८ वैशाख २०८१ शनिबार
समाज

संस्कृतमा विदेशी आकर्षण

काठमाडौं- नेपालमा संस्कृत विषयको पठनपाठन उपेक्षित भइरहेको समयमा विदेशीले भने यहाँ संस्कृत माध्यममा पठनपाठन हुने विभिन्न विषयको पाठ्यक्रम उत्कृष्ट भएको बताएका छन् । उनीहरुको संस्कृत अध्ययनको पहिलो रोजाइ नेपाल बन्न थालेको छ ।
४० वर्षीया कोरियाली नागरिक पाक मिस प्रदर्शनीमार्गस्थित बाल्मीकि संस्कृत विद्यापीठमा बौद्ध दर्शन विषय लिई आचार्य दोस्रो वर्षमा अध्ययनरत छिन् । उनले बुद्धको देशमात्र नभई हिन्दु बाहुल्य देश भएका कारण संस्कृत विषय अध्ययन गर्न नेपाललाई रोजेको बताइन् । उनले आफू कोरियाको विश्वविद्यालयमा शिक्षक रहेको र नेपालबाट संस्कृतको आचार्य तह पूरा गरी फर्केर फेरि अध्यापनलाई निरन्तरता दिने सुनाइन् । उनले नेपाली र संस्कृतको लिपि एउटै भएकाले पनि बुझ्न र अध्ययन गर्न सहज भएको अनुभव सुनाइन् । उनी नेपाली भाषा राम्रोसँग बुझ्न र बोल्न सक्छिन् ।

बाल्मीकि संस्कृत विद्यापीठमा हाल विभिन्न १५ देशबाट आएका २२ विद्यार्थी अध्ययनरत छन् ।  उनीहरुमध्ये तीनजना आचार्य तह र अरु संस्कृत भाषा प्रशिक्षण कक्षामा पढ्दैछन् ।

‘म नेपालमा संस्कृत विषयमा आचार्य गर्न आएकी हुँ,’ उनले नागरिकसँग भनिन्, ‘म कोरियाको विश्वविद्यालयमा बौद्ध दर्शन पढाउँछु । कोरियामा  संस्कृत विषयको निकै माग छ ।’ उनले थपिन्, ‘मैले भारतको संस्कृत विश्वविद्यालयको पाठ्यक्रम पनि हेरें तर नेपालकै स्तरीय लागेर यहाँ आएकी हुँ ।’
यस्तै बेलायती नागरिक स्इयान सेफर्ड गिलरोएले नेपाल शान्ति र बुद्धको देश  भएकाले आफू यहाँ संस्कृत पढ्न आएको बताए । बेलायती विश्वविद्यालयका अवकाशप्राप्त अंग्रेजीका यी प्राध्यापकले जीवनको वास्तविकताको अध्ययन गर्न नेपाल आएको सुनाए । ‘नेपालमा पठनपाठन गराइने संस्कृतमा धेरै नै ज्ञानका कुरा छन् । यो जीवनदेखि अर्को जीवनको बाटो देखाउने ज्ञान पनि संस्कृतमै छ,’ उनले भने, ‘कसरी अर्को जीवन सफल बनाउने भनेर बुझ्न पनि संस्कृतको ज्ञान आवश्यक छ ।’ उनले जीवन रहेसम्म पढ्नैपर्ने बताए । संस्कृतमा आचार्य सकेर पिएचडीसमेत गर्ने उनको योजना छ ।
पाक र गिलरोएमात्र होइन, बाल्मीकि विद्यापीठमा भर्ना भएर संस्कत अध्ययन गर्नेमा जर्मनी, अमेरिका, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, फ्रान्स, क्यानाडा, चीन, स्विडेन, मलेसिया, अस्ट्रेलियालगायतका मुलुकका विद्यार्थी पनि छन् ।
जर्मनीका माइकल स्चुज आचार्य प्रथम वर्षमा अध्ययनरत छन् । उनले संस्कृत अध्ययन गर्न नेपाल आउनुअघि भारतको विश्वविद्यालयको पनि अध्ययन गरे । तर आफूलाई नेपालकै संस्कृत विषयले आकर्षित गरेको उनले बताए । ऋषिमुनिको देश नेपालको रमणीय वातावरणले आफूलाई लोभ्याएको उनले सुनाए ।
जर्मनीका समाजसेवी तथा अनुसन्धानकर्ता माइकलले नेपालको संस्कृत पाठ्यक्रम आध्यात्मिक ज्ञानमा आधारित भएकाले आफूलाई आकर्षित गरेको बताए । ‘यहाँको पाठ्यक्रममा मुक्तिको बाटो पत्ता लगाउन सक्ने क्षमता भएको, ध्यान र योग आदिको भण्डार भएको मैले पाएको छु,’ उनले नागरिकसँग भने, ‘वेदान्त र बौद्ध दर्शनजस्ता विषय अध्ययन गर्न पनि संस्कृत पढ्दैछु ।’ पढाइ सकेर संस्कृतको प्रचार गर्ने तथा अझ बढी अनुसन्धानमा लाग्ने उनका लक्ष्य छ । पूर्वको दृष्टिले पश्चिमेली ज्ञानको मूल्यांकन गर्ने उनको योजना छ ।
बाल्मीकिमा हाल विभिन्न १५ देशबाट आएका २२ विद्यार्थी अध्ययनरत छन् ।  उनीहरुमध्ये तीनजना आचार्य तह र अरु संस्कृत भाषा प्रशिक्षण कक्षामा अध्ययनरत छन् ।
विद्यापीठका प्राचार्य गणेश घिमिरेका अनुसार विदेशी विद्यार्थीसँग अमेरिकी डलरमा शुल्क लिने गरिएको छ । विदेशी विद्यार्थीले संस्कृत भाषामा प्रति सेमेस्टर ४ सय ७० डलर शुल्क र परीक्षाको ३० डलर शुल्क तिर्छन् । आचार्य अध्ययन गर्नेले वार्षिक १४ सय डलर तिर्नुपर्छ ।
हाल विद्यापीठमा कुल विद्यार्थी संख्या ९ सय ३७ छ । विद्यापीठलाई विश्वकै उत्कृष्ट संस्कृतको अध्ययन थलो बनाउने योजना रहेको घिमिरेले बताए । ‘विदेशीको आकर्षणमा नेपालको संस्कृत विषय पर्दा पनि राज्यले र नेपालीले नै हेर्ने दृष्टिकोण सकारात्मक छैन’, उनले भने, ‘विद्यार्थीले तत्काल प्रतिफल खोज्छन् तर संस्कृत विषयमा प्रतिफल अलि ढिला आउँछ ।’
पछिल्लो समय संस्कृत अध्ययनमा देशभित्रै भने आकर्षण घटेको उनले बताए । सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीले संस्कृत विद्यालय बन्द गराइदिएपछि विद्यार्थी संख्या कम भएको उनले जानकारी दिए । नेपालमा ईसाई धर्मको हस्तक्षेपका कारण पनि संस्कृत शिक्षाप्रति आकर्षण घटेको उनी बताउँछन् । साधारण विद्यालयबाट एसएलसी पास विद्यार्थीले पाँच महिने संस्कृत भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि उत्तरमध्यमा तह (आइएसरह) मा भर्ना हुन पाउँछन् ।                             
‘विद्यापीठमा प्राचीन १७ विषय र आधुनिक ६ विषयको पठनपाठन हुन्छ,’ घिमिरेले भने, ‘सरकारले संस्कृत शिक्षामा लगानी बढाएर समयअनुसार पाठ्यक्रम परिमार्जन गर्दै जाने हो भने नेपाल संस्कृत शिक्षाको विश्वस्तरीय गन्तव्य बन्न सक्छ ।’

प्रकाशित: २७ पुस २०७४ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App