक्ला ? नेपाल राज्य संसारमै पुरानोमध्येको एक हो । यसभन्दा धेरै पछि जन्मेका अरु मुलुक उन्नतिको शिखर चढिसक्दा पनि हामी भने पछौटे अवस्थामै रहनुपछाडि सीमित व्यक्तिका हातमा राज्यको स्रोत एकत्रित हुनु हो । हामीलाई सधैं कसै न कसैका कारणले मुलुकको विकास भएन भन्ने मिथ सिर्जना गरी अलमल्याउने गरिएको थियो । तर, २०६२÷०६३ पछि यो मुलुकमा कुनै एकदलीय शासन पनि छैन । कुनै एक परिवारको पनि शासन छैन । लोकतान्त्रिक शासन व्यवस्था सुरु भएपछि मुलुकमा गतिलो गरी शासन सञ्चालन होला भन्ने आशैआशमा मुलुकवासी तड्पिरहेका छन् ।

अझ लोकतान्त्रिक शासन व्यवस्था सुरु भएपछि नेपाल राष्ट्रको इतिहास मेटाउने खेलसमेत भएका छन् । नयाँ नेपाल बनाउन ‘क्रमभंग’ गर्ने नाममा पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको सूचीबाट हटाउने निर्णय नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उनका गृहमन्त्री कृष्णप्रसाद सिटौलाको समयमा भयो । त्यति मात्र होइन, देशैभरि पृथ्वीका सालिक तोडफोड गर्ने काम भयो । शाहवंशको विरोध गर्ने नाममा पृथ्वीको इतिहासै समाप्त गर्ने काम हुनुहुँदैनथ्यो । तर, पछिल्ला वर्षहरूमा जनआन्दोलनलगत्तैको गल्ती सच्याउने दिशातिर सबैको ध्यान जान थाल्यो ।

अन्ततः यसपटक प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिएपछि कांग्रेसकै सरकारले यसअघि गरेको गल्ती सच्याउने कामसमेत भएको छ । क्रमभंग गर्ने नाममा इतिहास समाप्त गर्दा पृथ्वीको मात्र होइन, यहाँका परम्परा, संस्कृति र धरोहरलाई समेत धराशयी बनाउन खोजिएको थियो । त्यतिमात्र होइन, यो मुलुकको इतिहासलाई तोडमोड गराउन सकियो भने देशीविदेशीका निहित उद्देश्य पनि पूरा हुने थिए ।

पृथ्वीले उतिबेलै सचेत गराएका थिए, ‘साहु महाजन (विदेशी) लाई गौरापर्साभन्दा माथि आउन नदिनू तिनी आए देशलाई कंगाल गन्र्या छन् ।’ वास्तवमा उनीप्रतिको आक्रोश पनि यिनै कारणले हो । उनले मुलुकलाई जोगाउन त्यो बेला अख्तियार गरेका नीतिकै कारण कालान्तरमा उनको इतिहास मेटाउन खोजिएको हो । त्यस्तै उनले यो मुलुकलाई ‘दुई ढुंगाबीचको तरुल’ भनेर कूटनीतिक दृष्टिले पनि यसको निरन्तरताका निम्ति कामलाग्दो सूत्र मुलुकलाई दिएका हुन् ।

आज मुलुकमा जातजाति, भाषाभाषीका अधिकारका विषय उठेका छन् । ‘नेपाल भन्या सबै जातजातिको साझा फूलबारी रहेछ, सबैलाई चेतना भया’ भन्ने अभिव्यक्ति दिने व्यक्तिलाई कसरी एकात्मक सोच भएको व्यक्ति भनी आलोचना गर्न सकिन्छ ! संसारभर बलपूर्वक राज्यविस्तार भइरहेका बेला पृथ्वीले सानो गोर्खा राज्यबाट आई नेपाल सर गरे पनि यसको नाम फेर्नुपर्ने आवश्यकता महसुस गरेनन् । बरु यही आएर यहाँका धर्म, संस्कृति, संस्कार र परम्परालाई धान्दै अघि बढे । त्यति मात्र होइन, ‘सबैलाई आफ्नाआफ्ना कुलधर्म थामी खानू’ भन्दै उदारताको परिचय दिए । न उनले कुनै एक धर्मको वकालत गरेका छन् न कुनै एक जातिको । उनले त्यतिबेलै राज्य सञ्चालनबारे स्पष्ट निर्देश गरेका भए पनि पछिल्ला शासकहरूले कहिल्यै त्यसलाई ध्यान दिएनन् ।

राज्यको काम बिगार्ने, तोकिएको काम राम्ररी पूरा गर्न नसक्ने, भ्रष्टाचार र कमिसनमा तल्लीन हुने व्यक्तिहरूमाथि निर्मम कारबाही गर्दै अघि बढ्ने हो भने पृथ्वीनारायणले उति बेला दिएको दिव्योपदेशको सार्थकता साबित हुनेछ । एउटा दह्रिलो र न्यायपूर्ण मुलुक निर्माणका निम्ति आजको नेतृत्वले ध्यान दिएन भने यो मौका पनि गुम्नेछ ।

त्यति मात्र होइन, राज्य सञ्चालनमा रहनेहरूको भ्रष्टाचारले यो मुलुक सधैं आक्रान्त छ । २००७ सालपछिको आधुनिक नेपालमा प्रत्येक एक दशकमा नयाँ परिवर्तन भएका छन् । नयाँ परिवर्तनसँगै शासनमा नयाँनयाँ अनुहार पनि आएका छन् । तर, अनुहार जति नयाँ आए पनि भ्रष्ट व्यवहारले उही पुराना दिनको झल्झली सम्झना गराउने गरेको छ । झन् अहिले त ‘काँक्रालाई थाङ्ग्रो दियो थाङ्ग्रै धनी’ भनेजस्तो स्थिति छ । सबैजस्तो संवैधानिक अंगमा बेथिति देखिएको छ । प्रायः सबै ठाउँमा राजनीतिक दल प्रेरित व्यक्तिहरूको नियुक्ति भएको छ । तिनले आफूलाई नियुक्ति गरेको भ्रष्टाचारकै निम्ति हो भन्नेजस्तो भान दिइरहेका छन् । र, यो भ्रष्टाचारमा देशभित्र आएर सञ्चालित भएका अन्तर्राष्ट्रिय संस्था (आइएनजिओ) को समेत त्यही अवस्था छ । नेपाल राष्ट्र र राष्ट्रवासीका नाममा आएको खर्चको तुलनामा उपलब्धि शून्य छ । आइएनजिओले एक वर्षमै यो मुलुकमा डेढ खर्ब रुपैयाँ खर्च गर्छन् तर त्यसको उपलब्धि भने देख्न मुस्किल छ ।

यो विषम परिस्थितिबाट मुलुकले कहिले छुटकारा पाउने हो ? राज्यको काम बिगार्ने, तोकिएको काम राम्ररी पूरा गर्न नसक्ने, भ्रष्टाचार र कमिसनमा तल्लीन हुने व्यक्तिहरूमाथि निर्मम कारबाही गर्दै अघि बढ्ने हो भने पृथ्वीनारायणले उति बेला दिएको दिव्योपदेशको सार्थकता साबित हुनेछ । एउटा दह्रिलो र न्यायपूर्ण मुलुक निर्माणका निम्ति आजको नेतृत्वले ध्यान दिएन भने यो मौका पनि गुम्नेछ । सबैलाई चेतना भया ।

 

प्रकाशित: २७ पुस २०७४ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App