coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एक वर्षभित्रमा इटहरीमा चौविसै घण्टा खानेपानी

पुर्नसवलीकरण आयोजना अन्तर्गत थप वोरिङ् गरेर पानी निकालिँदै

इटहरी–इटहरीमा खानेपानीको संकट गहिरिँदै गएकोमा थप योजनाको काम पूरा गरी एक वर्षभित्रमा चौबिसै घण्टा वितरण गरिने भएको छ। १२ करोडभन्दा बढीको लागतमा थप योजनाको काम युद्धस्तरमा भइरहेकाले वर्षभित्रमा एक करोड ६० लाख लिटर दैनिक पानी वितरण गरेर २४ सै  घण्टा वितरण गर्न लागिएको हो।
इटहरी उपमहानगरपालिका क्षेत्रका २६ वटा वडामध्ये अहिले १३ वडामा मात्र खानेपानी संस्थाले १२ घण्टा पानी वितरण गर्दै आएको छ। यहाँ वर्षेनी एक हजार भन्दा बढीको हाराहारीमा घर थपिने गरेका छन्, जसले गर्दा खानेपनीको संकट छ।
 इटहरी खानेपानी आयोजनाले अहिले १२ हजार धारा जडान गरी ८० हजारभन्दा बढीलाई खानेपानीको सेवा विस्तार गरेको छ। अब एक वर्षभित्रमा भने २२ हजार धारा जडान गरेर अहिलेको दोब्बर एक लाख ६० हजार हाराहारीलाई पानी पुर्याउने लक्ष्य राखिएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले बताए ।
उनका अनुसार अहिले इटहरी वडा नं. २, ४ र ५ मा तीनवटा ट्यांकी मार्फत पानी वितरण गरिदैं आएको  छ। अब भने पुर्नसवलीकरण आयोजना अन्तर्गत चारवटा वोरिंग, तीनवटा पानी प्रशोधन गर्ने प्रशोधन यन्त्र, दुईवटा जेनेटर र २६.४ किलोमिटर पाइप थप गरिने भएको छ। खानेपानी संस्थाले अहिले दैनिक १२ घण्टामात्र पानी वितरण गर्ने गरेकोमा भदौदेखि १८ घण्टा र वर्षदिन भित्रमा २४ औं घण्टा वितरण गर्ने लक्ष्य राखेको जानकारी दिइयो ।
पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ्, तेह्रथुम, धनकुटा लगायतका स्थानबाट बसाई सर्नेले गर्दा इटहरी क्षेत्रमा जनसंख्या बढ्दो  छ। राजमार्गमा अवस्थित इटहरी बसाइँ सर्नेको मुख्य गन्तब्य बन्दै आएको छ। वस्ती बढेसँगै पानीको बढ्दो आपूर्ति पूरा गर्न खानेपानी आयोजनाले इटहरी नगरपालिका छँदाका नौवटा वडा र अहिले उपमहानगरपालिकामा गाभिएका चारवटा वडाका वासीन्दाले मात्र खानेपानीको सेवा पाएका थिए। अब भने पाँचवटा वडामा खानेपानीको धारा जडान गरी सेवा दिइनेछ। अध्यक्ष चौलागाईंले अनुसार उपमहानगरपालिका भएसँगै वडा नं. १०, २४ र २२ मा पूर्ण समस्या टार्नेछ । वडा नं. २० र १७ मा भने आशिंक समस्या टर्नेछ ।
इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका सवै वडामा दीर्घकालीन रुपमा खानेपानीको समस्या टार्न भने खनार, तरहरा र पकलीमा निर्माणधीन खानेपानी आयोजना पूरा भएपछि मात्र हुनेछ ।  इटहरी उपमहानगरपालिकाकै वडा नं. १२ मा पाँच करोड एक लाख रुपैयाँमा खानेपानी योजना निर्माणधीन छ । तर, कहिलेसम्म निर्माण पूरा हुने टुंगो छैन् ।
इटहरी उपमहानगरपालिका क्षेत्रभित्र तरहरा र पकली खानेपानी योजना पनि निर्माणधीन अवस्थामा छन् । तरहरामा दस करोड ९० लाख र पकलीमा चार करोड तीन लाखरुपैयाँको लागतमा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका अनुसार, इटहरी क्षेत्रका तीनवटै ठूला योजनाको काम सुस्त गतिमा हुँदै आएको  छ। इटहरी उपमहानगरपालिका क्षेत्रमा अहिले एक लाख ५० हजारभन्दा बढी जनसंख्या  छ ।

 

प्रकाशित: ६ असार २०७३ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App