८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक छिट्टै

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी पुनर्निर्माणका लागि छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन् । मंगलबार मात्र पार्टी प्रवक्तामा नियुक्त भएका शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बैठकको मिति छिट्टै टुंगो लाग्ने बताएका हुन् ।
केन्द्रीय समितिको बैठकले नै महासमिति बैठकको मिति तय गर्ने जनाउँदै शर्माले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा राष्ट्रियसभा निर्वाचन, प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि दलीय सम्वादमा जुट्नु परेकाले समीक्षा बैठक बस्न ढिलाइ भएको दाबी गरे । ‘सरकारको नेतृत्व हस्तान्तरणका लागि संवैधानिक होइन केही व्यवहारिक जटिलता छन्,’ शर्माले भने, ‘त्यसले गर्दा बैठकको मितिको टुंगो लाग्न नसकेको हो ।’
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयलाई भूकम्पसँग तुलना गर्दै शर्माले भने, ‘कांग्रेस भूकम्पपछिको नेपाल जस्तै बनेको छ । पुनर्निर्माणको तयारी भइरहेको छ, केही समय लागेको मात्र हो ।’
निर्वाचनमा पराजयको जिम्मेवारी लिँदै सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाइरहेका बेला प्रवक्ता शर्माले एकले अर्कालाई औंल्याउनेभन्दा सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बोध गर्नुपर्ने तर्क गरे । ‘आवेग होइन, विवेकले निर्णय लिनुपर्छ,’ शर्माले भने, ‘एकले अर्कालाई औंल्याएर होइन सबैले जिम्मेवारी बोध गर्नुपर्छ । आआफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्छ ।’
सभापति देउवा, नेता रामचन्द्र पौडेल ७० वर्षभन्दामाथि भएको भन्दै नेतृत्व अब युवापुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवाज उनकै समकक्षीले उठाइरहेका बेला शर्मा भने त्यसको विपक्षमा उभिएका छन् । ‘उमेर भएकाले होइन अजेण्डा भएकाले नेतृत्व गर्नुपर्छ,’ उनले भने, ‘जो बदलिन्छ उसले नेतृत्व गर्छ ।’  
निर्वाचन पराजयको समीक्षाका लागि केन्द्रीय समिति बैठक आवश्यक रहेको दोहो¥याउँदै उनले भने, ‘विशेष महाधिवेशन होइन केन्द्रीय समिति र त्यसमार्फत महासमिति बैठकसम्म जानुपर्छ भन्ने हो ।’

 

प्रकाशित: २७ पुस २०७४ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App