coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आइओएम डिनमा फेरि चलखेल

काठमाडौं- सम्बन्धन र कलेजका सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्सा शिक्षा अध्यायन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिको चलखेल सुरु भएको छ ।
चार वर्षअघि बर्खास्तगीमा परेर चार दिन कार्यकाल बाँकी रहेका पूर्व डिन डा. शशी शर्माको पदावधिसमेत सकिन एक दिन बाँकी रहँदा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी फेरि आफूअनुकूलको डिन ल्याउने चलखेलमा देखिएका छन् । डा. शर्माको कार्यकालसमेत बिहीबार सकिँदैछ ।

अदालतले शर्माको पुनर्बहालीसँगै अर्का डिन डा. जगदीश अग्रवालको नियुक्तिसमेत कानुनसम्मत ठहर गरे पनि त्रिवि पदाधिकारीले ‘पुरानोको पुनर्बहालीसँगै अग्रवालको प्रतिस्थापन’ भएको अर्थ लगाएर आफूअनुकूल डिन बनाउन चलखेल थालेका छन् ।

यसबीचमा अदालतले शर्माको पुनर्बहालीसँगै अर्का डिन डा. जगदीश अग्रवालको नियुक्तिसमेत कानुनसम्मत ठहर गरे पनि त्रिवि पदाधिकारीले ‘पुरानोको पुनर्बहालीसँगै अग्रवालको प्रतिस्थापन’ भएको अर्थ लगाएका छन् । त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले एकैपटक दुई डिन हुननसक्ने भन्दै सार्वजनिक रुपमै डा. अग्रवालको ठाउँमा नयाँ डिन नियुक्ति गर्ने बताइसकेका छन् ।
खनियाँसहित त्रिविका तीन पदाधिकारी हाल उपत्यकाबाहिर छन् । ‘उहाँहरु आउँनासाथ सुरुमा कसैलाई निमित्त दिने र पछि सर्च कमिटी बनाएर नयाँ डिन ल्याउने तयारी छ,’ त्रिवि स्रोतले भन्यो । अदालतले चार दिनअघि शर्मालाई पुनर्बहाली गर्ने आदेश दिएकै दिन उनीसहित त्रिविका प्रमुख पदाधिकारी बसेर यो योजना बनाएका हुन् । सोही राति अबेरसम्म कार्यालय खोलेर उनलाई पदबहाली गराइएको थियो । अदालतको आदेशमा टेकेर फेरि शर्मालाई नै डिन नियुक्त गर्ने योजनामा त्रिवि पदाधिकारी छन् । शर्मालाई डिन बनाउन निजी मेडिकल कलेजले समेत लबिङ गरिरहेको स्रोतले बतायो ।
डा. गोविन्द केसीको अनशन दबाबपछि वरिष्ठताका आधारमा नियुक्ति पाएका डा. अग्रवाल कुनै दबाबमा नझुक्ने डिनको रुपमा चिनिन्छ । २०७३ कात्तिक १८ मा उनी डिन नियुक्त भएका थिए । सर्वोच्चको आदेशमै आफ्नो नियुक्तिलाई कानुनसम्मत भनेकाले आफू पनि डिन नै रहेको अग्रवालले बताए । ‘मेरो नियुक्ति कानुनसम्मत छ भन्नुको मतलब मेरो पनि नियुक्ति कायमै छ,’ उनले भने, ‘म काममै छु ।’
आइओएममा नयाँ डिन ल्याउन सुरु चलखेलमा प्रमुख तीनै दलनिकटका प्राध्यापकको साथ छ । ‘सधैंझैं आफूअनुकूलको डिन ल्याउन निजी कलेज सञ्चालक जति पनि खर्च गर्न तयार छन्,’ आइओएम स्रोतले भन्यो, ‘त्यसमा पनि उनीहरुको पहिलो रोजाइ डा. शर्मा नै हुन् ।’
डिनमा चलखेलकै लागि नियोजित रुपमा चार दिन बाँकी रहँदा शर्माको पुनर्बहाली भएको डा. केसीको आरोप छ । ‘३५ वटा पेसी सरिसकेको थियो, चार दिन बाँकी रहँदा मेडिकल माफियाकै इसारामा डिन नियुक्तिका लागि यी चलखेल भइरहेका छन्,’ डा.केसीले भने, ‘यो हुन दिइन्न ।’ मानहानि मुद्दामा अदालतबाट साधारण तारेखमा छुटेलगत्तै उनले त्रिवि शिक्षण अस्पताल पुगेर अनशनलाई निरन्तरता दिएका छन् ।
२०७० पुसमा शर्मालाई डिन बनाउँदा करोडौंको चलखेल भएको चर्चा चलेको थियो । उनले पदबहाली गरेसँगै नयाँ कलेजलाई सम्बन्धन दिने घोषणा गरेका थिए । उनलाई पुनः डिन बनाउँदा आफूहरुलाई समेत लाभ हुने अवस्था बनेकाले तीन दलको भागबन्डामा आएका पदाधिकारी यो विषयमा एकठाउँमा देखिएका छन् ।
अहिले नियुक्ति गरिहाल्ने र डा. केसीको अनशनको दबाबमा बीचमा हटाउनुपरे पनि फेरि अदालत गएर निरन्तरता दिने तयारी त्रिवि पदाधिकारीको छ । ‘नियुक्ति गरेपछि हटाउनै परे पनि अहिलेको नजिरबाटै पुनर्बहाली हुन्छ भन्ने आशा छ,’ स्रोतले भन्यो ।
डा. अग्रवाल हट्दा अधिकांश सहायक डिनले समेत राजीनामा दिने भएकाले दलीय भागबन्डामै पदपूर्ति गर्ने अवस्था आउँछ । त्यही लोभमा अधिकांश प्राध्यापकसमेत केसी र अग्रवालविरुद्ध छन् । महाराजगन्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीसमेत डा. अग्रवाललाई असहयोग गर्न पटकपटक तालाबन्दी गर्दै आएका छन् । केही महिनाअघि एक महिना लामो तालाबन्दी गरेको स्ववियुले पछिल्लोपटक समेत तीन साताअघि आइओएममा तालाबन्दी गरेको छ । तालाबन्दी जारी छ । उनीहरुले चार दिनका लागि डिन बनेका शर्मासँगको सहमति गरी बिहीबार ताल खोल्ने योजना बनाएका छन् । स्ववियु सभापति मिलन गैरेले डा. शर्मासँग सहमति भइसकेको र कार्यान्वयनमा जानासाथ ताला खोलिने बताए ।
पछिल्लोपटक चार दिनमै आफूले धेरै कुरा मिलाइसकेको छाप पार्न लागेका शर्मालाई तीनै प्रमुख दलनिकट प्राध्यापकले साथ दिएका छन् ।

प्रकाशित: २७ पुस २०७४ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App