coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘हेलो सरकार ! गोविन्द केसीसँग हामी छौं’

काठमाडौं – ‘भ्रष्ट न्यायाधीश’ को विरोध गर्दै अनशन थालेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतको आदेशमा प्रहरी लगाएर गिरफ्तार गरिएपछि यो कार्यको देशव्यापी रुपमा विरोध भयो । सडक र सामाजिक सञ्जालमा विरोधका आवाज छ्याप्छ्याप्ती भए । विरोधको आवाज सरकारसम्म पु¥याउन सर्वसाधारणले ‘हेलो सरकार !’ को घन्टी पनि बाक्लै बजाए ।
सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ कार्यक्रममा डा. केसी पक्राउको विरोधमा उल्लेख्य सर्वसाधारण असन्तुष्टि व्यक्त गरे  । प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार कार्यक्रममा फेसबुक र ट्विटरमार्फत पनि थुप्रैले आक्रोश व्यक्त गरे । उनीहरुले बेथिति अन्त्य गर्न गरिएको आन्दोलनमा लागेकालाई किन पक्राउ गरिएको भन्ने प्रश्न गर्दै केसीलाई तुरुन्त रिहा गर्न माग गरेका थिए ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशनमा बसेपछि डा. केसी सोमबार राति पक्राउ परेका थिए । पक्राउ परेलगत्तै मंगलबार र बुधबार हेलो सरकार कार्यक्रममा थुप्रै गुनासा आए ।
हेलो सरकार कार्यक्रममा ट्विटरबाट राखिएको एउटा जिज्ञासा थियो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध अधिवक्ता हरिप्रसाद मैनालीले एक वर्षअगाडि दर्ता गरेको अदालतको अवहेलनासम्बन्धी रिटको अवस्था के छ हजुर ?’ त्यसैगरी फेसबुकमार्फत पठाइएको अर्को जिज्ञासा  थियो, ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाएर अदालतको मानहानि गर्ने नेतृत्वलाई कसले कारबाही गर्ने हजुर ?’

फेसबुकमा राखिएको अर्को जिज्ञासामा ‘गोविन्द केसीलाई मानहानिको मुद्दामा पक्राउ गर्नेले हत्याको मुद्दा लागेकालाई चुनावमा टिकट किन दियो र अहिले पक्राउ गर्न किन सकेन’ भन्ने उल्लेख छ । फेसबुकमार्फत न्यायाधीश पनि भ्रष्टाचारी छन्, तिनलाई भ्रष्टाचारको मुद्दा किन लगाइँदैन भन्ने गुनासो आएको छ । त्यस्तै ‘भ्रष्टाचारको विरोध गरेका डा. गोविन्द केसीलाई पक्राउ गरेर सरकारले लाचारी देखाएको छ’, ‘आइ एम विथ डा. केसी’ जस्ता भनाइ पनि सामाजिक सञ्जालमार्फत हेलो सरकारसम्म पुगेका छन् ।

सरकारी निकाय र पदाधिकारीसँगका असन्तुष्टिबारे, आपत्विपत् परेमा, घरेलु हिंसा भएमा उजुरी गर्न र सार्वजनिक सेवा प्रभावकारी बनाउन सरकारले हेलो सरकार कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रधानमन्त्रीलाई नै लक्षित गरी आएका यस्ता गुनासा सुनुवाइ भने नभएको  स्रोतले बताएको छ ।   

२०६८ कात्तिक १८ मा तत्कालीन एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले हेलो सरकार कार्यक्रम सुरु गरेको थियो । अहिले हेलो सरकारमा आउने गुनासा टेलिफोनबाट मात्र नभई फेसबुक, ट्विइटर र इमेलबाट पनि आउने व्यवस्था गरिएको छ । हेलो सरकारमा मंगलबारसम्म ६८ हजार ९ सय १५ गुनासा आएका छन् ।
पछिल्लो समयमा धुवाँधुलोसँग सम्बन्धित गुनासो बढी आउने गरेको छ  । यसैगरी लेनभन्दा बाहिर सवारीसाधन पार्किङ गर्नेगरेको गुनासो पनि आउने गरेको छ । काठमाडौंमा खानेपानी नियमित नआएको गुनासो पनि आउने गरेको छ ।
 

प्रकाशित: २७ पुस २०७४ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App